प्रादेशिक अस्पताल भद्रपुर अब २०० शय्याको- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रादेशिक अस्पताल भद्रपुर अब २०० शय्याको

कान्तिपुर संवाददाता

विराटनगर —  मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको प्रदेश १ मन्त्रिपरिषद्को बिहीबारको बैठकले झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालको स्नरोन्नति गरी २ सय शय्या र भोजपुर जिल्ला अस्पताललाई ५० शय्याको बनाउने निर्णय पनि गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार बैठकले स्वास्थ्य मन्त्रालयले प्रस्तुत गरेको प्रस्तावका आधारमा ती दुई अस्पतालको स्तरोन्नतिको गर्ने निर्णय गरेको हो ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा प्रस्तुत नेपाल सरकारको ५ असोजको निर्णय प्रचलित कानुनसमेतको दायराभित्र रही कार्यान्वयन गर्न प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

उक्त निर्णयअनुसार धनकुटाको भेडेटारमा बन्न लागेको स्वाइवाकका लागि आवश्यक जग्गा सट्टापट्टा गर्ने जिम्मेवारी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकलाई हुनेछ । बैठकले प्रदेश खानेपानी तथा सरसफाइसम्बन्धी व्यवस्था गर्न विधेयक तर्जुमाको सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

प्रकाशित : आश्विन ७, २०७९ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्

कक्षाकार्य र गृहकार्यमै सीमित शिक्षण सिकाइ

मधु राई

‘घरमा पढ्दै पढ्दैन म्याम, यसलाई गृहकार्य अलि बढी दिनुभए हुन्थ्यो ।’ निजी विद्यालयमा कखरा चिन्दै गरेका छोराछोरीका लागि यसरी गृहकार्यको माग गर्ने अभिभावक धेरै हुन्छन् । शिशु कक्षाका मात्र होइन एलकेजी र यूकेजीका विद्यार्थीका कतिपय अभिभावक पनि गृहकार्य थपिमाग्छन् । कतिपय अभिभावकले छोराछोरीले अक्षर चिने कि चिनेनन् भनेर घरमा बुझ्नेभन्दा पनि कक्षाकार्य गरे कि गरेनन्, शिक्षकले गृहकार्य दिए कि दिएनन् भनेर सोधपुछ गर्छन् । 

विशेष गरी शिशुकक्षाका साना विद्यार्थीहरूलाई सबैभन्दा पहिले अक्षर चिनाउनु तथा लेखनका आधारभूत सीप सिकाउनुपर्ने हुन्छ, जसका लागि लेखपढको सामान्य अभ्यासले मात्र पुग्दैन । विभिन्न शैक्षिक सामग्रीसहितको शिक्षणसिकाइ चाहिन्छ । तिनलाई लेखपढभन्दा पनि शैक्षिक सामग्रीले बढी आकर्षित गर्छ । जस्तो आटा र सुजीलाई पनि शैक्षिक सामग्रीका रूपमा उपयोग गर्न सकिन्छ । यसबाट बनाइने खेल सामग्रीले उनीहरूलाई उत्साहित मात्र बनाउँदैन आफैं पनि खेल्न अग्रसर बनाउँछ । बालविकास कक्षामा यसरी खेल्दै ६ महिना वा वर्ष दिनसम्म सिकेका सीपले उनीहरूलाई शिशुकक्षामा राम्ररी अक्षर चिन्न र लेख्न प्रोत्साहन मिल्छ ।

