कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

तेह्रथुममा वामपन्थी किल्ला भत्काउने र जोगाउने होड

चन्द्र कार्की

तेह्रथुम — वामपन्थीको उर्वर भूमिका रूपमा चिनिने तेह्रथुममा एमाले किल्ला जोगाइराख्ने अनि सत्ता गठबन्धन त्यसलाई भत्काएर नयाँ इतिहास रच्ने दाउमा छन् । एमालेले केन्द्रीय राजनीतिमा पहुँच बनाएका एमाले निर्वाचन आयोगका अध्यक्षसमेत रहेका डा. विजय सुब्बालाई उम्मेदवार बनाएको छ । उनी यसअघि दुई पटकसम्म जिल्लाबाट निर्वाचित भइसकेका नेता हुन् ।

तेह्रथुममा वामपन्थी किल्ला भत्काउने र जोगाउने होड

गीतसंगीतमा राम्रो दख्खल भएका सुब्बा जनताका सुखदुःखका गीत गाउने नेताका रूपमा पनि चिनिन्छन् । जिल्लामा पढेलेखेका नेताका रूपमा चिनिएका उनको आकर्षक व्यक्तित्वका कारण पनि धेरै कार्यकर्ता पछि लाग्छन् । तर सुब्बाले बीचमा केही वर्ष पार्टी छाडेका कारण पुराना एमाले कार्यकर्ताले उनलाई अवसरवादी नेताका रूपमा पनि चित्रण गर्छन् ।

कांग्रेसले भने यस पटक पनि अघिल्लो निर्वाचनकै प्रतिस्पर्धी सीता गुरुङलाई उठाएको छ । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट गुरुङ केन्द्रीय राजनीतिमा समेत पकड राख्ने नेतृ हुन् । भौतिक पूर्वाधार तथा यातायात पूर्वराज्यमन्त्री समेत भइसकेकी गुरुङ जिल्लामा विकासप्रेमी नेतृको रूपमा चिनिन्छिन् । २०७४ को चुनावमा गुरुङ नेकपा एमालेका भवानीप्रसाद खापुङसँग २ हजार २१ मतले पराजित भएकी थिइन् ।

स्थानीय तह निर्वाचनमा ६ मध्ये ३ वटा जितेको कांग्रेस प्रतिनिधिसभा सदस्य निर्वानमा पनि वर्चस्व कायम गर्न चाहन्छ । जिल्लाको राजनीतिमा सशक्त मानिएका हालका स्वास्थ्यमन्त्री खापुङ यस पटक एमालेमा नभएकाले गुरुङका लागि आगामी निर्वाचन केही सहज हुन सक्ने कांग्रेसको बुझाइ छ । ‘एमालेका उम्मेदवारसँग जुध्न ठूलै तयारी साथ कांग्रेस चुनावी मैदानमा होमीएको छ,’ कांग्रेस सभापति अर्जुन तुम्बाहाङफेले भने ।

बहुदलीय व्यवस्था आउनुभन्दा केही समय अघिदेखि हालसम्म जिल्लाको अधिकांश मत वामपन्थीकै पक्षमा देखिएको छ । २०४३ को निर्वाचनमा पनि वामपन्थीले जनपक्षीय नेताका नाममा कुनै समय राप्रपाका महामन्त्री भइसकेका पर्शुराम खापुङलाई जितेका थिए । खापुङ अहिले प्रदेश १ प्रमुख छन् । त्यसयता २०४८, २०५१ र २०५६ को निर्वाचनमा वामपन्थीले तेह्रथुममा कब्जा नै जमाएको थियो ।

त्यसपछि २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा भने राप्रपा त्यागेर स्वतन्त्र हुदै कांग्रेस छिरेका तुलसी सुब्बाले वामपन्थीको किल्ला भत्काएका थिए । पञ्चायतदेखि नै मुख्य राजनीतिक प्रतिस्पर्धी ठानेको वाम शक्तिलाई हराए पछि जिल्लाको राजनीतिमा उनी निकै हाबी भए । २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा तिनै सुब्बालाई पछार्दै एमाले पुनः आफ्नो किल्ला सुरक्षित गर्न सफल भयो । पञ्चायतदेखि नै जिल्लामा सुब्बालाई मुख्य राजनीतिक प्रतिस्पर्धी ठानेको एमालेले यस पटक उनको उम्मेदवारी नपरेकाले जित पक्का देखिरहेको छ ।

स्थानीय तह निर्वाचनमा पनि एक नगरपालिकासहित दुई गाउँपालिकामा सत्ता गठबन्धन दलको सहयोगमा कांग्रेस विजयी भएको थियो । स्थानीय तह निर्वाचनमा सत्ता सहयात्री दलसँग तालमेल गरी चुनाव लडेको कांग्रेसले सोचेजस्तो नतिजा निकाल्न सकेन । एमालेले एक्लै एक नगरपालिकासहित दुई गाउँपालिका जितेको थियो । स्थानीय तहका प्रमुखले प्राप्त गरेको मत जोड्दा कांग्रेस एमालेभन्दा १ हजार ३ सय ५९ मतले अगाडि छ । सत्ता गठबन्धन दलको सहयोगमा कांग्रेसले २३ हजार ६ सय ७७ मत प्राप्त गरेको थियो भने एमालेले २२ हजार ३ सय १८ मत प्राप्त गरेको छ ।

कांग्रेसले भने जिल्लामा एमालेले एकछत्र राज गरे पनि केन्द्रीय राजनीतिमा नेतृत्व स्थापित गर्न नसकेको आरोप लगाएको छ । केन्द्रीय राजनीतिमा स्थापित नेतृत्व गुरुङलाई जिल्लामा जिताउने अभियान साथ कांग्रेस लागेको सभापति तुम्बाहाङफले बताए । जिल्लामा वामपन्थीले चुनाव जित्ने र केन्द्रमा सरकार कांग्रेसले बनाउने गरेकाले जिल्लाको राजनीतिक तालमेल पटक्कै नमिलेको कांग्रेसको बुझाइ छ । त्यसैले कांग्रेस उम्मेदवारसहित मतदाताको घरदैलो चहार्न थालेको छ ।

पछिल्लो समय जिल्लाका मतदाता स्थिर नभएकाले पनि यसपालि मत आफ्नो पक्षमा आउने कांग्रेस उम्मेदवार गुरुङको विश्वास छ । ‘मैले पदमा रहँदा होस् या नरहँदा, जहिल्यै पनि जिल्लावासीका लागि काम गरेको छु,’ गुरुङले भनिन्, ‘कामको आधारमा मतदाताले माया गर्नेमा ढुक्क छु ।’ जिल्लामा ७१ हजार ९ सय ३३ मतदाता छन् ।

प्रकाशित : आश्विन २७, २०७९ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?