कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मकवानपुर र काभ्रेमा बढ्यो संक्रमण

हेटौंडा/काभ्रे — मकवानपुर र काभ्रेमा दैनिक रूपमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । मकवानपुरमा बिहीबार थप १ सय ८१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ८९ जनामा पीसीआर र ७१ जनामा एन्टिजेन परीक्षण गर्दा क्रमश: १ सय ३३ जना र ४८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुर र काभ्रेमा बढ्यो संक्रमण

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार २ सय ६८ पुगेको छ । हेटौंडाको एकमात्र सरकारी हेटौंडा अस्पतालका ११ जना डाक्टरसहित ५४ जनामा संक्रमण भएको जनाइएको छ । अस्पतालका अध्यक्ष राजेश प्रसाईंले ११ चिकित्सक र १४ नर्ससहित ५४ जनामा कोरोना संक्रमण भएको बताए । अध्यक्ष प्रसाईंले अस्पतालमा कोभिड बिरामीको लागि १२ बेडको इमर्जेन्सी सेवा तयारी अवस्थामा राखेको र एचडीयू सेवामा ९ जनाले सेवा लिइरहेको जानकारी दिए ।

त्यस्तै, काभ्रेमा पनि माघ पहिलो साताबाट संक्रमण दर बढेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोतम सेढाईंका अनुसार पीसीआर र एन्टिजेन परीक्षणमा कम्तीमा ३० प्रतिशतलाई संक्रमण देखिइरहेको छ । माघ १ गते १ सय २३ जनाको परीक्षण गरिएकामा ५९ जनामा संक्रमण देखिएको थियो । बिहीबारमात्रै ६ सय ४५ जनाको परीक्षण गरिएकामा २ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ४३ पुगेको छ । माघयतामात्रै ८ सय ४४ संक्रमित थपिएका छन् ।

प्रकाशित : माघ ७, २०७८ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?