प्रदेश १ मा समानुपातिकतर्फ एमाले अगाडि- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १ मा समानुपातिकतर्फ एमाले अगाडि

कान्तिपुर संवाददाता

मोरङ — प्रदेश १ स्थित प्रदेशसभाको ५६ निर्वाचन क्षेत्रमध्ये ४९ वटा क्षेत्रमा समानुपातिकतर्फको मतगणना सम्पन्न हुँदा एमाले पहिलो स्थानमा छ । कांग्रेस दोस्रो, राप्रपा तेस्रो, माओवादी केन्द्र चौथो, जनता समाजवादी पार्टी (जसपा) पाँचौं र नेकपा (एकीकृत समाजवादी) छैटौँ स्थानमा छन् ।

यस प्रदेशको निर्वाचन आयोगको सूचना प्रणालीमा सोमबार साँझसम्म प्रविष्ट भएको १७ लाख १० हजार ९ सय ९७ समानुपातिक मतमध्ये एमालेले ५ लाख ९८ हजार १ सय ८०, कांग्रेसले ५ लाख १ हजार ७ सय ३ मत प्राप्त गरेको छ । यस्तै, राप्रपाले १ लाख ८२ हजार ८ सय ९८, माओवादी केन्द्रले १ लाख ६७ हजार ६ सय २६, जसपाले ५५ हजार २ सय ७६, एकीकृत समाजवादीले ५० हजार ८ सय ४९ मत प्राप्त गरेको हो ।

यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले २६ हजार २८, मंगोल नेसनल अर्गनाइजेसनले २४ हजार ६ सय ८५, हाम्रो नेपाली पार्टीले २३ हजार १ सय ७८ र जनमत पार्टीले २१ हजार ३ सय ३७ मत प्राप्त गरेको छ । पहिलो प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फको १७ लाख ३६ हजार ७ सय ९ सदर मतमध्ये ६ लाख ७३ हजार ७ सय ९ मत ल्याएर लमालेले १५, कांग्रेसले ५ लाख ८६ हजार २ सय ४६ मत ल्याएर १३ प्रदेश सांसद पाएका थिए । यस्तै, पहिलो प्रदेशसभामा २ लाख ६ हजार ७ सय ८१ मत ल्याएर माओवादी केन्द्रले ५, तत्कालीन संघीय समाजवादी फोरम हालको जनता समाजवादी पार्टीले ७० हजार ४ सय ७६ मत ल्याएर २, राप्रपाले ५७ हजार ३ सय ४२ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले २६ हजार १ सय २३ मत ल्याएर १/१ वटा समानुपातिक प्रदेश सांसद पाएका थिए ।

यस पटक समानुपातिकतर्फ दलहरूले प्राप्त गरिरहेको मतका आधारमा एमालेले १३/१४, कांग्रेसले ११/१२, राप्रपाले ४, माओवादी केन्द्रले ३, जनता समाजवादी पार्टीले २, एकीकृत समाजवादीले २ र संघीय लोकतान्त्रिक वा मंगोल नेसनल अर्गनाइजेसनमध्येले एउटा प्रदेश सांसद पाउने देखिएको छ । यस प्रदेशको कुल ३३ लाख ९६ हजार ८ सय ६५ मतदातामध्ये ६०.४९ प्रतिशतले भोट खसालेका थिए । यस प्रदेशस्थित ५६ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ५३ क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको हो । एमालेले २४, कांग्रेस १५, माओवादी केन्द्र ९, नेकपा (एकीकृत समाजवादी) ३ र राप्रपाले २ वटा क्षेत्र जितिसकेका छन् । बाँकी रहेको ३ क्षेत्रमध्ये कांग्रेस २ वटा क्षेत्रमा जित निकट रहेको र एमाले एउटा क्षेत्रमा अगाडि छ ।

९३ सदस्यीय पहिलो प्रदेशसभामा एमालेले ५१, कांग्रेसले २१, माओवादी केन्द्रले १६, जसपाले ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एउटा प्रदेश सांसद जितेका थिए । यस पटक सरकार गठनका लागि सत्ता र एमाले गठबन्धनलाई चुनौतीपूर्ण देखिएको छ ।

प्रकाशित : मंसिर १३, २०७९ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्

रवि, तपाईंको राजनीति के हो ?

