कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजनीतितर्फ पाइला बढाउँदै उद्यमी

‘आर्थिक रूपमा सबल छु, अब राजनीतिमा मौलाएको विकृतिको अन्त्य गरेर विशुद्ध मुलुकका लागि काम गर्न राजनीतिमा पाइला टेकेको हुँ ।’ - अरुण राठी
विनोद भण्डारी

विराटनगर — विराटनगरको आदर्श माविबाट एसएलसी उत्तीर्ण गरेपछि २०४० सालमा अरुण राठी उच्च शिक्षाका लागि भारतको कोलकाता पुगे । त्यो बेला गुणस्तरीय स्वास्थ्योपचार र शिक्षाका लागि बाहिर जानुको विकल्प पनि त थिएन ।

राजनीतितर्फ पाइला बढाउँदै उद्यमी

हजुरबुबा रामकिशन र पिता युगलकिशोर राठी खाद्यान्न कारोबार गर्थे । त्यसका लागि विराटनगरमा जुगल, झापाको गौरीगञ्जमा घनश्याम र सुनसरीको इटहरीमा आनन्द राइस मिल उनीहरूले खोलिसकेका थिए ।

कोलकातामा व्यवस्थापन संकायमा स्नातक अध्ययनकै क्रममा अरुण राठीले भविष्यको सपना बुनिसकेका थिए । बी–कम गरेर घर फर्किने, मनग्गे पैसा कमाउने अनि अस्पताल एवं शिक्षण संस्था खोल्ने र मुलुकको विकासका लागि काम गर्ने उनका लक्ष्य थिए ।

पढाइ सकाएर उनी २०४३ सालमा विराटनगर फर्किए । तर हजुरबुबा र बुबाले गरिरहेको खाद्यान्न कारोबारतर्फ ध्यान दिएनन् । नयाँ उद्योग खोज्न थाले । त्यसै क्रममा उनमा बिजुली बत्तीको स्विच उद्योग खोल्ने उपाय सुझ्यो । परिवारमा सरसल्लाह गरे, सबैले अनुमति दिए । त्यसपछि उनले मुलुककै पहिलो राठी स्विच उद्योग खोले ।

उद्योगलाई स्थापित गर्न अनेक संघर्ष गरे । बजारीकरणमा एक्लै हिँडे । अन्ततः स्विच उद्योगले सफलता पाएसँगै उनको आर्थिक अवस्था बढ्दै गयो । त्यसपछि राठी कोल उद्योग खोल्ने उपाय सुझ्यो । उद्योग खोले । त्यसलाई पनि स्थापित गराउन अरुण एक्लै अघि बढे । त्यो उद्योग पनि स्थापित भएर आम्दानी दिन थालेपछि उनले अर्को राठी केबल उद्योग खोले । त्यसले पनि सफलता पाएपछि उनी ट्रेडिङ व्यापारतिर लागे ।

आर्थिक रुपमा सुदृढ हुँदै गएपछि अरुणले एनामेल कपर वायर, हुन्डाई इलेक्ट्रोनिक्स, सेलुन टायर, एबीसी ट्रान्सफर्मरलगायत विभिन्न कम्पनीका विद्युतीय सामान र हार्डवेयर सामानको थोक बिक्रेताको कारोबार सुरु गरे । अरुणले उद्योग र व्यापारबाट सम्पन्नताको भर्‍याङ उक्लिँदै गए । त्यसपछि उनको मन स्वास्थ्य संस्था खोल्नेतर्फ गयो । त्यसै क्रममा पत्नी ललिताको उपचारका क्रममा प्रसूतिरोग विशेषज्ञ डा. ज्ञानेन्द्रमान कार्कीसँग सम्पर्क भयो । राम्रो उपचारका लागि विराटनगरवासी भारत पुग्नुपर्ने बाध्यता बुझेका राठीले कार्कीसँग मिलेर नर्सिङ होम खोल्ने योजना बनाए ।

दुवै जना सहमत भएपछि विराट नर्सिङ होम खोले, जुन अहिले विराट अस्पतालका नामले चिनिन्छ । त्यो नर्सिङ होम स्थापित भएपछि उनी सात वर्ष लामो साझेदारीबाट अलग्गिए । त्यसपछि उनको ध्यान शिक्षण संस्था खोल्नेतर्फ सोझियो । त्यसै क्रममा उनको सम्पर्क विशाल ग्रुप, मुन्दडा, संघाई र त्रिवेणी ग्रुपका औद्योगिक घरानासँग भयो । उनीहरूसँग मिलेर दिल्ली पब्लिक स्कुल खोले ।

त्यो स्कुल पनि सबल रुपमा अघि बढेपछि उनी युवा उद्योगीलाई स्वास्थ्य र शिक्षामा पनि लगानी गर्न सुझाव दिन थाले । त्यसै क्रममा उनको ध्यान इन्जिनियरिङ कलेज खोल्नेतर्फ सोझियो । विशाल र मुन्दडा समूहसँग मिलेर इस्टर्न इन्जिनियरिङ कलेज खोले । उनी अहिले राठी ग्रुपका प्रबन्ध निर्देशक छन् । उनको समूहले वार्षिक ७ अर्ब रुपैयाँको कारोबार गर्दै आएको छ ।

अब उनलाई एक काम गर्न रहर छ— देश विकासको । उद्योग खोल्ने, व्यवसाय गर्ने, शिक्षण र स्वास्थ्य सस्था खोलेर सफलता हात पार्दै गरेको समयमा उनलाई राजनीति भनेको एकले अर्काको खुट्टा तान्ने र भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाउने थलो जस्तो लाग्थ्यो । आर्थिक रुपमा सम्पन्न भएपछि भने उनी आफैंलाई मुलुक बनाउन राजनीतिमा छिर्ने रहर चल्यो । त्यसै क्रममा उनी नेकपा एमाले प्रवेश गरे ।

उनलाई आत्मीय सहकर्मीहरूले ४ मंसिरको आम निर्वाचनमा स्वतन्त्रबाट उम्मेदबार बन्न सुझाव पनि दिए । तर उनको मनमा कुनै पनि दललाई साथ नलिए राजनीतिमा सफल नहुने कुरा खेल्न थाल्यो । त्यसै क्रममा उनले एमालेको साथ लिए । उनी प्रदेशसभा सदस्यका लागि एमाले मोरङबाट समानुपातिक उम्मेदवारको सूचीमा छन् । ‘आर्थिक रूपमा सबल छु, अब राजनीतिमा मौलाएको विकृतिको अन्त्य गरेर विशुद्ध मुलुकका लागि काम गर्न राजनीतिमा पाइला टेकेको हुँ,’ ५६ वर्षीय अरुणले भने ।

प्रकाशित : आश्विन ८, २०७९ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?