१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

‘मेयरसाब, विद्यालयमा छाना चाहियो’

राजकुमार कार्की

सिन्धुली — विद्यालय भवन निर्माण अपुरो भएपछि कमलामाई नगरपालिका–१३ काङरिङ्गका स्थानीयले कार्यकाल सकिनै लाग्दा टुपुल्किएका मेयरसँग जस्तापाता र शौचालय माग गरेका छन् ।

‘मेयरसाब, विद्यालयमा छाना चाहियो’

१४ वर्षअघि स्वीकृत पाएको बालज्योति प्राविको हालको भवन कुटीजस्तो मात्र भएकाले पठन–पाठनमा समस्या भएकाले नयाँ भवनमा छाना र शौचालय छुट्टै हुनुपर्ने माग स्थानीयले गरेका हुन् ।

दलित र तामाङको जातिको बाहुल्यता रहेको गाउँको प्राविमा भएभरका विद्यार्थीहरुलाइ एउटै कक्षामा राखेर पढाउनु पर्ने बाध्यता छ । कार्यालय र कक्षाकोठा एउटै भएर चल्दै आएको बालज्योति प्राविमा स्थानीय तह भएर ५ वर्षअघि निर्वाचित भई कमलामाई मेयर बनेका खड्गबहादुर खत्री पहिलो पटक विद्यालयमा पुगेपछि स्थानीयले छाना र शौचालयको माग गरे । नगरपालिकाभित्र पनि पनि दूरदराजमा रहेको विद्यालयमा कसैको आँखा पर्न नसकेकाले पछाडि परेको स्थानीयको गुनासो थियो ।

‘कतैबाट नयाँ भवनको योजना परेन, मेयरको ठाडो तोक आदेशमा तीन लाख आयो,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्षबहादुर मोक्तानले भने, ‘जसोतसो गार्‍हो उठाइएको छ, मेयरसाब चाहियो ।’ नगरपालिकाबाट तीनलाख रुपैंयाँ भवन निर्माणका लागि प्राप्त भएकोमा स्थानीयले श्रमदान गरी पाँच लाखको काम गरिसकेको दाबी गरे । भवनमा अब झ्यालढोकाको पल्ला, छानामा जस्ता लगाउने मुख्य काम बाँकी रहेको छ ।

दुई कोठे भवनमा छाना हालिदिने मेयर खत्रीले आश्वासन दिए । विद्यालयमा २५ जना बालबालिकाहरु रहेको शिक्षकले जनाएपछि मेयर खत्रीले १,२,३ गरेर गिन्ती गरेका थिए । शिक्षक विद्यार्थी गणना सही भएको मेयर खत्रीले जनाए । एकजना राहत शिक्षक र विद्यालय कर्मचारीले मात्र सबै कक्षा धान्न गार्‍हो भएको स्थानीयको गुनासो थियो

६ महिनाअघि विद्यालयमा सरुवा भएर आएकी राहत शिक्षक पवित्रा कट्टेलले बालविकास कक्षा, खानेपानी र शौचालयको माग गरिन् । ‘म आउनुभन्दा अघिका शिक्षक त विद्यालयमा हाजिर नै नभई वर्षौं बिताएर सरुवा भएछन्,’ उनले भनिन्, ‘दूरदराजको विद्यालय भएकाले शिक्षकसहित बालविकास कक्षाको अपरिहार्य भएको छ ।’

प्रकाशित : माघ २२, २०७८ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?