गठबन्धनका उम्मेदवारलाई 'बागी’ कै चुनौती- कोशी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गठबन्धनका उम्मेदवारलाई 'बागी’ कै चुनौती

गठबन्धनका नाममा पार्टीको संगठन, विचार र अस्तित्व नामेट पार्ने गरी सिट बाँडिएको आरोप लगाउँदै विद्रोह गरेको बागीको तर्क
प्रदेश ब्युरो

विराटनगर — पाँचथरमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई चुनौती दिने गरी कांग्रेस र माओवादी केन्द्रकै नेताहरूले प्रतिनिधि र प्रदेशसभामा स्वतन्त्रबाटै ‘बागी’ उम्मेदवारी दिएका छन् ।


सिट बाँडफाँट न्यायोचित नभएको आरोप लगाउँदै कांग्रेसका नेता तथा फालेलुङ गाँउपालिका निर्वतमान अध्यक्ष सञ्चकुमार केरुङले पाँचथरको प्रदेश सभा ‘क’ मा बागी उम्मेदवारी दर्ता गराए ।

गठबन्धनका नाममा पार्टीको संगठन, विचार र अस्तित्व नामेट पार्ने गरी सिट बाँडिएको आरोप लगाउँदै विद्रोह गरेको बागी उम्मेदवारको तर्क छ । गठबन्धनबाट पाँचथर प्रदेशसभा ‘क’ नेकपा (एकीकृत समाजवादी) को भागमा परेको थियो । समाजवादीका अध्यक्ष कमलप्रसाद जवेगुले उम्मेदवारी दिए लगत्तै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका केरुङले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

यस्तै प्रदेश सभा ‘ख’ मा पनि कांग्रेसका पुराना नेता खड्गसुन्दर लावती चुनावी मैदानमा छन् । लावती कांग्रेसको प्रदेश सभा ‘ख’ का सभापति मैया श्रेष्ठ लावतीका ससुरा पनि हुन । खड्गसुन्दरकी बुहारी मैयालाई कांग्रेसले प्रदेशसभा सदस्यका लागि समानुपातिक तर्फबाट दोस्रो नम्बरमा प्राथमिकता दिएर निर्वाचन आयोगमा बन्द सूची बुझाएको थियो ।

उम्मेदवारी दर्ता पछि खड्गसुन्दरले गठबन्धनका कारण लामो समयसम्म पार्टीमा त्याग गरेका नेता कार्यकर्ताको अपमान भएको आरोप लगाए । यस्तै नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाईसीएल) का पूर्वअध्यक्ष बालकृष्ण काफ्लेले पाँचथरबाटै प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । यी तिनै जनाको ‘बागी’ उम्मेदवारीले गठबन्धनका उम्मेदवारलाइ असर गर्ने अनुमान गरिएको छ ।

गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका केन्द्रीय सहमहामन्त्री भीष्मराज आङदेम्बे उम्मेदवार बनेका छन् । गठबन्धनले प्रदेशसभा ‘क’ मा एसका कमलप्रसाद जवेगु र प्रदेशसभा ‘ख’ मा माओवादी केन्द्रका इन्द्रबहादुर आङबो (मौसम) को उम्मेदवारी दर्ता गराएको हो । यस्तै एमालेले प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय सदस्य तथा पूर्वभौतिक योजना तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई खडा गरेको छ । त्यसैगरी, प्रदेशसभा ‘क’ मा राजकुमार भण्डारी र ‘ख’ मा अइन्द्रसुन्दर नेम्वाङको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै प्रदेश निर्वाचन क्षेत्रतर्फ कांग्रेसका नेता तथा फालेलुङ गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङले स्वतन्त्र र प्रदेशसभा ‘ख’ मा पनि कांग्रेसकै पुराना नेता खड्गसुन्दर लावतीको पनि उम्मेदवारी परेको छ । एक जना निर्वाचित हुने प्रतिनिधि सभा सदस्यका लागि पाँचथर जिल्लाबाट ४ स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी परेको छ । यस्तै प्रदेश सभा ‘क’ मा २ स्वतन्त्रसहित १० र प्रदेशसभा ‘ख’ मा १ स्वतन्त्रसहित ९ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले जानकारी दिए ।

