तमु ल्होसार हाफ म्याराथनको उपाधि दिवसलाई- कोशी - कान्तिपुर समाचार

तमु ल्होसार हाफ म्याराथनको उपाधि दिवसलाई

आनन्द गौतम

ताप्लेजुङ — तमु ल्होसार २०७९ को अवसरमा आयोजित पुरुष हाफ म्याराथन प्रतियोगिताको उपाधि दिवस लिम्बूले जितेका छन् । पुरुषतर्फका ३१ प्रतिस्पर्धीलाई पछि पार्दै फक्ताङलुङ गाउँपालिका ३ लिंखिमका दिवसले १ घण्टा १५ मिनेटमा निर्धारित दूरी पार गर्दै उपाधि हात पारेका हुन् । 

१ घण्टा १८ मिनेटमा दुरी पार गरेका फक्ताङलुङ गाउँपालिका ३ कै सुगम पतंवा लिम्बू दोस्रो र १ घण्टा १९ मिनेट समय लगाएका मैवाखोला गाउँपालिका १ ढुङ्गेसाँघुका दीपेन्द्र सुजी तेस्रो भए । विजेता सबै ताप्लेजुङकै भएको आयोजकले बताएको छ ।

उनीहरूलाई तोक्मे डाँडास्थित नेपाली सेनाको गुल्मदेखि सदरमुकाम फुङलिङबाट गुम्बाडाँडा सुकेटार हुँदै तोक्मे ब्यारेकसम्म दौडाइएको थियो । उनीहरूले क्रमश १२, १० र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

नौ किलोमिटर महिला दौड प्रतियोगिताको उपाधि भने पेम्बा ल्हामु शेर्पाले जितेकी छन् । मिक्वाखोला गाउँपालिका ३ लिवाङकी उनले ५३ मिनेट ५७ सेकेन्डमा निर्धारित दुरी पार गरिन् । त्यस्तै फुङलिङ नगरपालिका ९ हाङदेवाकी आरति गुरुङ दोस्रो भइन् । उनले ५६ मिनेट ५१ सेकेन्डमा दुरी पार गरिन् भने मिक्वाखोला ३ कै ङिमाजाङमु शेर्पाले ५९ मिनेटमा दुरी पार गरी तेस्रो स्थान हासिल गरिन् । महिलातर्फ प्रथमले ८, द्वितीयले ४ र तृतीयले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

तमु ल्होसार आयोजक समितिका सदस्य राजन गुरुङका अनुसार ल्होसारको अवसरमा पुरुष भलिबल, पुरुष हाफ म्याराथन, महिला दौड, चेसलगायत खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रकाशित : पुस १४, २०७९ १४:५९
प्रतिक्रिया
पठाउनुहोस्

नदीमा बने हिउँदे पुल

आनन्द गौतम

ताप्लेजुङ — फक्ताङलुङ गाउँपालिका–१ खेजेनिमका जगन पौडेल बर्सेनि हिउँदमा पुल निर्माणमा सहभागी हुन्छन् । उमेरले चार दशक पुग्नै लागेका उनको पाँच वर्षअघि र त्यसपछिका वर्षको पुल बनाउने शैली भने फरक छ ।

पहिला गाउँले भाषामा ‘फड्के’ भनिने मान्छे मात्रै तर्ने पुल बनाउन सहभागी हुनुपर्थ्यो । त्यो पुरै जनश्रमदानमा आधारित थियो । अहिले गाउँपालिकाको सहयोगमा गाडी गुड्ने पुल बनाउनुपर्छ ।

टिप्ताला भञ्ज्याङ उद्गम स्थल भएर बहने तमोर नदी फक्ताङलुङ गाउॅपालिका पछि फुङलिङ नगरपालिकामा प्रवेश गर्छ । फुङलिङ भएर बहने क्षेत्रमा स्थायी सरचनाका पुलहरू छन । स्थायी पुल नभएकाले फक्ताङलुङले भने बर्सेनि तीन ठाउॅमा अस्थायी पुल बनाउँछ ।

