कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोरङमा यसपटक झन् बढी बदर

अघिल्लो प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भन्दा यसपटक बढ्यो ०.६५ प्रतिशत
देवनारायण साह

मोरङ — अघिल्लो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनभन्दा यसपटक मोरङमा बदर मतको संख्या बढेको छ । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बदर भएको ५.३० प्रतिशत मत यसपटक वृद्धि भएर ५.९५ प्रतिशतमा पुगेको छ । 

मोरङमा यसपटक झन् बढी बदर

मुलुकमै सबभन्दा बढी मतदाता ७ लाख ३५ हजार ५ सय २५ रहेको मोरङस्थित ६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा खसेको मत ४ लाख ८५ हजार ४ सय ९९ (६६.०१ प्रतिशत) मा २८ हजार ८ सय ६५ (५.९५ प्रतिशत) मत बदर भएको प्रदेश १ निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । यस्तै, प्रतिनिधिसभाको समानुपातिकतर्फ खसेको ४ लाख ८३ हजार ५ सय ३२ (६५.७४ प्रतिशत) मतमा २७ हजार २८ (५.९५ प्रतिशत) मत बदर भएको उक्त कार्यालयले जनाएको छ । प्रतिनिधिसभा निर्वाचनतर्फ ६ वटै क्षेत्रमा महिला ११ र पुरुष ९४ गरी १ सय ५ ले उम्मेदवारी दिएका थिए । यसमा ४४ स्वतन्त्र उम्मेदवार थिए ।

यस्तै, १२ वटा निर्वाचन क्षेत्र रहेको प्रदेशसभामा खसेको ४ लाख ८४ हजार ८ सय ४५ (६५.९२ प्रतिशत) मतमध्ये २१ हजार ७ सय ८३ (४.४९ प्रतिशत) बदर भएको छ । प्रदेशसभाको समानुपातिकतर्फ खसेको ४ लाख ८३ हजार ९ सय ५८ (६५.८० प्रतिशत) मतमध्ये ३७ हजार ४७ (७.६६ प्रतिशत) मत बदर भएको उक्त कार्यालयले जनाएको छ । प्रदेशसभातर्फको १२ वटै निर्वाचन क्षेत्रमा महिला ९ र पुरुष १ सय १ गरी १ सय १० उम्मेदवारमध्ये २६ जना स्वतन्त्रबाट उठेका थिए ।

२०७४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मोरङमा खसेको ४ लाख ६५ हजार ६४ मतमध्ये २४ हजार ६ सय ४४ (५.३० प्रतिशत) मत बदर भएको थियो । यस प्रदेशस्थित प्रदेशसभा सदस्य निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचनभन्दा कम मत बदर भएको थियो । प्रदेशसभा सदस्यमा खसेको २० लाख २० हजार ४ सय ३५ मध्ये ८८ हजार ९ सय ९८ (४.४० प्रतिशत) मत बदर भएको थियो ।

यस प्रदेशस्थित गत १ सय ३७ स्थानीय तहमा निर्वाचनमा ३३ लाख ४७ हजार ३ सय ८४ मतदातामध्ये २२ लाख ९० हजार ६ सय ९ जनाले मतदान गरेका थिए । यसमध्ये यस प्रदेशको एकमात्र महानगरपालिका विराटनगरमा प्रमुखमा २४ र उपप्रमुखमा ३८ प्रतिशत मत बदर भएको थियो । उपप्रमुख पदमा विजयी उम्मेदवारले पाएको भन्दा बढी मत बदर भएको थियो । उपप्रमुखमा २५ हजार ६ सय ८० मत ल्याएर एमालेकी शिल्पा निराला कार्की विजयी हुँदा ३४ हजार १ सय ७६ मत बदर भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । महानगर प्रमुखमा कांग्रेसका नागेश कोइराला ३० हजार १ सय ७० मत ल्याएर विजयी हुँदा २१ हजार ३ सय ५८ मत बदर भएको थियो । २०७४ को स्थानीय तह निर्वाचनमा पनि २४.६ प्रतिशत मत बदर भएको थियो ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कश्यप अधिकारीले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा बदर मतको संख्या बढेको स्विकारेका छन् । एउटा वडामा एक जना महिला स्वास्थ्य स्वयंसेविकाले टोलटोलमा गएर स्थानीयलाई भेला गराएर मतदानको तरिका सिकाउने मात्रै कार्यक्रम रहेकाले मतदाता शिक्षा खासै प्रभावकारी नभएको अधिकारी पनि स्विकारे । उनले मतदाता शिक्षा घरघरमा गएर दिने कार्यक्रम भएको भए बढी प्रभावकारी हुने थियो तर त्यस्तो कार्यक्रम नभएकाले बदर मतको संख्या बढेको सुनाए । महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक डा. वेदराज आचार्यले निर्वाचन आयोगले नाममात्रको मतदाता शिक्षा सञ्चालन गरेर विधि मात्रै पुर्‍याउने गरेको हुँदा बदर मतको संख्यामा वृद्धि भएको बताए । मतदाताको मत बदर भएर सम्प्रभुताको अधिकारबाट वञ्चित भएकाले मतदाताको मत बदर हुन नदिने व्यवस्था गर्नु राज्यको दायित्व भएको उनको भनाइ थियो । मतदाताको मत बदर हुन नदिन राजनीतिक दलहरू पनि जिम्मेवार भएको उनले बताए ।

प्रकाशित : मंसिर १३, २०७९ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?