कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

अन्तर्घात र कलहले सत्ता गठबन्धनलाई सकस

‘कांग्रेसभित्रको अन्तर्घातले पार्टी हारेको छ, यो पटक पनि त्यस्तै भयो भने अन्य शक्तिले चुनाव जित्छन्’
डम्बरसिं राई

खोटाङ — कांग्रेस कलहले सत्ता गठबन्धनलाई निर्वाचनमा सकस परेको देखिन्छ । केन्द्रको भागबन्डामा चित्त नबुझेपछि खोटाङ कांग्रेसले बागी उम्मेदवार उठाएर चुनावी गतिविधि थालेकाले गठबन्धन कमजोर हुन सक्ने देखिएको छ ।

अन्तर्घात र कलहले सत्ता गठबन्धनलाई सकस

प्रदेश १ खोटाङ (१) मा जनमत कम भएको नेकपा एकीकृत समाजवादीको भागमा पारेको भन्दै कांग्रेसले महाधिवेशन प्रतिनिधि तथा पूर्वजिल्ला सभापति धर्मराज पोखरेललाई बागी बनाइएको छ । बढी जनमत भएको कांग्रेसबाटै बागी उठेपछि सत्ता गठबन्धन उम्मेदवार अप्ठ्यारोमा छन् । खोटाङ (१) मा एसका वीरबलकाजी राईलाई सत्ता गठबन्धनले उम्मेदवार उठाएको छ । एमालेबाट पाँचकर्ण राई प्रतिस्पर्धामा छन् । बागी उम्मेदवारले कांग्रेस मत काट्ने आसमा राई छन् ।

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा खसेको भोटको आधारमा हेर्ने हो भने खोटाङ (१) मा कांग्रेसको १६ हजार ९ सय ३४, एमालेको १३ हजार २ सय ५९, माओवादीको ८ हजार ४ सय २४ र एसको १ हजार १ सय २६ मत छ । यसका आधारमा कांग्रेस एक्लैले पनि चुनाव जित्ने आकलन जिल्ला सभापति विष्णुकुमार राईको छ । ‘जनमत हुँदा–हुँदै खोटाङ कांग्रेसलाई अपमान गरेर एसलाई टिकट दिएकाले निर्णय गरेरै बागी उठाइएको हो,’ राईले भने ।

लामो समयसम्म कांग्रेसको राजनीति गरेका जिल्ला सभापति राईले टिकट नपाएपछि कांग्रेसभित्रै समस्या आएको हो । खोटाङ (२) मा सिफारिस भएका राईलाई बाइपास गरेर प्रदेश १ कांग्रेस महामन्त्री भूपेन्द्र राईले टिकट पाएपछि असन्तुष्ट बढेको हो । गत स्थानीय तहको निर्वाचनमा दिप्रुङ चुइचुम्मा गाउँपालिकामा अन्तर्घात गरी कांग्रेसकालाई हराएर एमालेलाई जिताएको भन्दै कारबाहीको सिफारिस भएका भूपेन्द्रलाई नै टिकट दिएकाले समस्या बल्झिएको कांग्रेस स्रोतले जनायो । भूपेन्द्र प्रतिनिधिसभाका लागि सिफारिस भए पनि प्रदेशको टिकट हडपेको सभापति राईको गुनासो छ । ‘नातावादले टिकट खोसियो,’ राईले भने, ‘जसले कांग्रेस ध्वस्त बनायो, उसैलाई टिकट दिएर पठायो ।’

२०७० को निर्वाचनमा पनि अन्तर्घातले नै कांग्रेस हारेको भन्दै कांग्रेस पूर्वसभापति सुवासकुमार पोखरेल, पूर्ववन राज्यमन्त्री शिवकुमार बस्नेतलगायत १७ जनालाई कारबाही सिफारिस गरेको थियो । ‘कांग्रेसभित्रको अर्न्तघातले पटक–पटक कांग्रेस हारेको छ,’ तरुण दल जिल्ला अध्यक्ष भीषण राईले भने, ‘योचोटि पनि त्यस्तै भयो भने प्रतिगामी शक्तिले चुनाव जित्छ ।’