बागीमा कांग्रेसबाट धेरै

वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारविरुद्ध खोटाङमा कांग्रेस नेता सर्वधन राई र सुवासकुमार पोखरेलले बागी उम्मेदवारी दिएका छन् । कांग्रेस केन्द्रले जिल्लाको अपमान हुने गरी टिकट दिएकाले बागी उम्मेदवारी दिनुपरेको उनीहरूले बताएका छन् ।

गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका माओवादीका रामकुमार राईविरुद्ध पूर्वपर्यटन राज्यमन्त्री सर्वधनले उम्मेदवारी दिएका हुन् । गठबन्धनबाटै प्रदेश १ खोटाङ (क)बाट उम्मेद्वारी दिएका एसका उम्मेदवार विरबलकाजी राईका विरुद्ध कांग्रेस महाधिवेशन प्रतिनिधि सुवासकुमार पोखरेल अघि आएका छन् ।

त्यस्तै महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेलले पनि प्रदेश १ खोटाङ (क) मै उम्मेद्वारी दिएको कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए । खोटाङ कांग्रेसको जनमत हुँदाहुँदै पनि केन्द्रले समाजवादीको भागमा पारेकाले कांग्रेस जिल्ला समितिले निर्णय गरेरै उम्मेदवारी दर्ता गराएको पोखरेलले सुनाए । शनिबार काठमाडौंमा उपलब्ध कांग्रेस नेताहरूको भेलाले निर्णय सच्याउन सभापति शेरबहादुर देउवा र केन्द्रीय समितिलाई ज्ञापनपत्र बुझाएको पोखरेलले जनाए । काठमाडौंमा भएको छलफलपछिका निर्णयलाई खोटाङ कांग्रेसले आइतबार अनुमोदन गरेर उम्मेदवारी दर्ता गरेको हो । प्रदेश १ खोटाङ (ख) मा भने कांग्रेसका भूपेन्द्र राईले उम्मेदवारी दर्ता गराएका छन् ।

खोटाङमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले पाँचौं पटक प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । २०५६ र २०६४ मा हार खेपेका उनले २०७० र २०७४ मा विजयी भएका थिए । माओवादीसँग गठबन्धन भएको बेला २०७४ मा कांग्रेसकी सरस्वती बजिमयलाई १४ हजार मतान्तरले पराजित गरेका थिए । २०७० सालमा कांग्रेसकै विष्णुकुमार राईलाई ५ हजार मतको फरकले जितेका थिए ।

कांग्रेसका बलबहादुरलाई एमालेका मानवीरको टक्कर

सोलुखुम्बुको प्रतिनिधिसभामा सत्तारुढ गठबन्धनका उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी र एमालेका केन्द्रीय सदस्य मानबीर राईबीच प्रतिस्पर्धा हुँदै छ । सातौंपटक सोलुबाट मनोनयन दिएका केसीसँग राई पहिलो पटक चुनावी मैदानमा छन् । उमेरको हिसाबले केसी ७० वर्ष पुगे भने राई ५० वर्षका ।

राईलाई एमालेले २०७४ को आम निर्वाचनमा पनि उम्मेदवारको रूपमा सिफारिस गरे पनि माओवादीसँगको चुनावी तालमेलपछि माओवादीकै हेमकुमार राई सुरवीरले टिकट पाएका थिए । उनै हेमकुमारसँग बलबहादुर २०७४ मा हारेका थिए । कांग्रेस सोलुखुम्बुले केसीको नाम समानुपातिकमा सिफारिस गरेको थियो । अन्तिम समयमा शेखर कोइराला समूहको दबाबका विच टिकट लिन केसी सफल भएका हुन् । यहाँ प्रदेस सभाको दुवै निर्वाचन क्षेत्र माओवादी केन्द्रले पाएको छ । कांग्रेसको संस्थापन पक्षले कुनै पनि तहमा टिकट नपाउँदा कांग्रेसभित्रै असन्तुष्टि देखिएको छ ।

