कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२ सातामा ४ चित्तल मारिए

भत्काइएको वन विज्ञान अध्ययन संस्थानको पर्खाल नबनाइनु तथा राप्ती किनारस्थित डम्पिङ साइटका कारण चित्तल र मृग पटक–पटक कुकुरको आक्रमणमा पर्ने गरेका छन्
प्रताप विष्ट

हेटौंडा — सामुदायिक कुकुरको आक्रमणमा परी हेटौंडा उपमहानगरपालिका–१० मा रहेको वनविज्ञान अध्ययन संस्थानको जंगलमा चित्तलका ४ पाठापाठी मारिएका छन् । यी पाठापाठी पछिल्लो २ सातायता मारिएका हुन् । खुला रूपमा छाडिएका कुकुरको आक्रमणमा वनविज्ञान जंगलभित्र चित्तल र मृग मारिएका नौलो घटना भने होइन ।

२ सातामा ४ चित्तल मारिए

सोमबार बिहान करिब साढे ८ बजेतिर एउटा चित्तलको पाठालाई कुकुरले आक्रमण गरेको अवस्थामा विद्यार्थीले देखेर उद्धारको प्रयास गरेका थिए । तर, गम्भीर घाइते चित्तल मरेको विद्यार्थी सुजन खतिवडाले बताए । चितल र मृग मारिएको विषयलाई लिएर वनविज्ञानका विद्यार्थीले क्याम्पस प्रशासन र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । तर त्यसप्रति कसैले ठोस कदम उठाएका छैनन् । आफूहरूले हेटौंडा उपमहानगरपालिका र जिल्ला वन कार्यालयका प्रमुखहरूलाई भेटेर चितल र मृगको संरक्षणका लागि पटक–पटक अनुरोध गरिसकेको खतिवडा बताउँछन् ।

घना जंगल, नदी, घाँसे मैदान भएका कारण चित्तलको सुरक्षित बासस्थानका रूपमा चिनिन्छ वनविज्ञान क्याम्पस क्षेत्र । अध्ययन संस्थानको जंगलबाट बाहिर चर्न निस्केको अवस्थामा सामुदायिक कुकुरहरूले लखेटेर चित्तल र मृग मारिने गरेका हुन् । खुला रहेको यो क्षेत्रमा कुकुर नियन्त्रण नहुँदा यहाँ चित्तल र मृगको संख्यासमेत घट्दै गएको सरोकारवालाहरू बताउँछन् । कुकुरकै आक्रमणका कारण गत आवमा १५ वटा चित्तल र ६ वटा मृग मारिएका थिए ।

यसरी चित्तल र मृग मारिने कारणहरूमध्ये उपमहानगरको डम्पिङ साइट पनि एक हो । वनविज्ञानको जंगलछेउमै, राप्ती नदीको किनारमा छ उपमहानगरपालिकाको डम्पिङ साइट । पानी पिउन नदी आएका बेला डम्पिङ साइटमा जम्मा हुने कुकुरहरूको आक्रमणमा चित्तल र मृग पर्ने गरेका छन् । कतिपय अवस्थामा कुकुरबाट जोगिन भाग्ने क्रममा पनि चित्तल र मृग डम्पिङ साइटको काँडेतारमा अल्झिएर मर्ने गरेका छन् ।

१ सय ५८ बिघा क्षेत्रफलमा फैलिएको वनविज्ञान अध्ययन संस्थानमा विगतमा सयभन्दा धेरैको संख्यामा चित्तल थिए । ‘अहिले १२–१४ वटाको एउटा झुन्डबाहेक चित्तल देखिँदैनन्,’ क्याम्पस प्रमुख कृष्णप्रसाद दाहालले भने, ‘संस्थानको कम्पाउन्ड भत्काइएकाले चित्तलहरू मासिँदै गएका हुन् ।’ उनका अनुसार सडक विभागले राजमार्गसँग जोडिएको संस्थानको पर्खाल भत्काएपछि बाहिरका कुकुरहरू सहज ढंगले जंगल प्रवेश गर्न पाए । अर्कोतिर जंगलवरिपरि चारैतिर बाटो बनाएकाले पनि चित्तलहरू आक्रमणमा पर्ने गरेका छन् ।

चोरीसिकारीबाट भने चित्तलहरू नमारिएको उनको भनाइ छ । त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयको विवादका कारणले भत्काइएका पर्खाल पुनर्निर्माण हुन सकेको छैन । उता, छाडा कुकुरहरूलाई मार्न खोज्दा पशुअधिकारकर्मीले मार्न हुँदैन भनेर दबाब दिएकाले समस्या समाधान गर्न नसकिएको उपमहानगर बताउँछ । चौकीटोल, पदमपोखरी र पिप्लेनजिकका जंगलबाट बाहिर निस्केका मृग र चित्तल पनि कुकुरको सिकार हुने गरेका छन् । तर यसतर्फ कसैको ध्यान पुगेको छैन ।

प्रकाशित : माघ ११, २०७८ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?