शिशुकक्षामा साँवा अक्षर लेख्न र पढ्न सिकेकाहरूलाई एलकेजीमा सरल शब्दहरू सिकाउँदै शब्दभण्डार बढाउने अभ्यास गराउनुपर्छ । यसो गरे विद्यार्थीहरूले यूकेजीमा सरल वाक्य सहजै गठन गर्न सिक्छन् । यस्तै पूर्वप्रावि तहका कतिपय विषय पढाउने र लेखाउनेभन्दा पनि अतिरिक्त क्रियाकलाप गर्दै सिकाउनुपर्ने हुन्छ । यसो गर्दा कतिपय अभिभावक ‘आज त म्याम कक्षाकार्य पनि छैन, गृहकार्य पनि दिनुभएनछ नि !’ भन्ने गरेको पाइन्छ । बेलाबेला विद्यार्थीलाई ‘पढेर आउनू है’ भन्दा पनि अभिभावकले लिखित रूपमै गृहकार्य खोज्ने गर्छन् । निजी विद्यालयका अधिकांश अभिभावक छोराछोरी सधैंभरि लेखपढ गरिरहुन भन्ने चाहन्छन् र उनीहरूकै इच्छा पूरा गर्न शिक्षक तथा विद्यालय व्यवस्थापन कम्मर कसेर लागेको देखिन्छ । एक त उमेर नपुगी विद्यालय भर्ना गर्न हतारिने अर्को विद्यालय जानेबित्तिकै लेखपढ गर्न थालोस् भनेर अतिरिक्त चाहना राख्ने अभिभावककै कारण पूर्वप्राथमिक तहको शिक्षणसिकाइ निष्क्रिय बन्न पुगेको देखिन्छ ।

पूर्वप्रावितहदेखि नै कक्षाकार्य र गृहकार्यको बोझ बोक्नुपर्ने विद्यार्थीहरूको बालमनोविज्ञानमा परिरहेको असर पर्नेबारे न शिक्षक संवेदनशील छन् न त अभिभावक नै । अझ कतिपय नानीबाबुलाई कक्षामा प्रथम आउनकै लागि ट्युसनसमेत पढाउने गरिन्छ । यसो गर्दा विद्यार्थीहरूको पढाइ राम्रो भए पनि घर र विद्यालयको चौघेराभन्दा बाहिरको समाजबाट भने अलगथलग हुन्छन् । आफ्नो समाजबारे अनभिज्ञ हुन्छन् । अझ कतिपय अभिभावक ‘मेरा छोराछोरी त कोठाबाट बाहिर निस्कँदैनन’ भनेर गौरवान्वित महसुस गर्छन् । यस्तो व्यवहारले औपचारिक शिक्षा फलदायी बन्न सकेको छैन ।

हुन पनि, ठूलाको तुलनामा पूर्वप्राथमिक तहका बालबालिकाको शिक्षणसिकाइ कक्षाकार्य र गृहकार्यभन्दा माथि उठ्न सकेको छैन । यसले समग्र स्कुले शिक्षाको प्रारम्भिक शिक्षणसिकाइ नै नीरस बन्न पुगेको छ । अभिभावकको अति चाहना र विद्यालय व्यवस्थापन लगायत शिक्षकहरूले पनि सोहीअनुरूपको शिक्षणसिकाइ गर्नाले यस्तो भएको छ । कक्षाकार्य र गृहकार्यको बोझले विद्यार्थीहरूको वर्तमान मात्र होइन, भविष्य नै अन्योलग्रस्त बनिरहेको छ ।

शिक्षणसिकाइ कक्षाकार्य र गृहकार्यभन्दा माथि उठ्न नसक्नुका एउटा प्रमुख कारण पाठ्यपुस्तक पनि हो । कतिपय नाम चलेका स्थापित विद्यालयले नै आफ्ना पाठ्यपुस्तक जीवन र जगत्सँग जोडिन्छ कि जोडिँदैन भन्नेबारे सोचेको पाइँदैन । पछिल्लोसमय प्रकाशकहरूबीच धेरै पृष्ठका पाठयपुस्तक प्रकाशन गर्ने होड नै चलेको छ । यस्तो प्रतिस्पर्धालाई स्थापित तथा नाम चलेका विद्यालयहरूले होस्टेमा हैंसे गरिरहेका छन् । उदाहरणका लागि, लावन्य इन्टरनेसनल प्रालिले प्रकाशित गरेका पाठ्यपुस्तक लिन सकिन्छ । पूर्वप्रावितहका लागि भनिएका पाँचवटा विषयका पुस्तकको तौल झन्डै २ केजी छ भने एउटै पुस्तकको तौल ४०० ग्राम र पृष्ठ पनि १४८ देखि १७२ सम्म छ । यस्तै ८.५ इन्च चौडा र ११.५ इन्च लम्बाइका ती पुस्तक विद्यार्थीले बोक्नै सक्दैनन् । अभिभावकले बोकिदिनुपर्छ । कक्षा उक्लिँदै जाँदा पुस्तकको भारी पनि बढ्दै जान्छ ।

