२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३४९

प्रदेशसभा अधिवेशन अन्त्य

मकवानपुर — वाग्मती प्रदेश सरकारले प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रुमख यादव शर्मासमक्ष सिफारिस गरेको थियो । शर्माले अधिवेशन अन्त्य भएको विषयमा प्रदेशसभालाई जानकारी गराइसकेका छन् ।

प्रदेशसभा अधिवेशन अन्त्य

मंगलबार बसेको प्रदेशसभा बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको थियो । बैठक स्थगित भएकै समयमा अधिवेशन अन्त्य गरिएको हो । ‘अधिवेशन अन्त्य भएको छ । सरकार अब छिट्टै बजेट अधिवेशन सञ्चालन गर्ने तयारीमा छ,’ कृषि तथा पशुपक्षी विकासमन्त्री वसुन्धरा हुमागाईंले भने ।

प्रमुख प्रतिक्षी नेकपा एमालेका कारण ८१ दिन अवरुद्ध प्रदेशसभा बैठक पुन: सञ्चालन भएपछि दुईवटा बैठक बसेर अधिवेशन अन्त्यको तयारीमा सरकार पुगेको थियो । अधिवेशनमा प्रतिपक्षी एमाले, विवेकशील साझा, राप्रपा र नेमकिपाले मोर्चाबन्दी गरेर सरकारविरुद्ध सदनमा प्रस्तुत भएका थिए । उनीहरुले विशेष गरी जम्बो मन्त्रिपरिषद् गठनको विषयलाई मूल मुद्दा बनाएर सरकारविरुद्ध मोर्चाबन्दी गरेका हुन् ।

चालु अधिवेशनले सदनबाट दुईवटा विधेयक पारित गरेको छ । तीनवटा नयाँ विधेयकहरू प्रदेशसभाको विभिन्न समितिमा दफाबार छलफलका लागि पठाइएको छ । फागुन २९ गते बसेको बैठकले २ वटा विधेयक पारित गरेको हो । प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पर्यटनसम्बन्धी विधेयक यो अधिवेशनबाट पारित भएको छ । यी दुबै विधेयक अष्टलक्ष्मी शाक्य सरकारले सदनमा पेस गरेको थियो । प्रदेशसभामा तीनवटा नयाँ विधेयक दर्ता भएका थिए । प्रदेश विपद् व्यवस्था ऐन, संशोधन विधेयक, प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, संशोधन विधेयक र प्रदेश अनुसन्धान ब्युरो विधेयक प्रदेशसभामा पुगेको छ । यी तीनसहित केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक दफावार छलफलका लागि समितिमा पठाइएको छ ।

प्रकाशित : चैत्र ९, २०७८ २२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?