कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाविरुद्धको तयारी बुझ्न वाग्मतीका स्वास्थ्यमन्त्रीद्वारा स्थलगत भ्रमण

काभ्रे — कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि भइरहेको तयारी बुझ्न वाग्मती प्रदेशका स्वास्थमन्त्री निमा लामा आइतबार धुलिखेलस्थित जनस्वास्थ्य प्रयोशगाला र स्वास्थ्य कार्यालय काभ्रे पुगेका छन्।

कोरोनाविरुद्धको तयारी बुझ्न वाग्मतीका स्वास्थ्यमन्त्रीद्वारा स्थलगत भ्रमण

‘पछिल्लो एक सातामा कोरोना संक्रमण दर बढेपछि मातहतका सबै स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेका छौं,’ जनस्वास्थ्य प्रयोगशालामा भेटिएका मन्त्री लामाले भने, ‘तयारी अवस्थामा रहेको कागजी बिफ्रिङ त लिएँ तर स्थलगत नै बुझौं भनेर आएको हुँ ।’

जनस्वास्थ्य प्रयोगशालामा उनले परीक्षणको संख्या र संक्रमण दरबारे चासो लिएका थिए । परीक्षणका क्रममा हुने समस्याबारे जानकारी लिँदै उनले कुनै पनि सहयोग गर्न आफू तयार रहेको प्रतिवद्धता जनाए । प्रयोगशालाका निमित्त निर्देशक डा. नारायण कार्कीले जिल्ला जिल्लामा परीक्षण सुरु भएको भन्दै चाप केही कम भएको बताए ।

स्वास्थ्य कार्यालय काभ्रेमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोतम सेढाईले उनलाई जिल्लामा संक्रमणको अवस्था, खोपको उपलव्धता, आइसोलेसन र अन्य तयारीका बारेमा जानकारी गराएका थिए ।

उनले तीन प्रमुख नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण सुरु भएको जानकारी गराएका थिए । १८ वर्षमाथिका ९० प्रतिशत जनसंख्यालाई खोपको पहुँच पुगेको भन्दै उनले बाँकीलाई पनि खोप दिन अभियान चलाएको बताए ।

मन्त्री लामाले कोरोना नियन्त्रणको लागि खोप नै प्रभावकारी माध्यम भएको भन्दै प्रदेशमा ७४ प्रतिशतले खोप पाइसकेको र बाँकीलाई समुदायमै गएर खोप लगाउने गरी तयारीसमेत भएको बताए ।

यस्तै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाको लागि ७ जिल्लामा मोडर्ना र ६ जिल्लामा फाइजर खोप स्कुल–स्कुलमा गएर लगाउने अभियान तीव्र पारिएको पनि उनले बताए । महामारीमा नागरिक बचाउनु पहिलो प्राथमिकता भएको भन्दै उनले अग्रपंक्तिमा खटिनेहरूलाई पहिलो चरणमा र त्यसपछि दीर्घरोगी, जेष्ठ नागरिकलाई बुस्टर डोज दिन सुरु गरिने जानकारी दिए ।

प्रकाशित : माघ २, २०७८ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?