नयाँ दल र तिनका नेताहरूका विचार– व्यवहार पनि लामो समयदेखि कुशासन चलाउने पुराना यथास्थितिवादी दलपतिका आचरणभन्दा कति भिन्न होलान् ? समता, समावेशिता, संघीयता, धर्मनिरपेक्षताका मामिला झन् पश्चगामी त छैनन् ?
राजेन्द्र महर्जन

‘पार्टनर, तुम्हारी पालिटिक्स क्या है ?’ हिन्दी भाषाका प्रखर कवि मुक्तिबोध सत्तासीन र शक्तिशालीसामु उठाउने खरो प्रश्न हो यो । भारतमा ६ दशकअघि उठाइएको यो सवाल अहिले झन् बेसी जवाफको खोजीमा छ । त्यही बेला फ्रान्समा व्यापक आन्दोलन गर्ने विद्यार्थीहरूले पनि सवाल उठाएका थिए- तिमी कसको पक्षमा छौ ?

यस्तै सवाल नेपालमा आफूलाई संस्थापन समूह वा वैकल्पिक शक्ति भन्न चाहने व्यक्ति/शक्तिका अगाडि उठाउनु जरुरी छ । प्रतिनिधिसभाको निर्वाचनबाट उदाएका व्यक्ति/शक्तिहरूले पनि उत्तर दिनुपर्छ- आफ्नो नीति के हो, नीतिमध्येको नीति राज–नीति के हो ? हिजोसम्म सञ्चार माध्यम र सडकबाट सवाल उठाउनेहरूले सदनमा पुगेपछि जवाफ दिनुपर्ने हुन्छ- आफ्नो राजनीतिक दर्शन, मूल्य–मान्यता के हो ?

ब्यालेट बक्सबाट उदाएका दल

नीति–हीनता नै राजनीति हुने जमानामा राजनीतिक पक्षधरता पनि लुकाईकन सत्ता–शक्तिको राजनीति हुँदै आएको छँदै छ । कांग्रेस, एमाले, माओवादी वा अन्य स्थापित दल र तिनका दलपतिले जेजस्तो पुरातन र यथास्थितिवादी राजनीति गरे, त्यसैको सिको गर्ने हो भने वैकल्पिक वा नयाँ शक्तिको दाबी नै बेइमानीपूर्ण हुन्छ । होइन, उनीहरूले त्यसभन्दा भिन्न, उन्नत, लोकतान्त्रिक र समतामूलक समाज बनाउन चाहेका हुन् भने आफ्नो लक्ष्य, उद्देश्य र कार्यक्रमसहित राजनीतिक प्रस्टता आवश्यक हुन्छ । मंसिर ४ को निर्वाचनपछि पनि सत्ता राजनीतिमा तीन ठूला दलको प्रभुत्वबीच उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी आफैंमा पनि राजनीतिक पार्टी कत्तिको बने ? ‘बा’ र ‘दाइ’ हरूको प्रभुत्व, तिनका प्राइभेट कम्पनीजस्ता पार्टीहरूको सञ्चालन अनि सरकारमा हुँदा तिनका कुशासनबाट वाक्क भएका जनमतको आधारमा बनेका यी पार्टी तिनै दलभन्दा कहाँ कति भिन्न होलान् ? एकापसमा अपरिचित व्यक्तिहरू, व्यक्ति–केन्द्रित समूह वा भिन्नाभिन्नै विचारका व्यक्ति मिलेर बनेका समूहबाट कति हदसम्म राजनीतिक पार्टी बनेका छन् वा बन्दै छन्, विचारणीय छ । उदाहरणका रूपमा, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार र विजेताहरू एकआपसमा दोहोरो परिचय समेत नभएको अवस्थामा उनीहरूलाई एउटै विचार, सिद्धान्त र राजनीतिको गाँठोले बाँधिएका नेता–कार्यकर्ता भन्न कसरी सकिएला ? प्रश्न ज्युँदोजाग्दो छ ।

