किमाथांका-खाँदबारी सडक नखुल्दा सास्ती- कोशी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किमाथांका-खाँदबारी सडक नखुल्दा सास्ती

दीपेन्द्र शाक्य

संखुवासभा — भोटखोला गाउँपालिकाको बरुण बजारभन्दा माथिका बासिन्दाले किमाथांका खाँदबारी सडक तयार नहुँदा सास्ती खेप्नुपरिरहेको छ । वर्षामा बरुण नदीले ह्युमपाइप नै बगाइदिन्छ । त्यसपछि हटिया, हुंगुङ, लिंगम, चेपुवा, च्याम्ताङ, छुम्सुर, रिदाक, छुदाम र किमाथांकाका बासिन्दा खाँदबारीसँग सम्बन्धविच्छेदको अवस्थामा रहन्छ 

यो अहिले संखुवासभामा मुख्य चुनावी मुद्दा हो । सेनाले च्याम्ताङको जिरो पोइन्टबाट उक्त सडकको ट्र्याक ३ वर्षअघिबाट खनिरहेको छ । शंखेभीरमा अड्केको ट्र्याकको लम्बाइ १३.५ किलोमिटर छ । च्याम्ताङबाट घोडघोप्पासम्मको सडक सेनाले निर्माण गरिरहेको छ । गत असारसम्ममा ३.५ किलोमिटर ट्र्याक खुलिसकेको छ ।

साउनयता थप पाँच सय मिटर ट्र्याक तयार भइसकेको छ । शंखेभीर च्याम्ताङ र छुम्सुरको बीचमा पर्छ । सेनाले ९ मिटर चौडाइको ट्र्याक खोलिरहेको हो । शंखेभीर फोरेर ट्र्याक तयार हुनासाथ किमाथांकासम्म धूले सडक तयार हुन्छ । सेनाले असोज, कात्तिक, मंसिर र पुसमा सडक निर्माणका लागि कुनै अवरोध नहुँदा निर्माणलाई तीव्रता दिने गरेको छ । हेलिकप्टरबाट विस्फोटक पदार्थ निर्माण स्थलमा पु‍र्‍याएर सेनाले ट्र्याक खोल्ने काम गरिरहेको हो । गत फागुनमा त्यहाँ पुर्‍याएको झन्डै २४ टन विस्फोटक पदार्थले अहिले काममा तीव्रता दिइएको सेनाले जनायो ।

‘एकदमै जटिल भूगोल छ,’ किमाथांकाका नुर्बु भोटे भन्छन्, ‘डबल लेनको ट्र्याक तयार भइरहेको छ, खनिरहेको सडकमा नाला पनि निर्माण भइरहेको छ ।’ सेनाले काम गरिरहेको स्थलमा पुग्न भोटखोला गाउँपालिकाको गोला बजारबाट दुई दिन पैदल यात्रा गर्नुको विकल्प नभएको उनले बताए । ‘खाँदबारीबाट गोला बजारसम्म ८२ किलोमिटर सडक त पुगेको छ तर एकदमै जीर्ण छ,’ उनले भने, ‘यो सडकको स्तरोन्नति नहुँदा गोला बजारसम्म सार्वजनिक सवारीसाधन मुस्किलले चल्छ ।’

नुर्बुका अनुसार त्यस क्षेत्रमा खसीको मासुको मूल्य प्रतिकिलो १३ सय रुपैयाँ छ । किसानले घरमा पालेका कुखुरा र अन्डाले पनि भाउ पाएका छन् । एउटा कुखुराको भालेको दाम पाँच हजार रुपैयाँसम्म पर्छ । स्थानीयस्तरमा उत्पादित आलुलगायत कृषि उपज खपत भइरहेको छ ।

सेनाले पनि स्थानीय बासिन्दासँग दरिलो सम्बन्ध बनाउन सैनिक नागरिक सम्बन्ध अभियान नै चलाएको छ । बिजुलीको ट्रान्सफर्मर घेराबन्दी गर्ने, विद्यालयहरूमा स्टेसनरी सामग्री वितरण गर्ने, कम्प्युटर, प्रिन्टरलगायत सामग्री हस्तान्तरण, स्थानीय क्लबहरूलाई खेलकुद सामग्री वितरण तथा आमा समूहहरूलाई आवश्यक सामग्री हस्तान्तरणलगायत काम भइरहेको छ ।

