कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘सतार’ शब्द सच्याउन माग

अर्जुन राजवंशी

बिर्तामोड — समुदायलाई होच्याउने, अपमानित गर्ने तथा भावनामा ठेस पुर्‍याउने ‘सतार’ शब्द नेपाली शब्दकोष, नागरिकता, सरकारी दस्ताबेज, पुस्तकहरूमा तत्काल सच्याउन सन्थाल समुदायले तीनै तहका सरकारसमक्ष माग गरेको छ । सन्थाल अगुवा एवं संघसंस्थाका प्रमुख तथा प्रतिनिधिले उक्त माग गरेका हुन् ।

‘सतार’ शब्द सच्याउन माग

महत्त्वपूर्ण सरकारी कागजातमा सन्थाल जातिको पछाडि ‘सतार’ शब्द लेखिँदा आफूहरूले अपमानित महसुस गरेको उनीहरूको गुनासो छ । सम्मेलनले सन्थाल समुदायको प्रमाणपत्र तथा दस्ताबेजमा नामको पछाडि वास्तविक थरहरू मात्र उल्लेख गर्न आग्रह गरेको छ । सन्थालका १२ वटा थर हुन्छन् ।

गोलमेच सम्मेलनबाट समुदाय जनाउने नाम ‘सन्थाल’ लेख्न/लेखाउन सहभागी सहमत छन् । समुदाय बुझाउने नाम सन्थाल, सन्ताल वा सान्ताड के राख्ने भन्नेमा सन्थाल समुदायभित्र लामो समयदेखि विवाद रहँदै आएको थियो । नेपाल र भारतको संविधानमा समेत सन्थाल उल्लेख भएको तथा नेपालमा चलनचल्तीमा सन्थाल शब्द नै बढी प्रयोग हुने भएकाले सन्थाल नै लेख्न/लेखाउन सबै पक्ष सहमत भएको जातीय संस्था नेपाल सन्थाल आदिवासी उत्थान संघका केन्द्रीय अध्यक्ष सुन्दर बेस्राले बताए । नागरिकता तथा सरकारी दस्ताबेजमा लेखिएको अपमानजनक सतार शब्द सच्याउन माग गर्दै सन्थाल शब्दमा सहमति जनाउने विषयमा संवाद समूह झापाले शुक्रबार जिल्लाको सुरुंगामा गोलमेच कार्यक्रम आयोजना गरेको थियो । ‘हाम्रो भाषा र लिपिमा सान्ताड बोलिन्छ/लेखिन्छ । तर, देवनागिरी लिपि तथा हामीबाहेकका समुदायले सन्थाल बोल्छन्/लेख्छन्,’ रिलोमाला सन्थाली अखडा नेपालका केन्द्रीय अध्यक्ष श्यामसुन्दर बेस्राले भने, ‘नेपाल र भारतको संविधानमा पनि सन्थाल नै लेखिएको छ । नेपालमा हामीबाहेकका जाति समुदायले पनि सन्थाल नै भन्ने गरेकाले हामीबीचमा पनि सन्थाल शब्दमै सहमति जुटेको हो ।’ उनले सन्थाल लेख्ने/लेखाउने विषयमा नेपाल तथा भारतका विज्ञको सुझाव र समुदायभित्रका संघसंस्थाबीचको छलफलपछि सहमति भएको बताए । ‘सतार’ शब्दको अर्थ नेपाली शब्दकोषमा ‘लाजपचेको’, ‘नकचरो’, ‘लबस्तरो’ लेखिएको छ । ‘लोक सेवाको पुस्तकहरूमा पनि हाम्रो जातिबारे गलत, झूट, विवेकहीन शब्द तथा प्रश्नहरू राखेको पायौं । एउटा समुदायलाई नै अपमानित बनाउने शब्दहरू तत्काल सच्याउन हामी सरकारसमक्ष निरन्तर माग गरिरहेका छौँ,’ बेस्राले भने । नागरिकतामै आपत्तिजनक शब्द लेखिदिँदा सन्थाल समुदायको पहिचान र अस्तित्व नै संकटमा परेको उनले बताए । ‘नागरिकताजस्तो महत्त्वपूर्ण कागजमा हाम्रो नाम पछाडि सतार लेखिदिँदा यसले भावी पुस्तामा नकारात्मक असर पार्न थालेको छ,’ कनकाई नगर कार्यपालिका सदस्य भगन टुडुले भने, ‘यो समस्यालाई समुदायगत अभियानको रूपमा अगाडि बढाएका छौं, यसमा सरकारले पनि सहयोग गर्‍यो भने अपमानजनक शब्द सतार हटाउन समय लाग्दैन ।’ अब जारी हुने नागरिकता तथा सरकारी दस्ताबेजमा सतार शब्द नखेल्न/नखेलाउन सरकारले मातहतका निकायमा परिपत्र गर्नुपर्ने उनीहरूको माग छ ।

सतार शब्द सच्याउन माग गर्दै सन्थाल समुदायले झापा, मोरङ र सुनसरी प्रशासनमा ज्ञापनपत्रसमेत बुझाइसकेका छन् । प्रशासन कार्यालयसँगै केन्द्रीय तथ्यांक विभाग विराटनगर र काठमाडौंमासमेत सतार शब्द सच्याएर थर मात्र लेख्न माग गर्दै पत्र नै दर्ता गरिसकेको नेपाल सन्थाल आदिवासी उत्थान संघका महासचिव कुन्दन मुर्मुले बताए । कथित ठूला जातिकाले विगतमा सन्थाल समुदायकालाई होच्याएर ‘सतार’ भन्ने गरेका थिए । गाउँघरमा अझै पनि सन्थाललाई सतार भन्ने चलन छ । सन्थाल जातिबारे गरिएका धेरैजसो खोज अनुसन्धानमा पनि सतार शब्द प्रयोग भएको प्रति उनीहरूको आपत्ति छ ।

प्रकाशित : आश्विन ४, २०७९ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?