कृष्ण हाछेथूका अनुसार, नेपालमा धेरैजसो राजनीतिक दलको जन्म राजनीतिक आन्दोलनको उपजको रूपमा भएको छ । यस निर्वाचनपछि भने चुनावबाट र चुनावका लागि पनि पार्टीहरूको निर्माणसँगै स्थापित पनि हुने क्रम बढेको छ । यस्ता दल र तिनका नेताहरूका विचार–व्यवहार पनि लामो समयदेखि कुशासन चलाउने पुराना यथास्थितिवादी दलपतिका आचरणभन्दा कति भिन्न होलान् ? समता, समावेशिता, संघीयता, धर्मनिरपेक्षताका मामिला झन् पश्चगामी त छैनन् ? नयाँ राजनीतिक शक्तिप्रति आशावादी जनमतको घेरा बढेसँगै यस्ता प्रश्नको चौघेरो पनि बढेको छ ।

नेतृत्व र सामाजिक–राजनीतिक पुँजी

कुनै कामै गर्न नपाईकन उनीहरूका आचरणबारे यस्ता प्रश्न सोध्नुलाई जनमतको अपमान ठानिन पनि सक्छ, तर धेरैजसो एक व्यक्ति वा संस्थापकलाई भगवान् वा मसिहा वा महापुरुष मान्ने नयाँ–पुराना दल त्यत्तिकै पनि सवालभन्दा माथि हुन सक्दैनन् । तिनै व्यक्ति वा संस्थापक वा नेताहरूका मुख राजनीति, विचार, सिद्धान्त, दर्शनमा जतातिर फर्के पनि दृष्टिकोण, आचरण र संस्कृतिमा भने उनीहरू खासै फरक नहुन सक्छन् । दलहरू नै भिन्नाभिन्नै भए पनि निश्चित हित र स्वार्थ अलग–अलग नभएका उदाहरणको कुनै कमी छैन । यसको नेपथ्यमा उनीहरूले जन्म–जात पाएका भौतिक र अभौतिक संरचना तथा तिनका लाभांशलाई कदापि बेवास्ता गर्न सकिँदैन ।

चाहे आन्दोलनबाट होस् या निर्वाचनबाट, चाहे बुलेटबाट होस् या ब्यालेटबाट, जुनसुकै माध्यमबाट स्थापित दलका दलपतिहरूको व्यक्तित्व र नेतृत्व निर्माणमा, उनीहरूको राजनीतिको केन्द्रमा, उनीहरूको राजनीतिक पक्षधरताको सेरोफेरोमा पनि जन्म–जात पाएका भौतिक र अभौतिक संरचनाले मूल भूमिका खेलिरहेको त छैन ? उदाहरणका लागि, जनताको मतदानबाट घण्टी बजाएको नवीनतम दल राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक अध्यक्ष रवि लामिछानेको सत्ता आरोहणमा उनको जन्म, जन्मसँग जोडिएको जात–थरको विरासत, जात–थरसँग टाँसिएको उनको खस–आर्य समुदायको पहिचान, त्यस समुदायका शासकहरूको भाषामाथि पकडले बलियो भर्‍याङ र खुड्किलाका रूपमा काम गरे कि गरेनन् ? यस्ता सामाजिक–राजनीतिक पुँजीसहितको नयाँ नेतृत्वले जन्म–जात पाएका भौतिक र अभौतिक संरचना तथा तिनका लाभभन्दा बाहिर गएर, त्यसबाट मुक्त भएर भिन्न, उन्नत र लोकतान्त्रिक चिन्तन र जनमुखी काम गर्न सक्छन् ? यसरी प्रश्नमाथि प्रश्न गर्ने क्रममा रवि लामिछाने वा अन्य नेतालाई अब सवाल गर्नुपर्ने हुन्छ- तिम्रा हेराइ, बुझाइ र गराइलाई निर्देशित गर्ने वर्ग र वर्ण के हो दलपति ? ती वर्ग र वर्णबाट मुक्त भएर राज्य र समाजको लोकतन्त्रीकरण गर्न सक्छौ ?

