कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाँचथरको याङवरकमा निशान जात्राको रमझम

लक्ष्मी गौतम

पाँचथर — पाँचथर जिल्लाको याङवरक-४ स्थित कालिका मन्दिर परिसरमा निशान जात्राको रमझम सुरु भएको छ । यहाँ प्रत्येक वर्ष बडादसैंको नवमीका दिन युद्वकालिन हात हतियार सहित निशान प्रदर्शन गरिन्छ ।

पाँचथरको याङवरकमा निशान जात्राको रमझम

यो पर्वमा नेपाल राज्यको एकिकरणका क्रममा १७ पटकसम्म युद्ध गर्दा पनि जीत/हार नभएपछि सम्झौताका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाहले पल्लो किराँतका लिम्बूहरूलाई उपहार स्वरुप छाडेको निशान प्रदर्शन गर्ने चलन छ ।

निशानसँगै युद्धकालीन समयमा प्रयोग भएका भाला, खुँडा, खुकुरी र तरवारजस्ता हतियार पनि नचाइन्छ ।

स्थानीय स्तरमा निशानजात्रा र मौलोका नामले प्रचलित यो जात्रा हेर्दा दुर्गा भवानीको शक्ति प्राप्त हुने जनविश्वास छ ।

निशान हेर्न पाँचथरसहित छिमेकी जिल्ला ताप्लेजुङ, तेह्रथुम र इलाम हुँदै सिक्किमबाट समेत दर्शक आइपुग्छन् ।

निसान जात्राको नेतृत्व थर्पु र नाागीका लिम्बूहरूले गर्दै आएका छन । जात्राको संरक्षणका लागि याङवरक गाउँपालिकाले आर्थिक सहयोग गर्दै आएको छ । यस वर्ष यो जात्रा हेर्न विभिन्न स्थानबाट २० हजार मानिस आएको निशान मेला आयोजक तथा व्यवस्थापन समितिका अध्यक्ष सहरनन्द योङहाङले बताए ।

यहाँ श्रीजंग र कम्फु गरी दुईवटा निशान छन् । दुवै निशानलाई घटस्थापनाका दिन विधिपूर्वक पूजा गरेर आज दिनभर प्रदर्शन गरी थन्क्याउने चलन छ ।

प्रकाशित : आश्विन १८, २०७९ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?