‘हामीले पुस्तान्तरणको पक्षमा निर्णय गरेर पठाएका थियौँ,’ जिल्ला सभापति नाम्गेलजाङ्बु शेर्पाले भने, ‘केन्द्रले भागबन्डाका नाममा यस्तो निर्णय गरेछ ।’ पूर्वमन्त्रीसमेत रहेका केसीले यसअघि लडेका ६ चुनावमध्ये ४ मा जित र २ चुनावमा हार व्यहोरेका छन् । उनी २०६४ र २०७४ सालको निर्वाचनमा पराजित भएका हुन् ।

माओवादीको भागमा परेको दुवै प्रदेशसभाका लागि ‘क’ मा पार्टी नेता गोम्बु शेर्पा कर्ज्याङ र ‘ख’ मा शिवबहादुर बस्नेत राजेन्द्र चुनावी मैदानमा छन् । एमालेले भने प्रदेशसभाको ‘क’ र ‘ख’ मा पुरानै उम्मेदवार दोहोर्‍याएको छ । प्रदेशसभा क मा निवर्तमान प्रदेशसभा सदस्य उत्तमकुमार बस्नेत र प्रदेशसभा ‘ख’ मा पनि निवर्तमान प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले एमालेबाट मनोनयन दर्ता गराएका छन् ।

- लक्ष्मी गौतम (पाँचथर), डम्बरसिं राई (खोटाङ), भानुभक्त निरौला (सोलुखुम्बु)

प्रकाशित : आश्विन २५, २०७९ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्

बाढीले साढे ३ हजार परिवार विस्थापित

प्रदेश ब्युरो

काठमाडौँ — खोला र नदीमा जलस्तर बढेर शनिबार बिहानदेखि बस्ती पसेपछि कैलालीको पूर्वी क्षेत्रमा झन्डै दुई हजार परिवार विस्थापित भएका छन् । बस्ती जलमग्न भएका कारण स्थानीय बासिन्दा ज्यान जोगाउनै मुस्किल भएको बताउँछन् ।

जिल्ला प्रशासन कार्यालय कैलाली सूचना अधिकारी शिवराज जोशीका अनुसार विभिन्न नदीमा आएको बाढी बस्तीमा पसेर जोशीपुरमा ४ सय, कैलारीमा १ सय ८०, टीकापुरमा १ सय ७५, भजनीमा १ हजार ५०, जानकी गाउँपालिकामा ९५, लम्की चुहामा १ सय ५०, धनगढी उपमहानगरमा १५ परिवार गरी २ हजार ५५ घर डुबानमा परेको प्रारम्भिक जानकारी आएको छ । यस्तै, टीकापुरमा ७० र जानकीमा ६५ परिवार र भजनी नगरपालिकामा ८ सय जना विस्थापित भएका छन् । स्थानीय काँडा, कान्द्रा, पथरिया, कटनी, मोहना र कर्णाली नदीको बाढी पसेर दक्षिणी पूर्वी क्षेत्रमा पर्ने टीकापुर, भजनी नगरपालिका, जोशीपुर, कैलारी र जानकी गाउँपालिका अधिकांश वडा जलमग्न बनेका छन् ।

भजनी नगरपालिका प्रमुख केवल चौधरीले नौ वटै वडाका बस्ती जलमग्न भएको बताए । धेरै परिवार आफ्नै घरको माथिल्लो तलामा थुनिएका छन् । टीकापुर–१, २, ३ मा कर्णालीको बाढीले सात सय बढी घर प्रभावित भएको र दुई सय परिवार विस्थापित बनेको नगर प्रमुख रामलाल डगौराले बताए । धनगढी उपमहानगरपालिका–१३ झालागरी गाउँका १७ वर्षीय नविना चौधरीको बाढीले भरिएको तलाउमा माछा मार्न जाने क्रममा शनिबार मृत्यु भएको छ ।

