कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मतीमा क्षयरोगीको संख्या बढ्दो

प्रताप विष्ट

हेटौंडा — घरमा रहेका तीनै जना औषधि सेवन गरिरहेका छन् । त्यो पनि भिन्न/भिन्न रोगको होइन एउटै रोगको । मकवानपुरका मनहरी गाउँपालिका–१ घैयाडाँडाका दलबहादुर चेपाङसहित तिनै जना क्षयरोगको औषधि सेवन गरिरहेका छन् ।

वाग्मतीमा क्षयरोगीको संख्या बढ्दो

विगत ३ महिनादेखि उनीहरूले क्षयरोगको औषधि सेवन गरिरहेको स्थानीय स्वयंसेविका सुनीता चेपाङले बताइन् । यो परिवार विगतमा काठमाडौंका विभिन्न भागमा ढुंगागिट्टी कुट्ने कार्य गर्दै आएका थिए ।

तीन महिनाअघि मात्र उनीहरू गाउँ फर्केका हुन् । खोकी लागेपछि खकार हेटौंडा अस्पतालको ल्याबमा खकार परीक्षण गरेपछि दलबहादुरको पत्नी र छोरीमा क्षयरोगको जीवाणु फेला परेको थियो । खकार परीक्षण गराउन पनि उनले गाउँकै स्वयंसेविका सुनीताले अस्पतालमा ल्याएकी थिइन् । दलबहादुरको १४ वर्षीया छोरी ५ कक्षामा पढ्छिन् । सधैं धूलोधूवाँमा काम गर्ने र चुरोट, सुर्तीसँगै मादक पदार्थ अत्यधिक मात्रामा सेवन गर्ने कारणले गर्दा उनीहरूमा क्षयरोग देखापरेको हुन सक्ने स्वास्थ्यकर्मीहरूको दाबी छ ।

घैयाडाँडामा मात्र होइन, मकवानपुरमा क्षयरोगीको संख्या बर्सेनि बढ्दो छ । धूलोधूवाँ, चुरोट, सुर्ती, मादक पदार्थ सेवन कारणले क्षयरोगीको संख्या बर्सेनि बढ्दै गइरहेको स्वास्थ्यकर्मीहरूको दाबी छ । क्षयरोगीहरूको संख्या जुन अनुपातमा वृद्धि भए पनि डट्स प्रोग्रामका कारणले क्षयरोगीहरूको मृत्यु हुन भने पाएको छैन । आव ०७६/०७७ मा मकवानपुरमा ४ सय ४५ जना क्षयरोगी फेला परेका थिए भने आव ०७७/७८ मा ५ सय ३० जना फेला परेका छन् ।

चालु आवको ६ महिनामा ३ सय १ जना क्षयरोगीहरूले विभिन्न स्वास्थ्य संस्थाहरूबाट औषधि सेवा गरिरहेको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भीमसागर गुरागाईंले बताए । चुरेक्षेत्रमा बस्ने अधिकांश बासिन्दा बालुवा चाल्ने र गिट्टी कुट्ने क्रममा उड्ने धूलोका कारण उनीहरूमा क्षयरोग देखापरेको हो । क्रसर उद्योगको धूलोको कारणले पनि उद्योगनजिक रहेका बस्तीका बासिन्दामा यो रोग बढ्दो छ ।

मकवानपुरको साविकको मनहरी, हाँडीखोला, बसामाडी, पदमपोखरी, चुरियामाई, हर्नामाडी, छतिवन, फापरबारी राईगाउँ गाविस र हेटौंडा उपमहानगरपालिकाको केही क्षेत्र क्षयरोगबाट प्रभावित क्षेत्र हुन् । ‘धूलो र धूवाँका कारण क्षयरोगीको संख्या बढ्ने गर्छ,’ स्वास्थ्य कार्यालयका प्रमुख गुरागाईंले भने, ‘मकवानपुरमा एक दर्जनभन्दा बढी बहुऔषधि प्रतिरोधी क्षयरोग (एमडीआर) का रोगी छन् । उनीहरूले स्वास्थ्य संस्थाबाट सेवा लिइरहेका छन् ।’

मकवानपुरका सबै स्वास्थ्य संस्थाबाट डट्स कार्यक्रम सञ्चालन भइरहेको छ । वाग्मती प्रदेशमा अघिल्लो आवमा ६ हजार १ सय २५ जना क्षयरोगीको संख्या थियो भने गत आवमा ६ हजार ६ सय ६३ जना क्षयरोगी फेला परेको वाग्मती प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाका क्षयकुष्ठ रोग प्रमुख जितेन्द्रकुमार कर्णले बताए । चालु आवको ६ महिना अर्थात् साउनदेखि पुससम्म ३ हजार ८ सय ५३ क्षयरोगी फेला परेका छन् । चालु आव २३ जना क्षयरोगीको मृत्यु भएको छ । वाग्मती प्रदेशको १३ जिल्लामध्ये सबैभन्दा धेरै गत आवमा काठमाडौंमा २ हजार ९ सय ८१ जना क्षयरोगी फेला परेका थिए ।

चालु आवको ६ महिनामा १ हजार ६ सय ३६ जना फेला परेको प्रमुख कर्णले बताए । वाग्मती प्रदेशको रसुवा जिल्लामा गत आवमा ३१ जना क्षयरोगी थिए भने चालु आवको ६ महिनामा १७ जना फेला परेका छन । यस प्रदेशको काठमाडौंपछि सबै धेरै क्षयरोगी भएको जिल्ला चितवन रहेको छ । चितवनमा गत आवमा ८ सय ८९ क्षयरोगी थिए भने चालु आवको ६ महिनामा ५ सय ३५ फेला परेका छन् ।

प्रकाशित : चैत्र १०, २०७८ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?