कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थारूको होरीमा धुमिल हुँदै डम्फूको धुन

कुनै बेला होरी मनाउन अनिवार्य हुने डम्फू अहिले बजाउन त परको कुरा, नयाँ पुस्ताका थारुलाई यसबारे जानकारीसमेत छैन
रमेशकुमार पौडेल

चितवन — आदिवासी थारू समुदायको फागु पर्व (होरी) मा रङ मात्रै होइन, डम्फूको धुन पनि अनिवार्य जस्तै छ । मान्छे रंगिए जसरी डम्फूलाई पनि सिँगार–पटार गरिएको हुन्छ । होरीमा घरघरमा डम्फू तयार गर्ने होड चल्थ्यो । यो अलि पुरानो कुरा हो । चितवनमा थारू समुदायको बाक्लै बसोबास रहेको बछौलीका ९० वर्षीय सुखलाल चौधरी सम्झन्छन्, ‘अचेल त्यो बेलाको जस्तो रमाइलो र जोसिलो होरी कहाँ बाँकी रह्यो र ?’

थारूको होरीमा धुमिल हुँदै डम्फूको धुन

‘होरी, होरी हो रङ जैसा होरी

के करे हाथे लाल चुनरी रङ जैसा होरी

किस्नका हाथे लाल चुनरिया

राधिकाके हाथे लगि हो रङ जैसा होरी ।

होरीका बेला गाउँटोलमा गुञ्जने यो गीत सुखलालले अझै बिर्सेका छैनन् । बढ्दो उमेरमा श्वास फुलेर बोल्न गाह्रो छ उनलाई । तर होरीको चर्चा गर्दै जाँदा उनले सम्झे जति गीतका पंक्ति स्वर मिलाएर गाए । ‘होरी आउन लाग्यो भनेपछि सबको घर–घरमा उर्दी दिन्थ्यो कि एउटा–एउटा डम्फू बनाउन भनेर । कसैको घरमा धेरै मान्छे भए दुईवटा पनि बनाउनुपर्थ्यो नि !,’ सुखलालले भने ।

उनका अनुसार गाउँमा औंसी कटेपछि नै होरीको चहलपहल सुरु हुन्थ्यो । बाख्राको छालाको डम्फूलाई आकर्षक देखाउन चुल्ठी नै राखिइन्थ्यो । स–सानो घण्टी पनि राख्नुपर्थ्यो । मयूरका प्वाँख मिलाएर राखेपछि बल्ल डम्फूको सिँगार–पटार पूरा हुन्थ्यो । १२/१५ जनाको टोलीले एकै स्वर र तालमा गाउने, बजाउने र नाच्ने गर्थे । डम्फूले मयूर नाचेको झल्को पो दिन्थ्यो ।

‘अहिले त यो सब पुरानो कुरा भयो,’ सुखलालले सुनाए । सुखलालका ६६ वर्षका जेठा छोरा वासुदेव चौधरी भन्छन्, ‘होरीमा डम्फू त अझै पनि बज्छ नि, तर घरघरमा डम्फू कहाँ पाउनु ? टोलमा दुई/चारवटा भेटिन्छ ।’ पूर्वशिक्षक र राजनीतिक व्यक्तिसमेत रहेका वासुदेव बछौलीको थारू सांस्कृतिक संग्रहालयका संरक्षक पनि हुन् ।

‘पहाडमा पूर्णिमाको दिन होरी मनाइन्छ । हामी भने पूर्णिमाको दिन साँझपख चीर पोल्छौं र भोलिपल्ट बल्ल होरी खेल्छौं,’ वासुदेवले भने, ‘वर्षभरिको रिसराग होरीका दिन पोख्ने चलन नै थियो । कुलोमा पानी लगाउने बेलामा मर्का परेको हुन्छ । कसैलाई कसैको बोली, बचन, व्यवहारले पिर पारेको हुन्छ । त्यसको बदला होरीमा लिने भनेर बस्नेहरू पनि हुन्थे ।’ उनका अनुसार अहिले त्यस्ता गतिविधि नामेट भइसकेको छ । उनले थाहा पाउँदासम्म तीन/चार दिनसम्म होरी धुमधामले मनाइन्थ्यो । चीर पोलेपछि त्यसैको खरानी भोलिपल्ट बिहान लगाएर थारू समुदायको ब्रह्मथानमा ढोग्ने र ‘हामी विजयी होऊँ’ भन्ने कामना गरिन्थ्यो । ‘झगडा हरायो, डम्फू पनि म हुँदै गयो,’ उनले भने ।

डम्फू नाच थारू समुदायले होरीमा नाच्ने विशेष नाच नै हो । यद्यपि डम्फू थारू संस्कृतिको प्रतीक बनेको छ । होरीबाहेक पनि डम्फू नाच सम्मेलन र सांस्कृतिक केन्द्रमा देख्न पाइन्छ । जसका कारण यो जोगिएको उनको बुझाइ छ । नरेश चौधरी ३० वर्षका भए । उनी सुखलालका नाति हुन् । ‘डम्फू त हामीले बजाउन जानेका छौं तर अचेल हाम्रो घरमा छैन । मलाई होरीमा यो डम्फू सिँगारेको पनि खासै याद छैन,’ उनले भने ।

पूर्वी चितवनकै थारू बहुल अर्को गाउँ खैरहनी नगरपालिका–९ बैरनीका ६० वर्षीय वीरेन्द्रकुमार चौधरीले मनोरञ्जनका साधनहरू पर्याप्त भएका कारण चाडपर्वको रौनक घटेको बताए । ‘पहिला मिठो खान पनि पर्व आउनुपर्थ्यो । खेतीपातीमा व्यस्त हुने भएका कारण रमाउन चाडपर्व नै आउनुपर्थ्यो । अहिले त मिठो खान पर्व कुर्नु पर्दैन । रमाउन मनोरञ्जनका अनेक माध्यम छन् । प्रत्येक दिन पर्वजस्तै छ नि !,’ उनले भने ।

उनले देख्दा पनि हरेक घरमा कम्तीमा एउटा डम्फू हुन्थ्यो । अहिले त व्यक्तिपिच्छे मोबाइल छन् । सुखलालका काखे पनातिहरू समेत मोबाइल फोनमा कार्टुन हेर्दै बसेका भेटिएका थिए । खाना खाँदा झनै मोबाइल नदेखाई हुँदैन ।

थारू समुदायको संस्था थारू कल्याणकारी सभाकी पूर्वकेन्द्रीय सदस्य चन्द्रा चौधरी होरीपछि अर्को ठूलो र उल्लासमय पर्व झट्टै नआउने हुँदा आफ्नो समुदायमा यसको ठूलो महत्व रहेको बताउँछिन् । ‘हुन त हामी चैतेदसैं, विक्रमबाबा मेला पनि मनाउँछौं । तर होरी खास र विशेष पर्व हो,’ चन्द्राले भनिन् ।

प्रकाशित : चैत्र ४, २०७८ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?