कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

९४ प्रतिशत संक्रमित घरमै

संक्रमण बढेपछि आइसोलेसन सञ्चालन गर्न समुदायस्तरबाट माग
सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशका करिब ९४ प्रतिशतभन्दा बढी कोरोना संक्रमित होम आइसोलेसन मै बसिरहेका छन् । स्वास्थ्यकर्मीका अनुसार प्रदेशका अधिकांश संक्रमितहरू सिटामोलको भरमा घरमै छन् ।

९४ प्रतिशत संक्रमित घरमै

दैनिकजसो संक्रमित बढे पनि उपचारका लागि अस्पताल जाने वा संस्थागत आइसोलेसनमा बस्नेको संख्या न्यून रहेको वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बिहीबार साँझसम्म वाग्मती प्रदेशमा ९ हजार ९ सय २७ जना सक्रिय संक्रमित छन् । जसमध्ये ९४ प्रतिशत अर्थात् ९ हजार ३ सय ९४ जना होम आइसोलेसनमा छन् ।

मन्त्रालयको तथ्यांकअनुसार १ सय ७७ जना संस्थागत आइसोलेसनमा र ३ सय ५६ जना अस्पतालमा उपचाररत छन् । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार संक्रमितको स्वाब परीक्षण गर्ने र उपचार गर्ने जिम्मेवारी जिल्ला अस्पतालाई दिइएको छ । ‘हामीले जिल्ला अस्पतालमा संक्रमितको उपचार गर्ने व्यवस्था मिलाएका छौं । उनीहरूसँग समन्वय गर्ने जिम्मेवारी जिल्ला स्वास्थ्य कार्यालयलाई तोकेका छौं,’ उनले भने ।

हेटौंडा उपमहानगरका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंले संक्रमण दर बढेपछि आइसोलेसन सञ्चालन गर्ने माग समुदायस्तरबाट आएको बताए । तर ठोस निर्णय नभइसकेको उनले बताए । ‘कोरोनाको पहिलो र दोस्रो लहरमा हामी जसरी सक्रिय भएका थियौं अहिले छैनौं,’ चौलागाईंले भने । उनले संक्रमित बढेपछि अब कसरी अगाडि बढ्ने भनेर स्थानीय तहबीच समन्वय हुन बाँकी रहेको बताए ।

संक्रमितको पहिचान गरी आवश्यक उपचार गर्न प्रदेशको १३ जिल्लामध्ये रसुवाबाहेक सवैमा स्वाब परीक्षण गर्न पीसीआर ल्याब स्थापना गरिएको मन्त्रालयको दाबी छ । रसुवामा पीसीआर ल्याबको आवश्यकता नदेखिएका कारण स्थापना नगरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अक्सिजनको अभाव नहोस् भनेर १२ वटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्टको स्थापना गरिसकेको उनले बताए । ‘धादिङमा दुईवटा अक्सिजन प्लान्ट रहेका छन् । जसमध्ये एउटा रसुवामा जोड्ने तयारी भइरहेको छ,’ प्रवक्ता अधिकारीले भने । उनका अनुसार रसुवामा संक्रमितको संख्या ज्यादै न्यून रहेको र अक्सिजनको माग पनि नभएका कारण प्लान्ट स्थापना गर्न ढिलाइ गरिएको हो ।

बालबालिकाले खोप पाएनन्

सिन्धुली जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीले अझै कोरोनाविरुद्धको खोप लगाउने सुनिश्चतता पाएका छैनन् । खोप नआएकाले लगाउने टुंगो नभएको स्वास्थ्य कार्यालयले जनाएको छ । नयाँ भेरिएन्ट ओमिक्रोनको सम्भावित जोखिम रोक्न र १८ वर्षमुनिकालाई खोप लगाउन सरकारले माघ १५ गतेसम्म विद्यालय बन्द गरेको छ ।

१२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई नजिकको स्वास्थ्य संस्थामा खोप लगाउन निर्देशन दिए पनि सिन्धुलीमा खोप अझै नआएकाले समस्या भएको स्वास्थ्य कार्यालय प्रमुख जितेन्द्र साहले बताए । पहिलो चरणमा खोप लगाउने उक्त उमेर समूहका विद्यार्थीको संख्या जिल्लामा ४० हजार ७ सय रहेको आंकलन छ । जिल्लाभरका सरकारी तथा निजी विद्यालयबाट तथ्यांक संकलन गरी सबै तयारी पूरा भए पनि खोपको मात्रा नै नभएपछि अन्योल भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : पुस ३०, २०७८ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?