कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धमाधम स्वास्थ्यकर्मी संक्रमित, अस्पतालको सेवा कटौती

तेस्रो लहर सुरू भएयता चितवनमा मात्रै साढे २ सयभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना पुष्टि, स्वास्थ्य संस्थामा जनशक्ति व्यवस्थापनमा सकस थपिँदो
रमेशकुमार पौडेल

चितवन — कोरोना संक्रमितको संख्या ह्वात्तै बढे पनि चितवनका अस्पतालहरूमा उपचारका लागि भर्ना हुने संक्रमितको चाप खासै छैन । तर, अस्पतालका चिकित्सक, नर्स, प्राविधिकसहितका स्वास्थ्यकर्मीहरू धमाधम संक्रमित हुन थालेकाले उपचार सेवा प्रभावित भएको छ । संक्रमण दर यस्तै रहे आउँदा दिन झनै कठिन हुन सक्ने आकलन उपचारमा संलग्न चिकित्सकहरूको छ ।

धमाधम स्वास्थ्यकर्मी संक्रमित, अस्पतालको सेवा कटौती

भरतपुर अस्पताल कोरोना संक्रमितहरूको उपचार हुने जिल्लाको मुख्य अस्पताल हो । अस्पतालले सयभन्दा बढी शय्या संक्रमितहरूको उपचारका लागि व्यवस्था गर्न सक्छ । अहिले अस्पतालमा ४० जना संक्रमित भर्ना छन् । बिरामीको चाप कम भए पनि स्वास्थ्यकर्मीहरू धमाधम संक्रमित हुन थालेपछि अस्पतालले सेवा कटौती गर्न सुरु गरेको छ ।

अस्पतालले बहिरंग (ओपीडी) र नियमित शल्यक्रिया सेवा आइतबारदेखि रोकेको जनाएको छ । ‘अत्यावश्यक सेवा र शल्यक्रिया जारी राख्न सकिन्छ कि भनेको हो । तर जुन दरमा स्वास्थ्यकर्मीहरू संक्रमित हुन थाले, यसले यी सेवाहरू सञ्चालन गर्न पनि चुनौती हुने देखेको छु,’ भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्ण पौडेलले भने ।

डा. पौडेल आफैं पनि संक्रमित भएर हालै मात्र सेवामा फर्केका हुन् । ‘७ दिन घरमै बसेर अस्पताल आएको छु । काम गर्न सकिन्छ भन्ने लागेको छ, तर हेर्दै जाऊँ । मैले सजिलो देखेको भने छैन,’ उनले भने । कोरोनाको तेस्रो लहर सुरु भएसँगै भरतपुर अस्पतालका मात्रै ७० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भइसकेको उनले जानकारी दिए ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभर यो संख्या २ सय ५० भन्दा बढी छ । स्वास्थ्य कार्यालय प्रमुख दीपक तिवारी पनि संक्रमित भएर हालै मात्र काममा फर्केका छन् । जिल्लामा देखिएका चुनौतीको व्यवस्थापन के कसरी गर्ने भन्ने बारेमा चल्ने बैठकहरूमा उनको दौडधुप सुरु भएको छ । ‘अबको मुख्य चुनौती नै यही होला जस्तो छ । किनकि स्वास्थ्यकर्मीहरू धेरै नै संक्रमित भएका छन् । यसले गाह्रो बनाउने भयो,’ आइतबार जिल्ला प्रशासन कार्यालयमा भएको बैठकबाट बाहिरिँदै गर्दा तिवारीले भने ।

कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण फैलने दर यसअघिका अन्य भेरिएन्टको भन्दा अत्यधिक भएका कारण स्वास्थ्यकर्मी पनि धेरै प्रभावित भएको भरतपुर अस्पतालका मेसु डा. पौडेलको भनाइ छ । अस्पतालमा सामान्य अवस्थामा दिनमै १५ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गर्छन् । चितवन आसपासका १२ जिल्लाका बिरामीहरू यो अस्पतालमा नियमित जस्तो उपचारका लागि आउने गरेको उनले बताए । सुत्केरी हुने धेरै महिला यो अस्पतालमा आउने गर्छन् ।

गत साता मात्रै २४ घण्टामा ५४ जनासम्मलाई सुत्केरी सेवा दिएको उनले बताए । त्यसैले स्वास्थ्यकर्मी संक्रमित हुँदा धेरैजनालाई मर्का पर्ने उनले बताए । सेवा कटौती गर्ने भनिए पनि आइतबार संक्रमितबाहेक ९ सय १२ जना उपचारका लागि आएको अस्पतालले जनाएको छ । अस्पतालले संक्रमित हुने स्वास्थ्यकर्मीलाई कडा लक्षण नदेखिए ७ दिनपछि र अस्पताल भर्ना भएकाहरूलाई डिस्चार्ज भएको ३ दिनपछि काममा फर्कन भनेको छ । ‘तर होम आइसोलेसनमा बसेका केही चिकित्सकहरूमा ५/६ दिनपछि कडाखाले लक्षणहरू देखा परेको पाइएको छ,’ डा. पौडेलले भने, ‘ओमिक्रोनको चरित्रका बारेमा धेरैखाले दुविधा कायमै छ ।’

स्वास्थ्य कार्यालय प्रमुख तिवारी संक्रमण रोक्न सबैले सचेत भएर काम गरे व्यवस्थापन सहज हुने बताउँछन् । कोरोना संक्रमण दर बढ्दै गए र स्वास्थ्यकर्मी पनि यही अनुपातमा संक्रमित हुन थाले आउँदा दिनहरू कठिन हुने उनको पनि आकलन छ । आइतबार मध्याह्नसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या २ हजार ८ सय ६१ पुगेको छ । तीमध्ये अस्पताल भर्ना हुने ४२ जना मात्रै छन् ।

प्रकाशित : माघ १०, २०७८ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?