बाउबाजेले जग्गा बाँडे, सन्तान सुकुम्बासी- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाउबाजेले जग्गा बाँडे, सन्तान सुकुम्बासी

‘भाग्यको खेला यस्तो पनि हुँदो रहेछ, बिघौंबिघा जमिन दान दिन सक्ने पुस्ताका हामी सन्तानको यस्तो बिजोग छ, खुट्टा टेक्ने जमिनसमेत छैन’
अर्जुन राजवंशी

बिर्तामोड — सामर्थ्य र सार्थकता पुष्टि भएरै होला, उनलाई अभिभावकले नाम नै सम्पत्ति राखिदिएका थिए । तर, जीवनको उत्तरार्धमा उनलाई उनकै नामको अर्थले गिज्याइरहेको महसुस हुन्छ ।  यतिबेला सम्पत्तिको दैनिकी अभावै अभावमा बितिरहेको छ ।

विपन्नताको पनि अन्तिम विन्दुमा पुगेको छ उनको जीवन । ओत लाग्ने एउटा सानो छाप्रो छ । जेनतेन घामपानी थेगेको छ । छाप्रोभित्रको भुइँ कहिल्यै ओभानो भएन । चिसै भुइँमा बस्न बाध्य छिन् ९० वर्षीया सम्पत्ति । उनी जमिनदार डोमालाल राजवंशीकी एक्ली छोरी हुन् ।

समाजसेवी डोमालालले छोराहरूलाई मात्र अंश दिएनन्, विवाह गरेर छोरी अन्माउँदा सम्पत्तिलाई समेत १० बिघा जमिन दाइजो दिएका थिए । २०२१ मा सरकारले भूमि सुधार ऐन लागू गर्दा हदबन्दीभन्दा बढीको जग्गा सरकारले हडप्नुअघि डोमालालले आफन्त र साथीभाइलाई बाँडे । सोही क्रममा डोमालालले स्थानीय ‘अनारमनी दुर्गा गुठी स्थान’ को नाममा १२ बिघाभन्दा बढी जग्गा दान दिए । बिर्तामोड नगरपालिका–३ बिर्ताबजारस्थित सोही जग्गाको एक भागमा ‘डोमालाल राजवंशी रंगशाला’ बनाइएको छ । मोफसलकै उत्कृष्ट रंगशालाको उपाधि पनि पाएको छ, डोमालालले ।

फाइल तस्बिर : बिर्तामोड नगरपालिका–३ बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशाला ।

‘झापा गोल्डकप’ को रौनकता र सफलता सायद डोमालाल राजवंशी रंगशालामै हुने भएकाले पनि हो । बजार क्षेत्रको १२ बिघा जमिनको मूल्य आजको दिनमा करोडले हिसाब गर्दा पनि कम हुन्छ । स्थानीय विकास र समुदायका लागि अर्बौंको सम्पत्ति निःशुल्क दान दिने राजवंशी परिवारको अवस्था भने यतिबेला अति दयनीय छ । डोमालाल राजवंशीकी छोरी सम्पत्ति तथा नातिहरू भीमबहादुर, छविलाल र सुकलाल छन् । जमिनदार डोमालालका यी सन्तान यतिबेला अति विपन्न परिवारका रूपमा छन् । भीमबहादुर बिर्ताबजारको एक होटलमा कालिगडको काम गर्छन् । छविलाल र सुकलाल तीनपांग्रे ठेला चलाउँछन् ।

हजुरबुबा डोमालाल जमिनदार भए पनि छोरी र नातिहरू भूमिहीन सुकुम्बासी छन् । उनीहरूसँग एक चपरी माटो खन्ने जमिनसमेत छैन । अर्बौर्कों जमिन दान दिने दाता परिवारकै सन्ततिको बिजोग देखेका बिर्ताबजारवासीले हजुरबुबाले दान दिएको जमिनको एक छेउमा बसोबास गर्ने व्यवस्था मिलाइदिएका छन् । छोरी सम्पत्ति र नातिहरू त्यही जमिनमा सानोसानो टहरा बनाएर बसेका छन् ।

‘भाग्यको खेला यस्तो पनि हुँदो रहेछ, बिघौंबिघा जमिन दान दिन सक्ने पुस्ताका हामी सन्तानको यस्तो बिजोग छ, खुट्टा टेक्ने जमिनसमेत छैन,’ मलिन अनुहारमा सुकलालले भने । उनीहरू हजुरबुबाले दान दिएको जमिनमा बसोबास गरेको अढाई दशक पुग्यो । ‘नेताहरूले हामीलाई यही बस्नु पछि सबैलाई भिट्टा दिन्छौं भनेर भनेका थिए, यहाँ बसेको २५ वर्ष पुग्न लागिसक्यो, अहिलेसम्म लालपुर्जा बनाइदिएका छैनन्, खोइ ! भिट्टा दिन्छन् कि उठेर भाग भन्छन्,’ उनले भने ।

