कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुटपिट आरोपमा पक्राउ परेका कांग्रेस नगर सभापति श्रेष्ठ धरौटीमा छुटे

रमेशचन्द्र अधिकारी

धनकुटा — कुटपिटको आरोपमा पक्राउ परेका नेपाली कांग्रेस धनकुटा नगर समिति सभापति नरेश श्रेष्ठसहित दुई जना धरौटीमा छुटेका छन् । जिल्ला अदालतमा हाजिर गराइएका श्रेष्ठ र शाह बुधबार जनही ४० हजार रुपैयाँ धरौटीमा छुटेका हुन् । उनीहरुको मुद्दा अदालतमा विचाराधिन छ । 

धनकुटा नगरपालिका-६ पाङसिङका राजन कार्कीमाथि गत मंसिर ८ गते आक्रमण भएको थियो । कुटपिटबाट घाइते कार्कीले ज्यान मार्ने उद्योगमा नगर सभापति श्रेष्ठ र सदस्य शिवपुजन शाहविरुद्ध किटानी उजुरी गरेका थिए । सोही आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

कुटपिटबाट गम्भीर घाइते कार्की एमाले कार्यकर्ता हुन् । निर्वाचनमा भोट नदिएको प्रतिशोधमा आफूमाथि श्रेष्ठ र साहले कुटपिट गरेको कार्कीको आरोप छ । दुवैविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको पक्राउ गरी अदालतमा हाजिर गराइएको जिल्ला प्रहरी प्रमुख लक्ष्मीराज अधिकारीले बताए ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एमालेले जितेपछि धनकुटा बजारमा आयोजित विजय र्‍यालीबाट फर्कनेक्रममा कार्कीमाथि धनकुटा-६ सल्लेरीस्थित आँखा अस्पताल नजिक कुटपिट गरेको बताइएको छ । पक्राउ गर्न दबाब दिँदै एमालेको युवा संघ र झुटो आरोप लगाइएको भन्दै कांग्रेस निकट तरुण दलले केही दिन पहिले प्रदर्शन गरेका थिए ।

प्रकाशित : मंसिर २१, २०७९ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?