कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
प्रस्तावित सगरमाथा विमानस्थल

३५ सय रूख काटियो, १३ हजार काटिँदै

बाँकी रुखहरु आगामी पुस ९ सम्म काटिसकिने, एक तिहाइ वन क्षेत्रका रुख नकाटी हरियाली नै बनाइने 
डिल्लीराम खतिवडा

उदयपुर — त्रियुगा नगरपालिका–१ र २ को जोगिदहमा प्रस्तावित सगरमाथा विमानस्थलमा भौतिक पूर्वाधार निर्माणका लागि ३ सामुदायिक वन उपभोक्ता समूहका १३ हजार ६ सय ४४ रूख काटिँदै छ । यसमध्ये ३ हजार ५ सय रूख काटि सकिएको छ । अझै १० हजार बढी रूख काटिने छ ।

३५ सय रूख काटियो, १३ हजार काटिँदै

२०७८ माघ २४ मा वन तथा भूसंरक्षण विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको वन क्षेत्र प्रयोग गर्न दिने सम्झौताअनुरूप रूख कटान गरिरहेको विमानस्थल निर्माण आयोजना प्रमुख चूडामणि सापकोटाले बताए । सम्झौतामा १८ हजार ४ सय २३ रूख कटान गर्ने उल्लेख छ । तर १३ हजार ६ सय ४४ रूखमात्रै काटिने वन कार्यालयले जनाएको छ ।

रूख कटानका लागि अरुण माँ दुर्गा जेभीले ०७९ असोज ७ मा २ करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । कम्पनीका सञ्चालक बलराम नायकले सम्झौताअनुसार पुस ९ सम्म कटानको काम सक्नु पर्ने बताए । त्यसैअनुरूप कटान भइरहेको उनले बताए । विमानस्थलले वन क्षेत्रको १५६.११ हेक्टर क्षेत्रफल जग्गा ओगट्ने छ । ‘तर अहिलेलाई १०५.१ हेक्टरमामात्रै रूख कटान हुन्छ,’ डिभिजन वन कार्यालय उदयपुरका सहायक वन अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहले भने, ‘बाँकी ५०.४१ हेक्टर वन क्षेत्र रूख कटान नगरी हरियाली बनाउनु पर्नेछ ।’

उक्त निर्माण प्रयोजनका लागि शिवालय धार्मिक वन उपभोक्ता समूहको ०.५२, कंगखोला सामुदायिकको ७२.३५ र मोतियाही सामुदायिकको ८३.२४ हेक्टर क्षेत्रको जग्गा प्रयोग हुने साहले जानकारी दिए । उनका अनुसार यो क्षेत्रमा १८ हजार ४ सय २३ हरियो रूख छन् । यसमध्ये ९९ प्रतिशत रूख सालका छन् । ‘रूख कटानसँगै विमानस्थल निर्माण कार्य अघि बढेको छ,’ आयोजना प्रमुख सापकोटाले भने, ‘यसपछि रन–वेको काम सुरु हुन्छ ।’ रन–वे, एप्रोनसहितको टर्मिनल भवन, कर्मचारी भवन र ट्याक्सी वेको डिजाइन स्वीकृतसमेत भइसकेकाले निर्माण कार्यले गति लिने उनले बताए ।

सरकारको घोषित नीतिमा ‘एक जिल्ला एक विमानस्थल, एक गाउँ एक हेलिप्याड’ भनिएको छ । त्यसैअनुरूप राष्ट्रिय योजना आयोगले सगरमाथा आन्तरिक विमानस्थललाई राष्ट्रिय प्राथमिकता योजनामा सामेल गरी काम अघि बढाएको छ । प्राविधिक डिजाइनअनुसार विमानस्थलमा एटीआर ७२ डिजाइनको जेटस्टिम एभ्रो विमान उडान र अवतरण गर्न राखिएको परामर्शदाता प्याक्ट कन्सल्ट्यान्ट इन्जिनियर डा. महेन्द्रनाथ सुवेदीले बताए ।