सदरमुकाम फुङलिङबाट लिंखिम, तापेथोक हुॅदै गाउँपालिकाको केन्द्रसम्म यातायात चल्छ । यही गाउँपालिकाका १, २, ४ र ५ नम्बर वडा तमोर नदीले छुट्याउँछ । यी वडालाई जोड्न अस्थायी पुल बनाउनुपरेको गाउँपालिका अध्यक्ष राजन लावुङ बताउँछन् ।

गाउँपालिकाको वडा–१ को सावादिन, २ को खेजेनिम र ३ को लिंखिमलाई जोड्ने सिंवामा एउटा पुल बनाउने गरिएको छ । फक्लालुङ–४ को इखावुलाई ३ को लिंखिम र ५ को तापेथोक जोड्न छिरुवाको पुलचोकमा अर्को र तापेथोक–इखावु तथा लेलेप जोड्न तापेथोकमा अर्को पुल बनाउने गरिएको छ । लेलेप हुॅदै वडा ७ को ओलाङचुङगोलातर्फ जाने मुख्य राजमार्गमा भनें जलविद्युत कम्पनीले गतवर्ष पक्की पुल बनाए पछि यहाँ बनाउनुपरेको छैन । अघिल्लो वर्षसम्म रानीपुल भन्ने स्थानमा पनि अस्थायी पुल बनाउने गरिएको थियो ।

यी पुल निर्माणपछि ओलाङचुङगोला बाहेकका सबै वडामा गाडी पुगेको गाउँपालिकाले जनाएको छ । ‘नदीमा पानी घटेपछि मंसिर अन्तिममा बनायौं,’ अध्यक्ष लावुङले भने, ‘ठूलो पानी परेर बाढी नआएसम्म चल्छ ।’

सामान्यतया जेठ अन्तिमसम्म चल्ने गरेको जगन बताउँछन् । यो अवधिमा गाउँकाले फलाएका अलैंची, जडिबुटी, तरकारी, फलफूललगायत वस्तु बाहिर पठाउन र खाद्यान्न लगायतको ल्याउने गर्छन् । गाउँमै गाडी पुग्दा ढुवानी र आवतजावतमा सहजता हुन्छ । ‘चार वर्षअघि प्राक्टिसका लागि सिंवामा समुदायले नै बनायौं,’ खेजेनिमका लक्ष्मी अङछङ्वोले भने, ‘लागत ठूलो हुने र सबै गाउॅका स्थानीयका लागि धान्न कठिन भए पछि गाउँपालिकाले आवश्यक ठाउँमा बनाइदिन थालेको छ ।’

यो वर्षदेखि गाउँपालिकाले आफ्नै एस्काइभेटर प्रयोग गरेर काम गरेको अध्यक्ष लावुङ बताउँछन् । ‘काठ, काँटीलगायतका सामान किन्यौं र श्रमिकलाई पारिश्रमिक दियौं,’ लावुङले भने, ‘ठ्याक्कै हिसाब आइसकेको छैन, सम्भवतः एउटाको दुई अढाई लाख रुपैयाँ आउन सक्छ ।’

गत वर्ष चीन सरकारले गाउँपालिकालाई निःशुल्क एस्काइभेटर दिएको छ । पालिकाले तेल हालेर चलाइरहेको उनले बताए । सरोज एभेङ नेतृत्वको पालिकाले पहिलो वर्ष लगानी गरेर पुल बनाउँदा कतिपयले आलोचना गरेका थिए । तर नागरिकहरूले पुलको बजेट अनिवार्य हुनुपर्ने माग गरेपछि वार्षिक बजेटमा राख्ने गरेको थियो । चार पुल बनाउन १५ लाख रुपैयाँ छुट्याउने गरेको तथ्यांक गाउँपालिकासँग छ ।

प्रकाशित : पुस १३, २०७९ ०८:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×