१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २००

धरान-धनकुटा सडक खण्डमा गुडिरहेको बसमा आगलागी, यात्रु सकुशल

रमेशचन्द्र अधिकारी

धनकुटा — कोसी राजमार्गको धरान–धनकुटा सडक खण्डको भेडेटार नजिक शुक्रबार अपराह्न बसमा आगलागी भएको छ । काठमाडौंबाट धनकुटातर्फ जाँदै गरेको ना.६ ख ७६९० नम्बरको मितेरी बसमा गुडिरहेको बखत अपराह्न साढे ३ बजे आगलागी भएको प्रहरीले जनाएको छ ।

धरान-धनकुटा सडक खण्डमा गुडिरहेको बसमा आगलागी, यात्रु सकुशल

सुनसरीको धरान उपनगरपालिका ४ देवीस्थानमा घटना भएको इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी नायव निरीक्षक रामप्रसाद शर्माले जानकारी दिए । बसमा अकस्मात आगलागी सुरु भएपछि यात्रुहरु भागाभाग भएको जनाइएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले धरानबाट आएको दमकलको सहायतामा आगो निभाएका थिए । बसमा विद्युत् सर्ट हुँदा आगलागी भएको प्रहरीको भनाइ छ ।

बस पूर्णरुपमा क्षति पुगेको छ । मानवीय क्षति भने भएको छैन । आगलागी सुरु भएपछि यात्रुहरु उत्रिएर बच्न सफल भएका छन् । केही यात्रुको झोला तथा सामान क्षति भएको जनाइएको छ । घटनास्थल भेडेटारबाट १ किलोमिटर दूरीमा पर्दछ । बसमा ३५ यात्रु सवार थिए ।

प्रकाशित : आश्विन २१, २०७९ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?