नेतृत्वको वर्ग, वर्ण र वर्चस्व

नेपाली राज्य र समाजको संरचना एवं चरित्र जस्तो छ, तिनको नेतृत्व र वैचारिकीमा पनि त्यसको प्रतिविम्बन हुन्छ । गोर्खा साम्राज्य र त्यसपछिको नेपाली राज्यमा खस–आर्य समुदायका छ–थर (थरघर) राजनीतिक कुलीन पुरुषमा एकाधिकार रहेको महेशचन्द्र रेग्मीको भनाइ छ । लोकराज बराल, कृष्ण हाछेथु र हरि शर्माका अनुसार नेपाली कांग्रेस र एमालेजस्ता ठूला राजनीतिक दलसँगै अधिकांश राजनीतिक दलको नेतृत्वमा

ब्राह्मण–क्षत्रीजस्ता सवर्ण जात–समूहसँगै ‘थजात’ (उपल्लो जात) का नेवाःको प्रभुत्व छ । यसले मुलुकका सामाजिक, आर्थिक, प्रशासनिक मात्रै होइन, राजनीतिक संरचनामा पनि ‘उच्च जात–समूह’ को उच्च उपस्थिति र माथिल्लो हैसियतलाई देखाउँछ । राजनीतिमा पहाडी जात–समूहको प्रभुत्वको जरो कारण हो- समाजलाई हिन्दु वर्णव्यवस्था अन्तर्गत तहगत संरचनामा बाँड्ने जात–व्यवस्था र त्यसलाई लागू गर्ने हिन्दु राज्य ।

त्यसको छाया राजनीतिक नेतृत्वका संरचना र तिनका नीति–नियम–नियतमा देखिन्छ । प्रजापरिषद्, कांग्रेस र नेकपाका संस्थापकका वर्ग, वर्ण र वंश स्रोत हेर्न सकिन्छ । राजेश गौतमका अनुसार प्रजापरिषद्का सदस्यहरू उच्च वर्गका सन्तान थिए । यस पार्टीमा मूलतः ब्राह्मण, क्षत्री र नेवाःको सहभागिता थियो भने शूद्रहरू शून्य थिए । यसका सदस्यहरू राणा सरकारका भारदारका छोरानाति थिए, जो आफ्ना बाबुको मृत्युपछि स्वतः उक्त पदमा जागिरे हुन्थे । सरकार र व्यवस्थाबाट दुःख, गरिबी र शोषणको अनुभूति गर्न नपाएका उनीहरू राणाका सन्तानबाट पाएको अपमान र हीनताबोधका कारण असन्तुष्ट तप्का थिए ।

प्रदीप गिरिको विचारमा राणाकै वरिपरि हुर्किएका, राणाद्वारा नै सेवित र पोषित, तर राणाको राजदरबारमा भूमिका खोसिएर बिदेसिनुपरेका खलकका सन्तान नै कांग्रेसको नेतृत्व–पंक्तिमा थिए । नेकपाका संस्थापक पुष्पलालका अनुसार प्रजापरिषद् र कांग्रेसमा विशेष गरी सहर–बजारका, त्यसमा पनि खास गरी उपत्यकाका तीन सहरका ठूला–साना मध्यमवर्गीय व्यक्ति थिए । यी पार्टीहरू संगठनको परिपाटीमा संगठित नभई नेताहरूकै व्यक्तित्वको आधारमा भुले । राणाशासनको अन्त्यपछि उनीहरूले पुँजीवादी जनतान्त्रिक अधिकार हनन गर्दै राजाको शक्ति मजबुत पार्ने तथा जनवादी शक्तिलाई कमजोर पार्ने कार्यमा अग्रिम भूमिका खेले । अतः ‘नेता प्रधान होइन, नीति प्रधान’ गरी सोच्ने बेला आएको छ ।’

