कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मदन भण्डारी राजमार्गको सिन्धुलीमाडी खण्डमा स्थानीयले गरे आन्दोलन

सिन्धुली — ११ मिटर सडक क्षेत्र कायम गर्न माग गर्दै मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीमाडीको धुराबजार-खट्टार सडकमा स्थानीयले सोमबारबाट पुनः आन्दोलन थालेका छन् । पटक-पटक शान्तिपूर्ण आन्दोलन गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत आफ्ना मागहरूलाई बेवास्ता गरेको भन्दै उनीहरूले पुनः आन्दोलन थालेका हुन् ।

मदन भण्डारी राजमार्गको सिन्धुलीमाडी खण्डमा स्थानीयले गरे आन्दोलन

धुराबजार पुछार खट्टारसम्म घर तथा जग्गाधनीहरूले ११ मिटर सडक कायम गरी बाँकी घर तथा जग्गा सरकारी कामकाजका लागि मिल्ने गरी फुक्का गर्नुपर्ने, मदन भण्डारी राजमार्गको यो खण्डलाई मन्त्रिपरिषद्‌बाट वैकल्पिक सडक कायम गर्नुपर्ने, मागबमोजिमको चौडाई कायम गरी राजपत्रमा प्रकाशित गर्नुपर्ने, सहरी सडक बनाउनुपर्ने, नागरिक हक अधिकारको सुनिश्चितता हुनुपर्ने लगायत माग राख्दै शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

मापदण्डको विषयलाई लिएर पाँच वर्षदेखि रोकिएको धुराबजार-खट्टार सडक हाललाई ११ मिटर चौडाई कायम गरी दुई महिनाअघिबाट निर्माण सुरु भएको थियो । स्थानीयले मागलाई बेवास्ता गरे मंगलबारबाट निर्माणको काम ठप्प पार्ने चेतावनी दिएका छन् ।

स्थानीयले मदन भण्डारी राजमार्गको मापदण्ड २०७२ साल चैत्र २९ गते प्रकाशित राजपत्रअनुसार सडकको दायाँ बायाँ १५-१५ मिटर हुनेमा बिनासूचना ११ मिटरमात्र लिएर काम सुरु गरेकोमा आपत्ति जनाएका छन् । सहरी सडकको मापदण्ड घोषणा नै नगरी काम सुरु गर्दा घर तथा जग्गाधनीहरू सुकुम्बासी हुने भएकाले निकासका लागि सडक निर्माणको काम रोकिएको आन्दोलनकारी स्थानीय छेत्र बम्जनले बताए ।

आन्दोलनकारीको मुख्य माग मदन भण्डारी राजमार्गको धुराबजार पुछारदेखि धुराफाँट, मिलनचोक, लव्दाह, शिवालय, साङ्बाले हुँदै खट्टारसम्मको सडकको मापदण्डमा लैजान वा राजमार्गकै मापदण्ड कायम गरी घर तथा जग्गाको उचित मुआब्जा दिनुपर्ने रहेको छ । आन्दोलनकारीले आफ्नो मागसहितको ज्ञापनपत्र यसअघि नै स्थानीय प्रशासनलाई समेत बुझाइसकेका छन् ।

आन्दोलनकारीको मागका विषयमा सडक आयोजनालाई जानकारी गराइसकिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । सडक निर्माणको काम रोकिँदा विकास निर्माण अवरुद्ध हुने भएकाले निर्माण कार्य नरोक्न आन्दोलनकारीलाई आफूले सुझाव दिएको उनको भनाइ छ ।

प्रकाशित : माघ ३, २०७८ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?