कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समुदायस्तरमै खोपको व्यवस्था गरिँदै

सुवास विडारी

मकवानपुर — कोरोनाका सक्रिय संक्रमित बढेसँगै प्रदेश सरकारले समुदाय तहसम्म कोभिड–१९ विरुद्धको खोप अभियान पुर्‍याउने भएको छ । कोभिड व्यवस्थापन प्रदेश निर्देशक समितिको पहिलो बैठकले समुदाय तहसम्म खोप अभियान पुर्‍याउने निर्णय गरेको हो ।

समुदायस्तरमै खोपको व्यवस्था गरिँदै

स्वास्थ्यमन्त्री निमा लामाका अनुसार प्रदेशमा खोप लगाउने दर बढाउन समुदाय तहसम्म कोभिडविरुद्धको खोप अभियान पुर्‍याउनका लागि आवश्यकताअनुसार खोप केन्द्र विस्तार गर्न लागिएको हो ।

वाग्मती प्रदेशका कतिपय स्थानीय तहमा लक्ष्यभन्दा कम जनसंख्याले खोप लगाएको देखिएकाले खोप अभियानमा जनप्रतिनिधिको पहलकदमी आवश्यक देखिएको मन्त्री लामाले बताए । उनका अनुसार यातायातकर्मीलाई समेत लक्षित गरी बसपार्क र सार्वजनिक स्थलमा खोप अभियान सञ्चालन गरिने भएको छ ।

स्वास्थ्यमन्त्री लामाले मकवानपुर, धादिङ, रामेछाप, सिन्धुपाल्चोक, चितवन, दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोकका विकट क्षेत्रका नागरिकले खोप नलगाएको पाएपछि गाउँमै पुगेर खोप लगाइने तयारी भइरहेको बताए । ‘अझैसम्म पनि विकट क्षेत्रका नागरिकले खोप लगाएका छैनन् भन्ने तथ्यांकले देखाउँछ । प्रदेश सरकारले उनीहरूलाई सचेतना जगाउँदै समुदायमै पुगेर खोप लगाउने व्यवस्था गर्नेछ,’ लामाले भने ।

‘तत्काल खोप केन्द्र गाउँमै स्थापना गर्छौं । हामीसँग जनशक्ति पनि छ । समुदायमै पुगेर खोप लगाउँछौं,’ मन्त्री लामाले भने, ‘पहिला खोप थिएन, खोप लगाउनेको तँछाड मछाड हुन्थ्यो । अहिले सरकारसँग पर्याप्त खोप छ, तर खोप लगाउने मान्छे नै छैनन् । प्रायः खोप लगाउनबाट भागिरहेको देखिन्छ ।’

मन्त्रालयले कोरोना खोप नलगाउने क्षेत्रको पहिचान गरी अगुवासँगको छलफल सुरु गरिसकेको छ ।कोरोना नियन्त्रण गर्न प्रदेश सरकारले केही दिनअघि मात्रै ४ सय ७९ जना स्वास्थ्यकर्मीको करार ६ महिनालाई थप गर्ने निर्णय गरेको थियो । तत्कालीन प्रदेश सरकारले कोभिड–१९ रोकथामका लागि भन्दै नियुक्त गरेको स्वास्थ्यकर्मीको करार समयावधि यही पुसमा सकिँदै थियो ।

समितिका संयोजक मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले प्रदेशवासीलाई जनस्वास्थ्यको मापदण्डमा कडाइ गर्ने, भीडभाड नियन्त्रण, अनिवार्य मास्क र सेनिटाइजर लगाउन अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रकाशित : माघ १, २०७८ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?