उनका अनुसार १ हजार ७ सय ५० मिटर लामो र ३० मिटर चौडाइ भएको धावन मार्ग, २ सय मिटर लामो र ६० मिटर चौडाइको एप्रोनसहितको टर्मिनल भवन, कर्मचारी भवन र ट्याक्सी वे २ वटासमेतको प्रस्ताव गरिएको छ । वर्षाको समयमा कुहिरो नलाग्ने तथा हिउँदको समयमा हुस्सु पनि नलाग्ने, प्राकृतिक वातावरण अत्यन्त राम्रो भएकाले जोगिदहमा विमास्थल प्रस्ताव गरिएको उनको भनाइ छ । सदरमुकाम गाईघाटदेखि ७ किलोमिटर टाढा रहेको उक्त क्षेत्रमा यस अघि पनि ट्विनअटर विमान अवतरण हुनेगरी साढे ७ सय मिटर धावनमार्गको सर्भे गरिएको थियो । तर, छोटो धावनमार्गको डिजाइन पहाडी क्षेत्रमा मात्र प्रयोग हुने भएकाले जोगिदहमा यसअघि गरिएको सर्भे परिवर्तन गरी नयाँ सर्भे गरिएको विमानस्थल समितिका अध्यक्ष वीरेन्द्र बस्नेतले बताए ।

राजधानी काठमाडौंबाट पूर्वी नेपालको जनकपुर, विराटनगर, भद्रपुर, खोटाङ, भोजपुर र सोलुखुम्बुलगायत पहाडी जिल्लामा विमानस्थलको हबको रूपमा विकास गर्न टर्चलाइटको समेत अध्ययन गरिएको उनले जनाए ।

तत्कालीन गृह सहायक मन्त्री नरसिंहभक्त तुलाचनले २०३१ मा पहिलो पटक गाईघाटमा विमानस्थल निर्माणको शिलान्यास गरेका थिए । त्यसपछि विमानस्थल निर्माणको काम हुन सकेको थिएन । शिलान्यास गरिएको त्रियुगा नगरपालिकाको तत्कालीन वडा २, ३ र ४ मा १४ विगाहा १६ कट्ठा १६ धुर जग्गामा प्राविधिक हिसाबले विमानस्थल बन्न नसक्ने प्राविधिक समितिले प्रतिवेदन पेस गरेपछि जग्गा बिक्री गरी त्रियुगा नगरपालिका–१० उत्तराइटोलमा ४३ बिघा जग्गा खरिद गर्ने सहमति जुटेको थियो । तर, जग्गा बिक्रीका लागि तत्कालीन स्थानीय विकास मन्त्रालयले रोकेपछि प्रस्तावित उत्तराइटोल खरिद गर्न नसक्दा विमानस्थलको काम अलपत्र भएको थियो । उत्तराइटोलमा नहुने भएपछि जोगिदह क्षेत्रमा सामुदायिक वन समूहले १ सय ५ बिघा जग्गा विमानस्थलका लागि निःशुल्क उपलब्ध गराउने निर्णय गरेपछि अहिले निर्माण सुरु गरिएको हो ।

उक्त क्षेत्रमा ८४ प्रजातिका वन्यजन्तु पाइने अध्ययनमा संलग्न इन्जिनियर अभिषेक बीसीले जनाएका छन् । जैविक तथा वातावरणीय हिसाबले पनि उपयुक्त रहेको अध्ययनले देखाएको छ । अध्ययनका अनुसार विराटनगरको क्षेत्रीय विमानस्थलभन्दा निर्माणधीन विमास्थल रनवे लामो भएकाले यसलाई पूर्वकै विमानस्थलको रूपमा विकास गर्न सकिन्छ । पूर्व–पश्चिम धावन मार्ग भएको तथा उडान र अवतरणका बेला कुनै पहाडले छेक्न नसक्ने भू–बनोट रहेकाले आकस्मिक अवतरण गर्नसमेत सक्ने अध्ययनमा उल्लेख गरिएको छ । खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका विमानस्थलमा मौसमी समस्या आउँदासमेत अवतरण गराउन सकिने डिजाइनमा संलग्न इन्जिनियर राजीव बरालको दाबी छ ।

प्रकाशित : मंसिर ४, २०७९ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?