नेकपामा ब्राह्मण पुरुष–सत्ता

पुरानो शासन व्यवस्था र शासक वर्गमा मात्रै फेरबदल गर्ने लक्ष्य राखेका दलमा निश्चित जात समूहका राजनीतिक कुलीन पुरुषको एकाधिकार हुनु अस्वाभाविक होइन । त्यस्तै, तिनीहरूमा राज्य र समाजको आमूल परिवर्तनको एजेण्डा नहुनु र लोकतान्त्रिक संगठन नहुनु पनि स्वाभाविकै हो । तर राज्य र समाजकै आमूल परिवर्तनको उद्घोषका साथ क्रियाशील कम्युनिस्ट पार्टीमा पनि त्यस्तो वर्णीय, लिंगीय र धार्मिक समूहको एकाधिकार कायमै रहनु तथा त्यसलाई संरचना, प्रक्रिया र पद्धतिमा हेरफेर–सुधारबाट तोड्न नखोज्नु विडम्बना नै हो ।

आहुति (विश्वभक्त दुलाल) का अनुसार नेकपा स्थापना गर्ने पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य र नारायणविलास जोशी सबै नै नेवाः समुदायभित्रका हिन्दु ‘उच्च जात’ का सदस्य थिए, पछि गएर ब्राह्मण पुरुष–सत्ता स्थापित भयो । ७० वर्षभन्दा लामो लोकतान्त्रिक प्रक्रियामा क्रियाशील रहेका पार्टीको नेतृत्वको बनोटमा हिन्दु सामन्तवादी संरचनाको प्रत्यक्ष प्रतिविम्ब जबर्जस्त रूपमा देखिँदै आएको छ । यसको एउटा मुख्य कारण राजनीतिक आन्दोलनले हिन्दु सामन्तवादी संरचनालाई ठीक ढंगले निरूपण नगर्नु हो । यस्तो वर्णीय पृष्ठभूमिकै परिणामस्वरूप हिन्दु सामन्तवादी संरचनालाई सही रूपमा पहिचान गर्ने र त्यसलाई परिवर्तन गर्ने संघर्षको मामिलामा पनि समस्या हुँदै आएको छ ।

राजनीतिक नेतृत्वको वर्ग र वर्णको स्रोत तथा त्यस स्रोत, स्रोतजन्य संस्कृतिमाथि आत्मसमीक्षाको अभावका कारण राजनीतिक नेतृत्वको बनोटमा परिवर्तन भएको छैन । परिणामस्वरूप, त्यसका हित, स्वार्थ र आचरण पनि पीडित जनका संगठन र मुद्दासँग बाझिने गरेको पाइन्छ । नेतृत्वको वर्ग–स्रोत र वर्गीय समस्याबीचको अन्तरद्वन्द्वतिर हेक्का राखेका मानवशास्त्री स्टेफन माइकसेलका अनुसार, आम रूपमा उच्च जात, मुख्यतया बाहुन, भूस्वामीहरू र साना व्यापारीहरूका बीचबाट बनेको पार्टी नेतृत्वको सामाजिक वर्ग र त्यसले नेतृत्व गर्ने भनिएका मजदुर वर्ग तथा किसान जनमतबीच अझै पनि गहिरो विभाजन छ । फलतः वर्गसंघर्षसमेत बडो सजिलोसँग आफ्नो वर्गीय शासनको आयोजनामा परिणत हुन सक्छ, जब नेतृत्वका सामाजिक स्वार्थहरू वास्तवमा मजदुर वर्गका हितहरूसँग मेल नखाने हुन्छन् । यस्तो विभाजन र अन्तरद्वन्द्व नेपालमा उत्पीडनसँग जोडिएका दलित, जनजाति, महिला, मधेशी र अन्य समुदायका न्यायिक मुद्दाको बेवास्तामा अभिव्यक्त भएको पाइन्छ ।

अर्काको हली पो भइएछ कि ?