प्रकाशित : कार्तिक २६, २०७९ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्

गौतम र खड्का तेस्रो पटक प्रतिस्पर्धामा

दीपेन्द्र शाक्य

संखुवासभा — प्रतिनिधिसभा सदस्यका लागि तेस्रो पटक पनि पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने भएकाले मतदाताले पनि नयाँपन महसुस गरेका छैनन् । प्रतिनिधिसभा सदस्यका लागि एमालेका राजेन्द्रप्रसाद गौतम र गठबन्धनबाट कांग्रेसका दीपक खड्का भिड्दै छन् । 

२०७० को निर्वाचनमा खड्काले गौतमलाई र २०७४ मा गौतमले खड्कालाई पराजित गरेका थिए । संखुवासभामा दुई स्वतन्त्रसहित १० राजनीतिक दलले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरे पनि यी दुईबीच नै मुख्य भिडन्त छ । गौतम एमालेका स्थायी कमिटी सदस्य र कांग्रेसका खड्का पूर्वखानेपानी तथा सरसफाइ राज्यमन्त्री तथा जिल्ला सभापति हुन् ।

२०७० को निर्वाचनमा एमालेका गौतमले १० हजार ९ सय ७३, माओवादीका राजेन्द्र किरातीले ४ हजार २ सय ९३ मत र कांग्रेसका खड्काले ११ हजार ५ सय ५२ मत ल्याएर जितेका थिए । २०७४ को निर्वाचनमा गौतमले ३२ हजार ७ सय ६९ मत र खड्काले ३१ हजार ६ सय ३९ मत ल्याएका थिए । २०७४ को निर्वाचनमा गौतमलाई माओवादी केन्द्रको साथ थियो । २०७४ मा कांग्रेस एक्लै लडेको थियो । खड्कालाई अहिले माओवादी केन्द्र र समाजवादी पार्टीको साथ छ । एमाले अहिले एक्लै चुनावी मैदानमा उत्रिएको छ । प्रदेशसभामा (१) मा गठबन्धन दलबाट माओवादी केन्द्रका राजेन्द्र कार्की र नेकपा एमालेका भविश्वर गुरुङबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । माओवादीका कार्कीलाई कांग्रेस, एकीकृत समाजवादीको साथ छ । २०७४ मा माओवादी केन्द्रका पूर्णप्रसाद राई १६ हजार ६ सय ६६ मत ल्याएर विजय भएका थिए । कांग्रेसका टंकप्रसाद राईले १४ हजार ६ सय ३२ मत मात्र ल्याएका थिए ।

कार्की माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संखुवासभाका इन्चार्ज हुन् भने गुरुङ एमालेका प्रदेश कमिटी सदस्य हुन् । प्रदेशसभा (१) प्रदेश सदस्यमा एक स्वतन्त्रसहित ८ जनाले मनोनयन दर्ता गराएका छन् । यहाँ माओवादी आफ्नो साख जोगाउने पक्षमा छ । एमाले माओवादीको साख तोड्ने पक्षमा छ । प्रदेशसभा (१) मा दुवै नयाँ अनुहार हुन् ।

त्यस्तै प्रदेशसभा (२) मा गठबन्धन दलबाट एकीकृत समाजवादीकी सरिता थापा खड्का र एमालेका विदुरकुमार लिङ्थेपबीच रस्साकसी छ । २०७४ मा एमालेका तुलसीप्रसाद न्यौपाने र कांग्रेसका दीपककुमार लिम्बूबीच प्रतिस्पर्धा भएको थियो । न्यौपाने १७ हजार ५ सय १४ ल्याएर विजयी भएका थिए । लिम्बूले १६ हजार १ सय ४० मत प्राप्त गरेका थिए । प्रदेशसभा (२) मा दुवै नयाँ अनुहार हुन् । प्रदेशसभा (२) तर्फ स्वतन्त्र ३ सहित १० जनाले मनोनयन दर्ता गराएका छन् । जिल्लामा १ लाख १६ हजार ५ सय ५४ मतदाता छन् ।

प्रकाशित : कार्तिक १६, २०७९ ०७:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×