खोटाङ (२) मा पनि गठबन्धनलाई चुनाव जित्न सहज देखिँदैन । एमाले आफ्नो बलियो संगठनसँगै गठबन्धनमा देखिएको खटपटको फाइदा उठाउने दाउमा देखिन्छ । उसले जिल्ला अध्यक्ष रामप्रसाद दंगाललाई उम्मेदवार उठाएको छ । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षलाई खसेको मतलाई आधार मान्ने हो भने खोटाङ (२) मा एमालेको १५ हजार ५ सय ३७, माओवादीको १० हजार ३ सय १२, कांग्रेसको ९ हजार ६ सय ९९ र एसको १ हजार १८ मत देखिन्छ । गठबन्धनको मत क्रस हुनका साथै जनता समाजवादी र राप्रपाको मत पनि एमालेमा खसे चुनावको परिणाम एमालेको पक्षमा आउन सक्छ । तर जसपाले भने प्रेमकुमार राईलाई उम्मेदवार बनाएको छ ।

कांग्रेसभित्रको बेमेलले प्रतिनिधिसभामा उम्मेदवारलाई पनि असर पर्ने देखिन्छ । खोटाङ (१) मा धर्मराज पोखरेलको चुनाव चिह्न धारामा मतदान नगरे प्रतिनिधिसभामा पनि सघाउन नसक्ने कांग्रेसले अडान कसेपछि झनै पेचिलो बनेको छ । उक्त पदमा एमाले प्रमुख सचेतक विशाल भट्टराई र गठबन्धनबाट माओवादी केन्द्रका रामकुमार राईबीच चुनावी टक्कर देखिन्छ ।

स्थानीय तहमा वडाध्यक्षमा खसेको मतअनुसार खोटाङमा एमालेको २८ हजार ७ सय ९७, कांग्रेसको २६ हजार ६ सय ३३, माओवादीको १८ हजार ७ सय ३६ र एसको २ हजार १ सय ४४ मत देखिन्छ । यसका आधारमा गठबन्धनको मत जोड्दा ४७ हजार ५ सय १३ मत हुन्छ । यसलाई हेर्दा माओवादी उम्मेदवार रामकुमार पनि बलियो देखिन्छन् ।

२०६४ मा खोटाङ १ बाट संविधानसभा सदस्य, २०७४ मा खोटाङ (२) बाट प्रदेशसभा सदस्य जितेर हाल प्रदेश १ का खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रीसमेत रहेका उनी तेस्रोचोटि चुनाव लड्दै छन् । भट्टराईको भने यो पाँचौं हो । २०५६ र २०६४ मा हार खेपेका भट्टराई २०७० र २०७४ मा विजयी भएका थिए ।

एमाले नेता भट्टराईका अनुसार केपी ओली सरकारको पालामा सुरु भएका योजनाहरू पूरा गर्ने, दूधकोसी जलविद्युत् आयोजना सम्पन्न गर्ने, प्रत्येक पालिकामा तीन वर्षभित्र कालोपत्र सडकसँगै खानेपानी र विद्युत् नपुगेको ठाउँमा पुर्‍याउने योजना छ । यही एजेन्डालाई केन्द्रमा राखेर चुनावी मैदानमा होमिएको भट्टराईको भनाइ छ । जिल्लाको विकासमा उल्लेख्य भूमिका निर्वाह गरेकाले जित सुनिश्चित हुने उनको दाबी छ । जितका लागि जिल्लाभर भेटघाट र घरदैलो अभियान सुरु गरेको भट्टराईले बताए ।

माओवादीका रामकुमारले पनि वर्तमान राजनीतिक मुलधार माओवादीसँग भएकाले जित सुनिश्चित भएको दाबी गरेका छन् । गणतन्त्र, संघीयता, समावेशीलगायतका मुलुक परिवर्तन गर्ने व्यवस्थाको संवाहक माओवादी हुनुका साथै मुलुकको लोकतान्त्रिक शक्ति कांग्रेससमेतको गठबन्धन भएकाले सजिलै जित हुने उनको दाबी छ ।

कृषिलाई व्यवसायीकरण, व्यावहारिक, सीपमूलक शिक्षा, विकास र समृद्धि जनताको घर–घरमा, सबै पालिकाको केन्द्रमा कालोपत्र सडक, जिल्ला र सबै पालिकामा सुविधा सम्पन्न अस्पताल, पर्यटन विकास, भ्रष्टाचार अन्त्य, लैंगिक तथा सबैखाले विभेद अन्त्यलगायतका एजेन्डा अघि बढाइएको राईले सुनाए ।

प्रकाशित : कार्तिक ३, २०७९ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×