गत भदौ १ मा ७५ वर्षको उमेरमा उजारु राजवंशीको निधन भयो । बिर्तामोड–९ गरामनीस्थित दुर्गा माविलाई करोडौं मूल्य पर्ने जग्गा दाता राजवंशीको निधन हुँदा अन्त्येष्टि गर्ने सामान्य खर्चसमेत परिवारसँग भएन । छिमेकी र आफन्तले तत्काल सहयोग जुटाएर उनको अन्त्येष्टि गरे । कुनै बेला ९ बिघा जमिनका मालिक हुँदा राजवंशीले स्थानीय दुर्गा माविलाई बजार नजिकैको एक बिघा जग्गा निःशुल्क दान दिएका थिए । अहिले उक्त जमिनको मूल्य करोडौंमा पुगेको छ ।

तर, दाता परिवार भने सुकुम्बासीको अवस्थामा पुगेको छ । राजवंशी परिवारसँग अहिले मात्र दुई कट्ठा जमिन छ । दाता उजारुका तीन भाइ छोरा छन् । तीनै भाइ छोरा सामान्य ज्यालादारी काम गरेर जीविकोपार्जन गरिरहेका छन् । ४० को दशकमा गरामनीमा एउटा मात्र स्कुल थियो, दुर्गा मावि । विद्यालयको भौतिक एवं शैक्षिक विकासका लागि उजारुले निःशुल्क जग्गा दान दिए । विडम्बना, उजारुका तीनै भाइ छोराले भने उक्त विद्यालयबाट सामान्य कखरासमेत सिक्न पाएनन् ।

विद्यालयलाई करोडौं मूल्य पर्ने जग्गा दान दिने उजारु राजवंशीको झापा बिर्तामोड नगरपालिका-९ लखीबारीस्थित घर । तस्बिर : अर्जुन/कान्तिपुर

दाता उजारुकी ७२ वर्षीया पत्नी चम्पा राजवंशी भत्किनै लागेको सानो कटेरोमा बस्छिन् । पुराना जस्तापाताले बनाइएको कटेरोले बर्खामा पानी र हिउँदमा चिसो छेक्दैन । चम्पाले एउटै कोठामा चुलो र सुत्ने खाट राखेकी छन् । आम्दानीको स्रोत छैन । दुई छाक खानै मुस्किल रहेको राजवंशी परिवारमा घर बनाउने कुरा अस्वाभाविक जस्तो लाग्छ ।

उजारुको निधनमा दुर्गा माविका शिक्षक, कर्मचारी समवेदना दिन उनको घर पुगे । स्थानीयको आग्रहमा विद्यालय परिवारले किरिया खर्चबापत केही रकम सहयोग गर्‍यो । विद्यालय परिवार र स्थानीयहरू यतिबेला सहयोग जुटाएर चम्पाका लागि एउटा सानो घर बनाइदिने पहलमा जुटेका छन् । ‘हाम्रो त आम्दानी छैन, घर बनाउन सक्ने अवस्थै छैन,’ उजारुका कान्छा छोरा सागु राजवंशीले भने ।

प्रकाशित : आश्विन ९, २०७९ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्

आजबाट सकिँदै यस वर्षको पितृपक्ष

तस्बिर : इलिट जोशी

काठमाडौँ — पितृपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तको स्मरण गर्दै यस वर्षको सोह्रश्राद्ध विसर्जन गरिँदै छ । असोज कृष्णपक्ष हिन्दू वैदिक परम्परामा पितृपक्षका रूपमा यो पक्षभरि दिवङ्गत आफन्तलाई पवित्र जलको तर्पण र गाईका दूधमा पकाइएको खिरको पिण्ड दिई श्राद्ध गर्ने चलन छ ।

पितृपक्षका अवसरमा मधेस प्रदेशको प्राचीन मिथिलाक्षेत्रमा तीर्थश्राद्ध गर्ने परम्परा स्थापित छ । टाढाको तीर्थ जान नसक्नेहरू नजिकको धार्मिक महत्त्व बोकेका नदी र तलाउतटमा आज अन्तिम तर्पण दिँदै पितृ विसर्जन गर्दै छन् ।

आर्थिक अवस्था राम्रो हुनेहरु तीर्थश्राद्ध गर्न भारतको विहार राज्यमा पर्ने पुनपुन र गयास्थित फाल्गु नदी किनारमा जाने गर्छन् । शारीरिक र अन्य आर्थिक कारणले तीर्थ जान नसक्नेले भने घरैमा तर्पण र पिण्डदान गरेर पितृस्मरण गर्छन् ।


प्रकाशित : आश्विन ९, २०७९ १२:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×