कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हेलम्बुमा शिक्षकले पाए उपचार खर्च

अनिश तिवारी

सिन्धुपाल्चोक — वर्षदिनअघि हेलम्बु गाउँपालिका २ ,ग्याल्थुम गाउँस्थित सरस्वती माध्यमिक विद्यालयमा पढाउँदै आएका सुद‍ूरपश्चिमका किशोरकुमार भट्ट एकाएक पित्तथैलीको समस्याले थलिए ।

हेलम्बुमा शिक्षकले पाए उपचार खर्च

शिक्षकको जागिर न पर्याप्त आर्थिक सक्षमता, न बलियो आयस्रोत, केही समय त के गर्ने भन्नेबारे उनी अन्योलमा परे । तर, हेलम्बु गाउँपालिकाको नीति तथा कार्यक्रमअनुरुप उनले उपचार खर्चस्वरुप ५१ हजार ४ सय २१ रुपैयाँ पाए र पित्तथैलीको शल्यक्रिया गरे ।

हेलम्बु गाउँपालिका २ किउलकै स्थानीय आधारभूत विद्यालयका शिक्षक लिलानाथ सापकोटा एकाएक शारीरिक रुपमा असक्षम भए । नसाकै कारणले हिँडडुल गर्नै मुस्किल परेको अवस्थामा पुगेका उनलाई हेलम्बु गाउँपालिकाले उपचार खर्च एक लाख ३३ हजार रुपैयाँ उपलब्ध गरायो । हेलम्बु गाउँपालिका ३ कै महेन्द्र माध्यमिक विद्यालयका कार्यालय सहायक पदमा कार्यरत स्थानीय टंकप्रसाद जोशी विद्यालयकै काममा हिँड्दा मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भए । उनको स्वास्थ्य र अन्य समस्या देखेपछि हेलम्बु गाउँपालिकाका जनप्रतिनिधिले एक लाख रुपैयाँ बराबर उपचार खर्च जोशीलाई हस्तान्तरण गरे ।

हेलम्बु गाउँपालिका क्षेत्रका आपत्‌मा परेका शिक्षकलाई उपचार खर्च दिने नीति तथा कार्यक्रम बनाएर खर्च बेहोरिरहेको छ । गाउँपालिकामा कार्यरत शिक्षकको तलब र गाउँपालिकाको तर्फबाट दुई सय रुपैयाँ जम्मा गरेर खडा गरिएको शिक्षक कर्मचारी स्वास्थ्य कोष शिक्षक वर्गलाई ठूलो सहयोग भएको उनले उल्लेख गरे । ‘सोही कोषबाट शिक्षक तथा कर्मचारीलाई आवश्यक उपचार खर्च उपलब्ध गराइँदै आएको छ । आहिलेसम्म १० जना शिक्षकले उपचार खर्च पाउनुभएको छ,’ भट्टले भने ।

कोषमा गाउँपालिकाले सुरुमा दश लाख दिएर सुरु गरेकोमा हेलम्बुभरका दुई सय २५ शिक्षकले मासिक ५ सय रुपैयाँ कोषमा हाल्ने गर्छन् । सुरुमा स्थायी शिक्षक बिरामी पर्दा कोषले उपचार गरे पनि अहिले अस्थायी र करारमा रहेका शिक्षकका लागि पनि अवकाश कोष स्थापना गर्ने नीति लिइएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।

‘हेलम्बु गाउँपालिकाले प्रत्येक अस्थायी र करार शिक्षकका लागि वार्षिक ६ हजार जम्मा गरिदिन्छ, बिचैमा पेसाबाट बाहिरिए पनि अवकाश कोषबाट रकम पाउँछन् , पोशाकभत्ता १० हजार रुपैयाँ, लेखा‚ शिक्षक र प्रधानाध्यापकलाई थप भत्ताको व्यवस्था गरिएको छ,’ शेर्पाले भने ।

प्रकाशित : फाल्गुन ८, २०७८ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?