कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

काभ्रेको जनसंख्या वृद्धिदर फेरि ऋणात्मक

१३ पालिकामध्ये बनेपा, धुलिखेल र पनौतीमा मात्रै जनसंख्या वृद्धि

काभ्रे — जनगणनामा जिल्लावासी अनुपस्थित हुँदा काभ्रेको जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ । तथ्यांक विभागले सार्वजनिक गरेको जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार काभ्रेको जनसंख्या २०६८ को जनगणनाभन्दा ०.३९ प्रतिशतले घटेको हो । हाल ३ लाख ६६ हजार ८ सय ७९ जनसंख्या गणना भएकोमा २०६८ मा ३ लाख ८१ हजार ९ सय ३७ थियो । 

काभ्रेको जनसंख्या वृद्धिदर फेरि ऋणात्मक

‘६ महिना वा सोभन्दा बढी बसोबास गरेको स्थानलाई अक्सर बसोबास गरेको मानेर गणना भएकाले स्थायी ठेगानाको लागि त्यो संख्या अनुपस्थित देखिन्छ,’ जिल्ला जनगणना अधिकारीको रूपमा काम गरेका तथ्यांक कार्यालय काभ्रेका प्रमुख दीपक कोइरालाले भने, ‘जनसंख्या नै घट्ने होइन ।

अर्को स्थानमा गणना भएको हुन्छ । यसो गर्दा एकतिर घट्छ भने अर्कोतिर बढ्छ ।’ उनका अनुसार कामको सिलसिलामा अन्य जिल्ला र विदेशमा गएकाहरूलाई गणनामा अनुपस्थित जनसंख्याका रूपमा राखिएको छ । यो संख्या यसपल्ट १९ हजार ५ सय ७६ छ ।

जिल्लामा यसपल्ट ८३ हजार ९ सय ३२ घरधुरीका ९३ हजार १ सय ८९ परिवारको गणना भएको थियो । जसमा १ लाख ८५ हजार ९ सय १२ महिला र १ लाख ८० हजार ९ सय ६७ पुरुष छन् । जनघनत्व २ सय ६३ छ । लैंगिक अनुपात ९७.३४ प्रतिशत र औसत परिवारको आकार ३.९४ प्रतिशत पाइएको छ । २०६८ मा पनि यहाँको जनसंख्या वृद्धिदर ऋणात्मक (०.१ प्रतिशत) थियो । २०५८ को जनगणनाअनुसार यहाँको जनसंख्या ३ लाख ८५ हजार ६ सय ७२ थियो ।

सहरी क्षेत्रमा बसोबास बढी

तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार जिल्लाको सहरी क्षेत्रमा बसोबास बढिरहेको देखिएको छ । गत जनगणनाको तुलनामा यसपल्ट बनेपा, धुलिखेल र पनौती नगरपालिकामा मात्रै जनसंख्या वृद्धि भएको छ । १३ मध्ये १० स्थानीय तहमा भने वृद्धिदर ऋणात्मक छ ।

सबैभन्दा धेरै जनसंख्या बनेपा नगरपालिकामा छ । बनेपामा ६७ हजार ६ सय २९ जनाको बसोबास छ भने सबैभन्दा कम खानीखोला गाउँपालिकामा १२ हजार ३ सय ७५ छन् । १० वर्षमा बनेपामा १२ हजार १ जना, पनौतीमा ५ हजार ४ सय ८६ र धुलिखेलमा ४ हजार २१ जनसंख्या बढेको देखिएको छ । यी क्षेत्र जिल्लाकै प्रमुख बजार क्षेत्रसमेत भएकाले यहाँ रोजगारी, व्यापार, अध्ययन, व्यवसायका लागि आउनेको संख्या बढ्दा जनसंख्या पनि वृद्धि भएको हो ।

६ महिना वा सोभन्दा बढी बसोबास गरेको स्थानलाई अक्सर बसोबास गरेको मानेर गणना भएकाले ती स्थानीय तहमा वृद्धि भएको देखिएको हो । सहरोन्मुख र केही समयअघि नगरपालिका घोषणा भएका पाँचखाल, नमोबुद्ध र मन्डनदेउपुर नगरपालिकामा पनि २०६८ को जनगणनाको तुलनामा जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ ।

प्रकाशित : माघ १४, २०७८ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?