कञ्चनपुरको वनहरा र दोदा नदीको बाढीले दर्जनौं बस्ती डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार रातिदेखि विभिन्न नदीमा आएको बाढी बस्ती पस्दा ४ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । विस्थापितहरूलाई स्थानीय विद्यालयमा राखिएको छ । वनहराको बाढीले शुक्लाफाँटा नगरपालिका–११ को वनहरा शिविरका २५ टहरा बगाएको प्रहरीले जनाएको छ । वनहरा नदीको बाढीले शुक्लाफाँटा नगरपालिका–१२ चित्रपुर र लालझाडी गाउँपालिकाको तिल्की जोड्ने झोलुंगे पुल भत्काएको छ । बाढीले हुलाकी सडकसमेत बगाएको छ ।

बाढीले बर्दियामा झन्डै सात सय जना विस्थापित भएका छन् । बाढी र डुबानले राजापुर र ठाकुरबाबा नगरपालिकाका बासिन्दा बढी प्रभावित भएका हुन् । राजापुरका डुबानपीडित ६ सय ५९ जनाले विद्यालय, सामुदायिक वनका भवनलगायत सुरक्षित स्थलमा आश्रय लिइरहेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए । राजापुरमा पछिल्लो २४ घण्टामा २ सय २७ मिलिमिटर वर्षा भएको स्थानीय प्रशासनले जनाएको छ । २४ घण्टामा १ सय ४० मिलिमिटर वर्षा भए जोखिम मानिन्छ । बबई, कर्णाली र सानाठूला खोलामा पानीको बहाव अहिले उच्च छ । दुई साताअघि पनि डुबानका कारण ठाकुरबाबा नगरपालिका–५ र ७ का ३५ घरपरिवारलाई अन्यत्र सारिएको थियो ।

गेरुवा गाउँपालिका–३ सनकटीघाटमा अहिले कर्णाली नदी कटानले व्यापक क्षति पुर्‍याउन थालेको छ । नदी कटानले कर्णाली नदीस्थित सत्तीपुल पनि जोखिममा पारेको छ । ओराली बजार र डल्ला हुँदै ठाकुरद्वारा जाने सडक खण्ड नदी कटानले बगाएको छ । पाल्पाका विभिन्न ठाउँमा खसेको पहिरोले सिद्धार्थ राजमार्ग र तानसेन–रिडी सडकमा यात्रा गर्ने यात्रुले सास्ती भोग्नुपरेको छ । कतिपय स्थानमा सडक एकतर्फी बनेको दोभान चौकीका प्रहरी सहायक निरीक्षक कुलबहादुर श्रेष्ठले बताए । सिसुवा, चौबिसमाइल, चर्चरे, कालीमाटीलगायत स्थानमा पनि पहिरो खस्ने र सडक अवरुद्ध भइरहेको छ । पहिरोका कारण तानसेन–रिडी सडक खण्ड पनि ठाउँठाउँमा अवरुद्ध भएको छ । अविरल वर्षाले रामपुर नगरपालिका–५ बेझाडस्थित कालीगण्डकी करिडोर जोड्ने सडक भासिएको छ । सिद्धार्थ राजमार्गको तिनाउ–५ हिउँदेखोलामा पनि डाइभर्सन बनाएको स्थान वर्षाले भासिएको छ ।

मोहन बुडाऐर (धनगढी), भवानी भट्ट (कञ्चनपुर), जे पाण्डे (बाँके) कमल पन्थी (बर्दिया) र माधव अर्याल (पाल्पा)

प्रकाशित : आश्विन २, २०७९ ०६:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×