यसरी आमूल परिवर्तनकारी मानिने दलमा पनि पुरानै वर्ग र वर्णका राजनीतिक कुलीन पुरुषको एकाधिकार कायम रहेकाले दलका नारा, नेतृत्व र त्यसको आचरणबीच विशाल खाडल देखिएको छ । त्यसले नेपाली राज्य र समाजसँगै राजनीतिक दलको संरचना, नेतृत्व प्रणाली एवं आधारभूत वर्ग/वर्ण/जनका संगठनसँग त्यसको सम्बन्धलाई पनि फेरबदल गर्नका लागि ताकेता गरेको छ । त्यसैले राजनीतिक दल र नेतृत्वबाट घोषित अनेक नारासँग र क्रियान्वयनबीच देखिएको अन्तरविरोध उजागर गर्दै हर्क गुरुङले चेताएका थिए- ‘राजनीतिक दलहरूका विधान र चुनावी घोषणापत्रमा समानता तथा सामाजिक न्याय सम्बन्धी प्रशस्त प्रतिबद्धता पाइन्छ । ठूला दलहरूका त पिछडिएका तथा शोषित समुदायका नाउँमा भ्रातृ संगठनहरू पनि छन् । तर पनि सो दलहरू शासनमा हुँदा उपेक्षित र शोषितका मुद्दाहरू किन ओझेलमा पर्दछन् ? यसबारे नेपाली राजनीतिका जानिफकार स्टेफन माइकसेलको निर्क्योल यस्तो छ । एक, राजनीतिक दलहरू सम्भ्रान्त वर्गबाट सञ्चालित हुनाले पिछडिएका समूहका समस्याप्रति प्रतिबद्ध छैनन् र दुई, तिनका भ्रातृ संगठनहरू दल–नेतृत्वका स्वार्थहरूसँग बढी सरोकार भएका चुनावी उद्देश्यहरूका लागि आपसमा भिड्नतिर लागे । पहिलो कुरा साँचो हो भने राजनीतिक नेताहरूले गम खानुपर्‍यो । दोस्रो कुरा ठीक हो भने, भ्रातृ संगठनमा संलग्न उपेक्षित अगुवाहरूले अर्काको हली पो भइएछ कि भनी विचार पुर्‍याउनुपर्‍यो ।’

करिब दुई दशकअघि र पछिको राजनीतिक नेतृत्वको जातीय संरचना र प्रभुत्वमा कुनै परिवर्तन आएको छैन, राजतन्त्रसँगै कमजोर भएको क्षत्रीहरूको प्रभुत्वलाई कांग्रेसले थाम्न खोजिरहे पनि एमाले, माओवादी र अन्य दलमा ब्राह्मण एकाधिकार प्रबल छ । मधेशवादी दलमा पनि उच्च र मध्यम जातको प्रभुत्व रहेको अवस्थामा जनमत पार्टी पनि मध्यम जातको एकाधिकारबाट अलग होला भन्न सकिन्न । स्वतन्त्र वा अन्य नयाँ राजनीतिक दलमा पनि ब्राह्मण कुलीन पुरुषहरूकै एकाधिकार रहने स्थितिमा समता र समावेशिताका राजनीतिक–सामाजिक मुद्दा आकाशको फल हुन सक्छ । समावेशी लोकतन्त्रका खतराको रूपमा रहेका यस्ता संरचना र प्रवृत्ति हुँदासम्म भुइँतहका जनताबाट सवाल उठाइनु जरुरी हुन्छ- पार्टनर तिम्रो राजनीति के हो ? तिम्रो राजनीतिले कसलाई पोस्छ ? आम मान्छेको राजनीतिक गफ गर्ने दलमा खास–खास जातका लोग्ने–मान्छे मात्रै नेतृत्वमा किन ? समाज र राज्यको नेतृत्वमा फरिवर्तन नगरीकन लोकतन्त्रको लोकतन्त्रीकरण कसरी हुन्छ ?

प्रकाशित : मंसिर १३, २०७९ ०७:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×