कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिक्लाजुङका अविवाहित महिलालाई भत्ता  

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको मिक्लाजुङ गाउँपालिकाले ४५ वर्ष उमेर पूरा भएका अविवाहित महिलालाई भत्ता दिने भएको छ । गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने ४५ वर्ष उमेरसम्म विवाह नगरी बसेका महिलालाई चालु आर्थिक वर्षको सुरुदेखि लागू हुनेगरी भत्ता दिने प्रक्रिया थालेको हो ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अग्नी चौलागाईंका अनुसार उनीहरुको जीवन निर्वाहमा सहजीकरण गर्न पालिकाले मासिक १ हजार ५ सय रुपैयाँ भत्ता दिन लागेको हो । यो निर्णय कार्यन्वयनमा आएसँगै यहाँका अविवाहित महिलाले अब वार्षिक १८ हजार रुपैंयाका दरले रकम पाउनेछन् ।

यो व्यवस्था कार्यन्वयन गर्न गत असार १० गते सम्पन्न दसौं गाउँसभामा प्रस्ताव पेस भएको थियो । प्रस्ताव पारित भएसँगै अब कार्यान्वयनका चरणमा प्रवेश गरेको गाउँपालिकाले जनाएको छ । भत्ता वितरणका लागि पालिकास्थित आठवटै वडा कार्यालयबाट ४५ वर्ष पूरा भएका अविवाहित महिलाको अभिलेखकरण सुरु गरेको पनि चौलागाईंले बताए ।

मिक्लाजुङले उक्त रकमलाई सामाजिक सुरक्षा भत्ताकै रुपमा परिभाषित गरेको छ । मिक्लाजुङले तीन वर्ष अगाडिदेखि मापदण्ड बनाएर धेरै अन्न फलाउने किसानलाई ५० हजारदेखि १ लाख रुपैयाँसम्म पुरस्कार दिँदै आएको छ ।




प्रकाशित : आश्विन १७, २०७९ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?