कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मकवानपुरमा ६२ प्रतिशतले लगाए खोपको प्राथमिक मात्रा

प्रताप विष्ट

हेटौंडा — मकवानपुरमा कोरोनाविरुद्धको खोपको प्राथमिक मात्रा (कम्पनीअनुसार १ वा २ मात्रा) लगाउनेको संख्या २ लाख नाघेको छ । शुक्रबारसम्म खोपको प्राथमिक मात्रा लगाउनेको संख्या २ लाख १७ हजार २ सय १२ जना पुगेको स्वास्थ्य कार्यालय प्रमुख भीमसागर गुरागाईंले बताए । यो खोप लगाउन उपयुक्त मानिएको जनसंख्याको झन्डै ६२ प्रतिशत हुन आउँछ ।

मकवानपुरमा ६२ प्रतिशतले लगाए खोपको प्राथमिक मात्रा

जिल्लामा १२ वर्षमाथिका ३ लाख ५० हजार ४ सय जनालाई खोप लगाउन उपयुक्त जनसंख्या तोकिएको छ । खोपको पहिलो मात्रा लगाउनेको संख्या २ लाख ९० हजार ४ सय १२ जना अर्थात् ८३ प्रतिशत र बुस्टर डोज लगाउनेको संख्या ४ हजार ५ सय ३६ पुगेको गुरागाईंले जानकारी दिए । ‘पछिल्लो समय सञ्चालित खोप अभियान प्रभावकारी रूपमा अगाडि बढिरहेको छ,’ उनले भने, ‘चेपाङ बाहुल्य क्षेत्रमा पनि खोपको पहिलो मात्रा लगाउनेको संख्या ७० प्रतिशतभन्दा बढी पुगेको छ ।’

मकवानपुरको चेपाङ बाहुल्य राक्सिराङ र कैलाश गाउँपालिकामा घरदैलो अभियान नै सञ्चालन गरी स्थानीयलाई खोप लगाइएको थियो । पछिल्लो समय कोरोना संक्रमण फैलन थालेपछि खोप लगाउनेको संख्या पनि बढ्दै गएको गुरागाईंले बताए । सरकारले सार्वजनिक स्थल र कार्यालयहरूमा खोप कार्ड अनिवार्य गरेका कारण पनि खोप लगाउनेको संख्या बढेको उनको भनाइ छ ।

यसैबीच, मकवानपुरमा शुक्रबार थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार १७ पुगेको छ । जसमध्ये १० जना मात्रै संस्थागत आइसोलेसनमा उपचाररत छन् भने बाँकी घरमै रहेका कार्यालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ सय ४६ जना संक्रमणमुक्त भएको पनि कार्यालयको तथ्यांक छ ।

प्रकाशित : माघ १५, २०७८ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?