मुन्दुम ट्रेलमा बढे पदमार्गी

डम्बरसिं राई

खोटाङ — किराती मिथकमा आधारित मुन्दुम पदमार्गमा पदमार्गीको संख्या बढेको छ । अघिल्लो वर्षको तुलनामा पदमार्गीको संख्या तेब्बरले बढेको हो । गत दसैं-तिहारको बीचपछि मात्र देशी–विदेशी गरी करिब ४ हजारभन्दा बढीले पदयात्रा गरेको उक्त पदमार्गमा पर्ने गोठस्टेका अध्यक्ष दुर्गाधन राईले बताए ।

मुन्दुम ट्रेलमा बढे पदमार्गी

यसमध्ये अमेरिका, स्विट्जरल्यान्ड, जोर्डन र चीनका पदयात्री पनि थिए । ‘यो वर्ष पदमार्ग गर्नेको संख्या निक्कै बढेको छ‚’ राईले भने‚ ‘दसैं-तिहारदेखि करिब ४ हजारभन्दा बढीले पदयात्रा गरिसकेका छन् ।’

नेपालीहरुमा पनि घुम्नुपर्छ भन्ने धारणा विकास हुनुका साथै सूचना तथा प्रचारका कारण पनि आन्तरिक पदमार्गीको संख्या बढेको राई बताउँछन् । गत वर्ष करिब २५ सयले मात्र पदयात्रा गरेको राई सुनाउँछन् । गत वर्षहरूमा कोरोना संक्रमणका कारण पदयात्री नआएको उनको भनाइ छ । यो वर्ष गुरास फुल्ने बेलासम्म करिब दस हजारभन्दा बढीले पदयात्रा गर्ने अनुमान गरिएको मैयु टेम्के सालपा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेशकुमार राईले बताए । ‘प्रचारप्रसारले पदमार्गी बढेको हो‚’ राईले भने‚ ‘यो वर्ष दस हजारभन्दा बढीले पदयात्रा गर्ने अनुमान गरिएको छ ।’

योबाहेक सालपा धार्मिकस्थलमा जानेको संख्या भने गणना गरिएको छैन । कात्तिके पूर्णिमा, बैसाखे पूर्णिमा, जनैपूर्णिमामा तीर्थालु जाने गरेका छन् । ‘सालपा धार्मिकस्थलमा जानेको संख्या हिसाबमा छैन‚’ राईले भने‚ ‘यो हिसाब गर्ने हो भने पदयात्रीको संख्या करिब १५ हजारको हाराहारीमा पुग्ला ।’

यो सरकारको सय गन्तव्यको सूचीमा परेको पदमार्ग हो तर यसको निर्माण भने अलपत्र पर्दा समस्या आएको राई बताउँछन् । गत वर्ष प्रदेश सरकारको ५० लाख रुपैयाँ फ्रिज भएको र यो वर्ष पनि ५० लाख रुपैयाँ विनियोजन भए पनि सरकार प्रदेश सरकार नबनेकाले काम सुरु हुन नसकेको राईले सुनाए । ८८ किलोमिटरमध्ये ६२ किलोमिटर पदमार्ग भने स्थानीय, प्रदेश र स्विस सरकारको साझेदारीमा निर्माण भइसकेको छ । बाँकी भने निर्माणाधीन अवस्थामै अलपत्र परेको छ ।

प्रदेश सरकारले परियोजना स्वीकृतमा ढिलाइ गर्दा गत वर्ष काम हुन नसकेको हो । बेलामा परियोजना स्वीकृत नभएपछि गत वर्ष स्विस सरकार उक्त परियोजना निर्माणमा सहभागी हुन नपाउँदा काम हुन नसकेको हो । स्विस सरकारको सहभागिता नहुँदा स्थानीय तहहरूले पनि बजेट विनियोजन नगरेपछि काम अलपत्र परेको हो । खोटाङ, भोजपुर, संखुवासभा र सोलुखुम्बु जिल्लालाई आधार बनाएर निर्माण थालिएको पदमार्गमध्ये खोटाङको केपिलासगढी गाउँपालिका, भोजपुरको टेम्केमैयुङ गाउँपालिका र सालला सिलिचुङ गाउँपालिकामा काम अपूरै छ ।

