कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोसी पहाडी करिडोरको तरकारी बालीमा क्लब रुटको प्रकोप

बारीमै कुहियो करोडौंको बन्दा
चन्द्र कार्की

तेह्रथुम — तेह्रथुमसहित धनकुटा र संखुवासभाका किसानले लगाएको बेमौसमी तरकारी बालीमा क्लबरुट (गाँठे रोग) महामारीको रुपमा फैलिएको छ । रोग लागेपछि करोडौंको तरकारी बाली बारीमै कुहिएर किसानले नोक्सानी बेहोरिरहेका छन् । यी तीन जिल्लाका किसानले लगाएको बेमौसमी तरकारी बन्दा, काउली, रायोको साग, ब्रोकाउलीलगायत तरकारी बालीमा रोगको प्रकोप फैलिएको हो ।

कोसी पहाडी करिडोरको तरकारी बालीमा क्लब रुटको प्रकोप

प्रकोपका कारण कोशी पहाडी करिडोरका १५ हजारभन्दा बढी किसानले लगाएको बन्दालगायत तरकारी बाली बारीमै कुहिन थालेको छ । एक दशकयता रोगले निरन्तर आक्रमण गरिरहेको सिंधुवा कृषि भण्डारका प्रमुख बजार व्यवस्थापक मेघेन्द्र गुरुङले बताए ।

यो रोगले निरन्तर दुःख दिइरहेको गुरुङको भनाइ छ । सुरुका वर्षमा बन्दा बालीमा देखिएको यो रोगबारे नेपाल कृषि अनुसन्धान परिषद् नार्कको बाली रोग विज्ञान महाशाखा खुमलटारले किसानका बारीमै आएर अनुसन्धान गरेको थियो । दुई वर्षसम्म नदेखिएको यो रोग त्यसयता पुन: देखापरेको लालीगुराँस नगरपालिका ७ लसुनेका किसान साजन विश्वकर्माले बताए ।

तेह्रथुमको लालिगुराँस नगरपालिका र छथर गाउँपालिका, धनकुटाको महालक्ष्मी नगरपालिका र छथरजोरपाटी गाउँपालिका र संखुवासभाको धर्मदेवी नगरपालिकाका १५ हजारभन्दा बढी किसानले बारीमा रोपेको बन्दा रोगका कारण कुहिन थालेको छ ।

यी तिन जिल्लामा उत्पादित ताजा तरकारी भण्डारणमार्फत पूर्वी तराई हुँदै भारतीय बजारमा बिक्रीका लागि जाने गरेको छ । सुरुमा बन्दामा देखिएको यो रोगको प्रकोप फैलिएर अहिले काउली, रायो, ब्रोकाउली, तोरी, चम्सुर, सलगमलगायत बालीमा समेत देखिन थालेको छ ।

बन्दा, काउली फक्रिएर बजारमा पठाउने बेलामा रोगले आक्रमण गरेको चित्रेका किसान बलबहादुर अधिकारीले बताए । बजारमा निकाल्ने तयारी भएको ५ लाख रुपैयाँ बराबरको बन्दा रोगका कारण बारीमै कुहिएको लसुनेका किसान विश्वकर्माले बताए । महालक्ष्मी नगरपालिका खाप्राङका किसान होमराज रायमाझीका अनुसार रोगले बन्दा बालीमा ८५ प्रतिशतभन्दा बढी क्षति पुर्‍याएको छ ।

बन्दा, काउलीलगायत तरकारी बालीको बोटको मूल र सहायक जरामा गाँठा वा डल्ला देखिने र बिस्तारै एक प्रकारको ढुसी देखापर्ने र अन्त्यमा जरा, डाँठ हुँदै फल र पात नै कुहिने यो रोगको प्रमुख लक्षण हो । रोगको जीवाणुले बालीमा प्रवेश पाएको तीन हप्तापछि मात्र जरामा गाँठाहरू देखापर्ने कृषि विशेषज्ञहरूको भनाइ छ । दुई दशकको अवधिमा नेपालभर महामारीको रुपमा फैलिएको यो रोगको व्यवस्थापन, निदान, रोग लाग्नुको कारण, उपचार विधि, बाली चक्रप्रणालीलगायत विषयमा किसानको बारीमै पुगेर नार्कको बाली रोग विज्ञान महाशाखाले अध्ययन गरिरहे पनि अहिलेसम्म रोग निदान हुन सकेको छैन ।

यहाँको तरकारी बालीमा फैलिएको प्रकोपबारे ८ वर्षअघि कृषि अनुसन्धान केन्द्र पाख्रीबास धनकुटाले पनि अध्ययन गरेको थियो । किसानले बालीको व्यवस्थापन नगरेको; समयमा रोगको उपचार नगरेको; बिउ र मलमा ध्यान नदिएको; एकै ठाउँमा लामो समयसम्म एउटै बाली लगाएको; प्रकोप फैलिएको क्षेत्रका बिरुवा तथा मल र माटो अर्को स्थानमा ओसारपसार गरेको जस्ता कारणले यो रोग फैलिएको अध्ययनमा यहाँ संलग्न नार्कका बाली रोग विज्ञान महाशाखाका वरिष्ठ वैज्ञानिक डा.रामदेवी तिमिलाले बताइन् । प्लाज्मोडिवफोरा व्रासिकी नामक ढुसीको आक्रमणबाट यो रोग तरकारी बालीमा सर्ने र माटोमा यो ढुसी वर्षौंसम्म जीवितै रहने गरेको कृषि वैज्ञानिकहरूको भनाइ छ ।

कृषि ज्ञान केन्द्रले बेमौसमी तरकारी खेतीको पकेट क्षेत्र घोषणा गरेको यो क्षेत्रमा महामारीको रुपमा रोगको प्रकोप फैलिएपछि बालीचक्र परिर्वतन गरी खेती गर्न किसानलाई सुझाइएको छ । ‘रोग प्रभावित क्षेत्रका किसानलाई फरक प्रकृतिको खेती गर्न भनेका छौं‚’ कृषि ज्ञान केन्द्रका प्रमुख भुवन बुढाथोकीले भने ।

प्रकाशित : आश्विन ६, २०७९ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?