रामेछाप — सगरमाथा क्षेत्रमा जाने पर्यटकहरु धमाधम फर्कन थालेका छन् । झन्डै एक महिना अघिदेखि सगरमाथा आधारशिविरतर्फ गएका पर्यटकहरु निर्धारित भ्रमण पूरा गरी फर्कन थालेका हुन् ।
सगरमाथा क्षेत्रमा जाने पर्यटकहरुलाई यस वर्ष रामेछाप विमानस्थल हुँदै लुक्ला पठाइएको छ । हवाईमार्ग भएर जाने प्राय सबै पर्यटक रामेछाप विमानस्थलबाट त्यसतर्फ गएका थिए । सगरमाथा आधारशिविरतर्फ घुम्न गएका पर्यटकहरु नेपाल बसाई सकिन थालेपछि फर्कन थालेका हुन् । असोजको ९ देखि रामेछाप विमानस्थलबाट त्यसतर्फ जानका लागि पर्यटक लक्षित हवाई सेवा सञ्चालन भएको थियो ।
रामेछापबाट उता जाने र आउने पर्यटक प्राय बराबर जस्तो हुन थालेका छन् । रामेछाप विमानस्थलका एटिसी केदार सत्यालका अनुसार महिना दिनअघि त्यसतर्फ गएकाहरु धमाधम फर्कन थालेका छन् । शरद ऋतुको मुख्य सिजन भएकाले लुक्ला हुँदै सगरमाथा क्षेत्रमा जाने पर्यटक पनि उत्तिकै छन् ।
सगरमाथा क्षेत्रको भ्रमण गरेर लुक्ला विमानस्थलबाट फर्कने यात्रु पनि रामेछाप विमास्थलमा नै ओरालिएको छ । रामेछापबाट उनीहरु काठमाडौंसम्म सडकमार्ग भएर जान्छन् । काठमाडौंबाट लुक्लातर्फ जानका लागि पनि सडकमार्ग भएर रामेछाप पुग्ने गरेका छन् ।
सेक्टेम्बर ९ देखि सञ्चालनमा आएको रामेछाप विमास्थलबाट लुक्लातर्फ जाने पर्यटकले भरिभराउ हुने गरेको छ । निजी क्षेत्रका तारा, सीता र समिट एयरले मौसम खुलेको बेला रामेछापबाट दैनिक सरदर ३५ उडान गर्ने गरेका छन् । पर्यटक बढेका बेला एकै दिन ४५ उडानसम्म भएको विमानस्थलले जनाएको छ । मौसम बिग्रेको बेला लुक्ला उडान अवरुद्ध भएको मौका छोपेर हेलिकोप्टरले पनि रामेछापबाट त्यसतर्फ पर्यटक लाने र ल्याउने गर्ने गरेको छ ।
काठमाडौं विमानस्थलमा उडान र अवतरणका लागि लामो प्रतीक्षा गर्नुपर्ने भएकाले पर्यटकहरुलाई भनेको समयमा गन्तव्यमा पुर्याउन नसक्दा रामेछाप विमानस्थललाई वैकल्पिक विमानस्थलको रुपमा प्रयोग गरिएको हो । नेपाल नागरिक उडड्यन प्राधिकरणले लुक्लातर्फको उडानका लागि रामेछाप विमानस्थलमा नै रात्रीकालीन पार्किङ राखेर विमान उडानका लागि निजी क्षेत्रका वायुसेवा कम्पनीहरुलाई निर्देशन दिएको थियो ।
प्रकाशित : कार्तिक ६, २०७९ १४:१२