ज्ञानको भन्दा पुस्तकको भारी बोक्न अभ्यस्त वतमान शिक्षाको शल्यक्रिया गर्न सरोकारवाला पूर्णतः चुकेका छन् । पृष्ठ संख्या बढाउनकै लागि बढी अभ्यासहरू थपिएका छन् । तर, ती अभ्यास कापीमा लेख्दा विद्यार्थीहरूको हस्तलेखन मात्र सपि्रँदैन पुस्तकको पृष्ठ संख्या पनि घट्छ । यसो हुँदा विद्यार्थीहरूको कक्षाकार्य र गृहकार्यको बोझ पनि स्वतः घट्छ ।

यद्यपि राजधानीस्थित कतिपय नाम चलेका शैक्षिक संस्थाले विद्यार्थीलाई कक्षाकार्य र गृहकार्यभन्दा पनि परियोजना कार्य लगायत अतिरिक्त क्रियाकलाप गराउनुपर्छ भनेर बेलाबेला कार्यशाला आयोजना गर्दै आएका छन् । जस्तो, काठमाडौं विश्वविद्यालय, रातोबंगला, ब्रिटिस स्कुल लगायतले आयोजना गर्ने यस्ता कार्यशालामा स्वदेशी तथा विदेशी प्रशिक्षकहरूले शिक्षणसिकाइमा बालमनोविज्ञान लगायत विद्यार्थीकेन्द्रित क्रियाकलाप गर्न सुझाउने गरेका छन् ।

पछिल्लो समय प्रारम्भिक बालविकासको अवधारणा अनुरूप साना विद्यार्थीलाई शिक्षणसिकाइ गर्नुपर्छ भनेर शिक्षा क्षेत्रमा अघोषित अभियान नै सुरु भएको छ । नगन्य विद्यालयहरूले सोहीअनुरूप शिक्षणसिकाइ गर्ने प्रयास गरिरहे पनि अधिकांश निजी विद्यालयको शिक्षणसिकाइ कक्षाकार्य र गृहकार्यमै सीमित छ । यसको बोझ हलुंगो पार्न पाठ्यपुस्तकको पाना घटाउन र आकार सानो बनाउन जरुरी छ । पूर्वप्राथमिक तहका विद्यार्थीहरूको उमेर र रुचिलाई ध्यानमा राखी केकस्ता पाठ्यसामग्री र अभ्यास समावेश गर्ने भन्नेबारे शिक्षाविद्लगायत सरोकारवालहरूसँग बृहत् छलफल गर्नु आवश्यक छ । विद्यार्थीको उमेर र रुचिलाई नजरअन्दाज गरी प्रकाशन गरिने पाठ्यपुस्तकले कस्तो ज्ञान दिइरहेको छ भन्नेबारे विद्यालय र प्रकाशकहरू संवेदनशील हुनुपर्छ । पाठ्यपुस्तक समयसापेक्ष विषयवस्तुले भरिए विद्यार्थीलाई पढाइप्रति रुचि मात्र जगाउँदैन, यसले जीवन र जगत्बारे बुझाउन पनि मद्दत गर्छ । अफसोस प्रचलित पाठ्यपुस्तकले विद्यार्थीलाई आकर्षित गरेको पाइँदैन, उल्टै कक्षाकार्य र गृहकार्यको बोझले थकित विद्यार्थीको शिक्षा आर्जन गर्ने जोस नै मारेको छ । अब यस्तो परम्परागत शिक्षण सिकाइ बदल्नु जरुरी छ ।

प्रकाशित : आश्विन ७, २०७९ ०८:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×