कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

संरक्षण पर्खाइमा भृकुटी डोली बिसौना

अनिश तिवारी

सिन्धुपाल्चोक — बौद्धमन्त्रजस्तै लाग्ने अक्षर कुदिँएका शिलालेख छन् । फराकिलो चौरमा केही कलात्मक ढुंगा ओछ्याइएका छन् । तर हेर्दा चौतारीजस्तै लागे पनि यहाँ छापिएका अधिकांश ढुंगा झिकिसकिएका छन् ।

संरक्षण पर्खाइमा भृकुटी डोली बिसौना

सिन्धुपाल्चोकबाट चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने पुरानो पैदल रुटमा पर्छ बाह्रबिसे नगरपालिका–७ खोलेखर्क लेक । यही क्षेत्रको जंगल बिचोबिच छ पुराना र कलात्मक ढुंगा बिछ्याइएको चौतारी छ, जसलाई स्थानीय भृकुटी डोली बिसौना भन्छन् ।

बाह्रबिसे खोलेखर्कका ९० वर्षीय चामे तामाङका अनुसार राष्ट्रिय विभूति भृकुटीको विवाह भई तिब्बत जाने क्रममा यही स्थानमा उनको डोलीसहित दक्ष कालिगड र सेनाको टोली बास बसेको थियो । ‘त्यही सम्झनामा यो बिसौनाको नाम भृकुटी डोली बिसौना नामकरण गरिएको हो,’ जनश्रुति सुनाउँदै तामाङले भने, ‘एक रात यहीं बास बसेर उनीहरू चीनको तिब्बत गएका थिए । त्यसबेला कालिगडले चौतारी बनाएर शिलालेख, पवित्र मन्त्र कुँदेर छाडेका हुन् ।’

२०६८ सालसम्म यस चौतारीमा कलात्मक तरिकाले कुदिँएको ठूलो शिलालेख, मूर्ति र तिब्बती परम्परागत झण्डाको अवशेष भेटिएको थियो । पछि त्यो चोरी भएको उनले बताए । पुरातात्त्विक र कलात्मक भएकोले यहाँका अधिकांश ढुंगाहरू चोरी भइसकेका छन् । बाँकी अवशेष पनि हराउने क्रममा रहेकोले चौतारीको जर्गेना गर्नुपर्नेमा उनले जोड दिए ।

विभिन्न ऐतिहासिक दस्ताबेज र अभिलेखअनुसार भृकुटी लिच्छविकालीन राजा अंशुवर्माकी छोरी हुन् । उनलाई स्थानीय भाषामा ‘बेसा’ को नामले पनि चिनिन्छ । अंशुवर्माले तिब्बतसँग दरिलो सम्बन्ध बनाउन छोरीको विवाह त्यहाँका राजा श्रङचङगम्पोसँग गरिदिएका थिए । विवाहपछि तिब्बत जाने क्रममा बौद्ध धर्मावलम्बीसमेत रहेकी भृकुटीले नेपालबाट बुद्धका कलात्मक आकृति र दक्ष नेवारी कालिगडलाई आफूसँगै लगेकी थिइन् । उनीहरू यो बिसौनीभन्दा केहीमाथि रहेको माख्लो चौरमा एक रात बास बसेर तिब्बतको ल्हासा पुगेको किंवदन्ती छ । तर ऐतिहासिक र कलात्मक पृठिभूमिको यो क्षेत्र संरक्षण अभावमा अलपत्र छ ।

केही समयअघि इन्द्रावती गाउँपालिकाले वडा–४ नौलपुरमा भृकुटी शान्ति पार्क शिलान्यास गरेको थियो । काठमाडौंबाट साँखु हुँदै फलचौर, इन्द्रावतीको भीमटार, नौलपुर, खोलेखर्क, तातोपानीको माथिल्लो बाटो भएर भृकुटी तिब्बत गएको स्थानीय किंवदन्तीलाई मानेर नवलपुरमा पार्क निर्माण थालिएको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले बताए ।

‘भृकुटी ट्रेकिङ रुट बनाउने सोचमा छौं । महान् विभूतिलाई सम्झाउने यो कामले भावी पुस्ताले इतिहास थाहा पाउनेछ,’ उनले भने । यहाँबाट गौरीशंकर, जुगल, गणेशसहित दर्जनौं हिमशृंखला देख्न सकिन्छ । केही दूरीमै कलात्मक धनलक्ष्मी गुफा, गौली शिला छ । ३१ फिट अग्लो ओम पार्क यही ठड्याइँदै छ ।

प्रकाशित : माघ १३, २०७८ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?