कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

कोशी प्रदेश : विश्वासको मतमा जसपा तटस्थ बस्ने

देवनारायण साह

मोरङ — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार प्रदेशसभाबाट लिने भनिएको विश्वासको मतको प्रस्तावमा सत्तारुढ गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टी (जसपा) ले तटस्थ बस्ने निर्णय गरेको छ ।

कोशी प्रदेश : विश्वासको मतमा जसपा तटस्थ बस्ने

जसपाका कोशी प्रदेश अध्यक्ष दीपक याख्खाले विज्ञप्ति जारी गरी प्रदेशको पुनः नामकरण नहुन्जेलसम्म प्रदेशसभामा पक्ष र विपक्षमध्ये कुनै मतदान प्रक्रियामा सहभागी नभई तटस्थ बस्ने बताएका छन् । प्रदेशको नामकरण र त्यसविरूद्धको आन्दोलनमा एमालेले निर्वाह गरेको भूमिका र माओवादी र कांग्रेसमाथि विश्वास गर्ने अवस्था नभएकाले तटस्थ बस्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त निर्णयका आधारमा आफू विश्वासको मतको प्रस्तावमा तटस्थ बस्ने जसपाकी प्रदेश सांसद निर्मला लिम्बूले बताइन् । उनी मत विभाजन प्रक्रियामा सहभागी नहुँदा ९३ सदस्यीय प्रदेशसभामा विश्वासको मतको पक्षमा ४६ र विपक्षमा ४५ मत मात्रै हुने सम्भावना छ । गठबन्धन दलमध्येका कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी)को संयुक्त बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्की नेतृत्वको सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि कोशी प्रदेश सरकार अल्पमतमा परेको हो ।

प्रतिपक्षमा कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ गरी ४६ सांसद र तटस्थ एक सांसद बस्ने भएका छन् । मत बराबर भएको अवस्थामा मात्रै सभामुखले मतदान गर्न पाउने भएकाले विश्वासको मतको प्रस्तावको पक्षमा एमाले र राप्रपाका गरी ४६ र विपक्षमा गठबन्धन दल जनता समाजवादीबाहेक ४५ सांसद मात्रै हुने सम्भावन बढेको छ ।


प्रकाशित : असार १४, २०८० १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?