खोटाङको केपिलासगढी गाउँपालिकामा पनि गत आर्थिक वर्षमा काम हुन सकेन । राजनीतिक परिस्थितिले बेलामा सम्झौता हुन नसक्दा काम हुन नसकेको गाउँपालिका अध्यक्ष समीर राईले बताए । यो वर्ष भने काम हुने उनको दाबी छ । उक्त पालिकामा पर्ने १४ किलोमिटरमध्ये १५ प्रतिशतमात्र काम सकिएको छ ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको ३१ किलोमिटर पदमार्ग बनाउँनुपर्नेमा करिब १९ किलोमिटर मात्र बनेको छ । यो पदमार्ग खण्डका लागि विनियोजित ३ करोड ५० लाखमध्ये ३ करोड ३३ लाख रुपैयाँ खर्च भएको छ । भोजपुरकै सालपा सिलिचुङ गाउँपालिकामा पनि पदमार्ग निर्माणको काम अपूरै छ । उक्त गाउँपालिकामा पर्ने १२ किलोमिटरमध्ये ८ किलोमिटर पदमार्गको काम सकिएको छ । यसका लागि विनियोजन भएको २ करोड ८१ लाखमध्ये २ करोड २ लाख रुपैयाँ खर्च भएको छ ।

भोजपुरको भोजपुर नगरपालिकामा साडे १२ किलोमिटर पदमार्ग बनेको छ । यसका लागि विनियोजित एक करोड २० लाखमध्ये एक करोड १८ लाख रुपैयाँ खर्च भएको साकेला गाउँपालिका निवर्तमान अध्यक्ष अर्जुनकुमार खड्काले बताए ।

यो परियोजना स्विस सरकारको ३५ प्रतिशत, प्रदेश सरकारको ३५ र स्थानीय सरकारको ३० प्रतिशत लगानीमा निर्माण भएको हो । यसमध्ये अहिलेसम्म करिब १३ करोड ५५ लाख ६१ हजार खर्च भएको छ । यसमा प्रदेशको चार करोड, स्विसको ६ करोड ९ लाख ७६ हजार र विभिन्न स्थानीय सरकारको तीन करोड ४५ लाख ८४ हजार खर्च भएको छ । यसमध्ये स्विसको ४५, प्रदेशको ३० र स्थानीय सरकारको २५ प्रतिशत खर्च भएको छ ।

परियोजनाको सुरुमा ११ करोड ४२ लाख ८४ हजारको बजेट तथा कार्यक्रम तय गरिए पनि स्विसले दुई करोड रकम थपेर खर्च गरेको हो । तीन पक्षको बजेट तथा कार्यक्रमबाहेकका काममा स्विस सरकारले खर्च गरेको हो । उसले भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, टेम्के मैयुङ र साकेला गाउँपालिकामा खर्च गरेको थियो । उक्त पालिकाहरूमा पर्ने मुन्दुम ट्रेलमा चौतारा, खानेपानी, संकेत बोर्डहरूलगायतमा स्विसले खर्च गरेको हो । यो परियोजनामा ११ सय १२ जनाले ६५ हजार चार सय ५६ श्रमदिन काम गरेका थिए ।

सगरमाथा (चोमालुङ) चुचुरोमा पहिलो पाइला टेकेका तेञ्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले २०१० सालमा यही पदमार्गमा पदयात्रा गरेको र यसैको एउटा अंशको रुट भएकाले यसैलाई मुन्दुम पदमार्गको रुपमा विकास गरिएको राई बताउँछन् ।

प्रकाशित : मंसिर २८, २०७९ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?