कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘जनतामा जनआन्दोलनको उत्साह सकिएछ’

अर्जुन राजवंशी

बिर्तामोड — झापाको बिर्तामोडस्थित देवी मावि मतदानस्थलमा वैशाखको स्थानीय निर्वाचनमा पाँच वटा मात्र मतदान केन्द्र थिए । मतदाताको भीड बिहानैदेखि थियो । उक्त भीड देखेका निर्वाचन कर्मचारीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि थप चार मतदान केन्द्र बढाएर ९ वटा बनाए । तर, आइतबारको निर्वाचनमा जुन उत्साहको अपेक्षा गरिएको थियो, ठीक त्यसविपरीत न्यून संख्यामा मात्र मतदाता उपस्थित भए । 

‘जनतामा जनआन्दोलनको उत्साह सकिएछ’

देवी माविमा जस्तै जिल्लाका ७ सय ६८ वटै मतदान केन्द्रमा आइतबार मतदान गर्नेको संख्या न्यून रह्यो । मतदान गर्नेमध्येका पनि अधिकांश वृद्धवृद्धा थिए । जिल्लामा ‘हेभिवेट’ उम्मेदवारहरू भए पनि मतदातामा भने त्यसको प्रभाव देखिएन । निर्वाचन पर्यवेक्षण गर्ने क्रममा जिल्लाका करिब दुई दर्जन मतदानस्थल पुगेका झापाका अध्यक्ष रूपक खनाल भन्छन्, ‘हामी पुगेका सबै मतदान केन्द्रमा मतदाताको उपस्थिति एकदमै न्यून थियो । झापा–३ को बाह्रदशी गाउँपालिकाको कार्यालय परिसरमा बनाइएको मतदान केन्द्रमा मध्याह्न १२ बजेसम्म मतदाता नै थिएनन् । कर्मचारीहरू अचम्म मान्दै गफिँदै थिए ।’

वरिष्ठ अधिवक्ता लीला उदासीले जनतामा ०४६ तथा ०६२/६३ को जनआन्दोलनको उत्साह र विश्वास सकिएको अर्थ्याए । उनले भने, ‘०४६ को आन्दोलनपछि जनतामा एक किसिमको उत्साह जागेको थियो । राजनीतिक दलहरूले राम्ररी सरकार चलाउन नसके पनि जनताले राजनीतिक दलप्रतिको विश्वास गुमाएका थिएनन् । ०६२/६३ को आन्दोलनले पुनः जनतामा विश्वास र अपेक्षा जगाउने काम गर्‍यो । तर, फेरि पनि राजनीतिक दलहरूले जनताको अपेक्षा र चाहनाअनुसार काम गर्न नसक्दा जनतामा निराशा बढेको आज (आइतबार) को चुनावी उपस्थितिमा देखियो ।’

उनले यो पटक राजनीतिक दलका उम्मेदवारले ‘एजेन्डा बिनै’ भोट मागेकाले पनि जनतामा भोट दिनुपर्छ भन्ने उत्साह नजागेको धारणा राखे । ‘उम्मेदवारले न त कुनै एजेन्डा देखाएर जनतालाई आशा जगाए । न त भ्रष्टाचारबारे कसैले बोले,’ उनले थपे, ‘स्विस बैंकमा जम्मा भइरहेको नेपाली पैसा र राष्ट्रिय उत्पादनबारे कुनै दलले केही नबोलेको आक्रोशका रूपमा मतदाताको न्यून उपस्थितिलाई बुझ्न सकिन्छ ।’

दलहरू जनता र मुलुकको भविष्य बनाउनेभन्दा पनि को ठूलो, को सानो हुने होडबाजीका रूपमा यस पटकको चुनावलाई लिएकाले पनि जनतामा मत खसाल्ने उत्साह नजागेको उनको भनाइ छ । पूर्वप्राध्यापक चिन्तामणि दाहालले पार्टीहरूको गठबन्धन राजनीतिप्रति जनताको आक्रोश भएको धारणा राखे । उनले भोट किन दिने ? भन्ने प्रश्नको उत्तर नपाएकाले मतदातामा चुनावी उत्साह नभएको बताए । उनले यसबाट राजनीतिक दलहरूले ठूलो शिक्षा लिनुपर्ने सुझाए ।

प्रकाशित : मंसिर ६, २०७९ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?