कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

पानी नरोकिँदासम्म सिरिजंगा गाउँपालिकाका विद्यालय बन्द

विद्युत मर्मत ढिलो हुँदा प्रभावित क्षेत्र सञ्चारविहीन 
आनन्द गौतम

ताप्लेजुङ — सिरिजंगा गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहानले पानी पर्ने क्रम नरोकिएसम्म पालिका क्षेत्रका विद्यालयमा पठनपाठन नगर्न निर्देशन दिएका छन् ।

पानी नरोकिँदासम्म सिरिजंगा गाउँपालिकाका विद्यालय बन्द

पालिकामा अधिक वर्षा भइरहेको र बाढी पहिरोको जोखिम रहेको हुँदा विद्यालय सञ्चालन नगर्न उनले प्रधानाध्यापक र विद्यालय ब्यवस्थापन समितिलाई अनुरोध गरेको बताए ।

गाउँपालिका शिक्षा समितिका अध्यक्ष समेत रहेका उनले वर्षाका कारण गाउँमा पहिरो चल्ने, सडक अवरुद्ध हुने, जस्ता विपद् भएको हुँदा यतिबेला बालबालिकालाई घरमै राख्न अनुरोध गरेको बताए । सिनाम माध्यमिक विद्यालयले आइतबार विहान अधिक वर्षा भएपछि स्कुल आउने गौंडा गौंडामा फोन गरेर विद्यार्थीहरु फर्काएको थियो ।

शिक्षक तुलसी पोख्रेलले अधिक वर्षा भएकाले विद्यार्थीहरुलाई स्कुल नआउन अनुरोध गरिएको बताए । ‘टोल/टोलमा फोन गरेर अभिभावकलाई भन्यौं, अनि गौंडा/गौंडाबाट पनि फर्कायौं,' पोख्रेलले भने । शुक्रबार बेलुकादेखिको वर्षाले सिरिजंगा गाउँपालिका-६ मामांखे, वडा नं. ७ को खेवाङ र वडा नं. ८ को याम्फुदिन प्रभावित भएका छन् ।

यता विद्युतको केन्द्रीय प्रशारण लाइन नहुँदा शनिबार बेलुकादेखि पालिका सञ्चार सम्पर्कविहीन भएको छ । ‘पालिकाभरि विद्युतको राष्ट्रिय प्रशारण लाइन जोडिएको छ, हिजोदेखि बिजुली नहुँदा टेलिफोनको टावर चलेको छैन,’ पालिका अध्यक्ष चौहानले भने, ‘विद्युत प्राधिकरणलाई चाँडो बनाइदिन सबैले अनुरोध गरिदिनुपर्‍यो ।’

विद्युत तत्काल बनाइदिन पालिकाको तर्फबाट पनि अनुरोध गरिएको उनले बताए । विद्युत वितरण केन्द्र ताप्लेजुङका प्रमुख सुरेश चौधरी भने अमरपुरको १३३ केभीए प्रशारण लाइनमा समस्या भएकाले मर्मतको काम भइरहेको बताए । प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य विद्युत सञ्चालनका लागि आफूले समन्वय गरिरहेको बताए ।

‘मैले विद्युतको हाकिमसाबलाई भनेको छु, प्राविधिक टोलीले काम गरिरहेको सुचना आएको छ,’ आचार्यले भने ।

प्रकाशित : असार २, २०८१ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x