सरिफाको व्यापार काठमाडौंसम्म

कान्तिपुर संवाददाता

धनकुटा — स्थानीय बजारमा मात्र सिमित सरिफा फल यस वर्षदेखि काठमाडौंलगायतका बजारमा समेत निकासी हुन थालेको छ । विगतमा जंगलमा मात्र सिमित सरिफालाई स्थानीयले व्यावसायिक उत्पादन थालेकाले यो सम्भव भएको हो ।

भदौदेखि स्थानीय बजारमा निस्किएको उक्त फलको व्यापार असोज मध्यसम्म आइपुग्दा करिब ५ लाख बढीको कारोबार हुने स्थानीय व्यापारी बताउँछन् । यस्तै स्थानीय कृषकसँग प्रतिकिलो ७० रुपैयाँमा खरिद गरी काठमाडौं, विराटनगर, लगायतका स्थानमा यहाँको सरिफा निकासी हुने व्यापारी जितेन्द्र राईले बताए ।

उनी एक्लैले एक महिनाको अवधिमा ७ लाखको निकासी गरेका छन् । स्थानीय उत्पादकबाट खरिद गरेर जिल्ला बाहिर निकासी गर्ने अन्य कम्तिमा ६ व्यापारी रहेको राईले बताए । दसैंमा काठमाडौंबाट फर्कनेको संख्या अधिक भए पनि जाने यात्रु नगण्य भएकाले ती सवारीसाधनमा समेत दैनिक सरिफा र एभोकाडो बाहिरिने गरेको यातायात व्यवसायी यादव अधिकारी बताउँछन् ।

धनकुटा नगरपालिका–८ सान्ताङ, तेत्रेदाङ, याक्ते क्षेत्रमा स्थानीयले यसको व्यावसायिक उत्पादन गर्दैछन् । ती स्थानमा खरिदका लागि व्यापारी गाडी लिएर बोटैमा पुग्ने गरेको तेत्रेदाङका कृषक जिद्धबहादुर आठपहरियाले बताए । यो पूर्णरूपमा अर्ग्यानिक फल मानिएकोले बजारमा यसको माग बढी हुने गरेको स्थानीयको दाबी छ । जंगलबाट बिरुवा ल्याएर ६ रोपनी क्षेत्रफलमा व्यावसायिक उत्पादन गर्दै आएका आठपहरियाले बेचेरै मासिक ५० हजार रुपैयाँ कमाइ गरेको बताए ।

खासगरी बेंसी क्षेत्रका जंगलमा भदौदेखि दुई महिना सरिफा फल्ने गरेको स्थानीय देवकुमारी आठपहरियाले बताइन् । बोटमा नपाक्ने र काँचै टिपेर ओइलाए पछि पाक्ने उक्त फल गाई बाख्रा एवं वन्यजन्तुबाट पनि सुरक्षित रहने स्थानीय तीर्थ राईले बताए ।

प्रकाशित : आश्विन ३, २०७९ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्

बेनी-जोमसोम सडकमा जहिल्यै पहिरो

घनश्याम खड्का

म्याग्दी — ‘भगवान्ले हात थापेकाले बाँचें । १०–१५ सेकेन्डले बाँचें,’ रुप्से छहराको पहिरोबाट जोगिएर ६ किमि तल पोखरेबगर आइपुगेका भारत बिहारका आफ्ताव आलमले भने, ‘अहिले पनि मुटु हल्लिरहेको छ, खुट्टा कापिरहेका छन् ।’ 

बेनी–जोमसोम सडकको बेनी–लेतेसम्मको ३८ किलोमिटर सडक खण्डमा ठाउँठाउँमा झर्ने पहिरोबाट जोगिने ‘भाग्यमानी’ यात्रुका भिडियो सामाजिक सञ्जालमा छाउन थालेका छन् । बेनी–जोमसोम–कोरोला अन्तर्देशीय सडकको बेनी–लेते खण्डमा बर्सेनि मनसुनी बाढीपहिरोले सास्ती दिने गरेको छ । संसारको सर्वाधिक गहिरो गल्छीबाट बग्ने कालीगण्की नदीको किनारै किनार निर्मित बेनी–जोमसोम–कोरला सडक पहिरोले क्षतविक्षत पारेको छ ।

सदरमुकाम बेनीदेखि उत्तर लागेपछि १ किलोमिटरअघि जलेश्वरमा, ३ किमिअघि गलेश्वरमा, ९ किमिअघि बैसरीमा, १४ किमि अगाडि बेगखोलामा पहिरोले दैनिक सास्ती दिने गरेको छ । त्यसैगरी १६ किमि अगाडि भीरकाटेमा, १९ किमि नौनीबगरमा, २३ किमिअघि जलथलेमा, ३० किमिमाथि रुप्सेछहरामा, ३२ किमिमाथि बाँदरजुँभीर र ३७ किमिमाथि लाटाखोलाक्षेत्र पहिरोको उत्तिकै सास्ती छ । ‘बेनी–घाँसासम्मको सडक सँधै पहिरोको जोखिम क्षेत्र हो । सोह्रश्राद्ध गर्न हिँडेका स्वदेशी र भारतीय तीर्थयात्रीले बढी सास्ती पाएका छन्’ सडक आयोजनाका स्थानीय सुपरभाइजर तथा यस सडकमा विपद्का साथीले परिचित इन्द्रसिं शेरचनले भने, ‘देशका विभन्न भागबाट आएका र भारतीय पर्यटकले धेरै दुःख पाएका छन् । फर्कन पनि पहिरो अघि पनि पहिरोले छेक्दा ३८ किमि सडक छिचोल्न कहिलेकाहीं तीन–चार दिन लाग्छ । यात्रुले पाएको कष्ट देखेपछि जोखिम मोलेरै पहिरो पन्छ्याउने गाडी पास गराउने गरेका छौं ।’

बेनी–लेते खण्डका यी पहिरोले दिनमा कहीं न कहीं यातायात अवरुद्ध हुन्छन् । यी पहिरा मध्य बैसरी र रुप्से छहरा छेउको पहिरो बढी जोखिमपुर्ण छन् । भीरमाथिबाट पानीको छहरासँगै निरन्तर लेदो र ढुंगा खस्ने भएकोले पैदल तथा सवारी साधनका यात्रु जोखिममा छन् । कालीगण्डकी करिडोर अन्तर्गत बेनी–घाँसा खण्ड बाढीपहिरो उच्च जोखिम क्षेत्र हो । यो क्षेत्र कालीगण्डकी नदी तटीय बस्तीका लागि सधैंको त्रास पनि हो । त्यसैगरी बेगखोलामा आएको बाढीले यात्रुलाई हैरान पार्ने गरेको छ । यहाँ मोटरसाइकल वाहकले बढी दुःख पाउने गरेका छन् । बेगखोलामा यातायात घाम–पानीको भरमा संञ्चालन हुन्छ । बेनी–जोमसोम–कोरला १ सय ८६ किलोमिटर सडकमध्ये बेनी–जोमसोम ७६ किमीलाई ४ प्याकेज र जोमसोम–कोरला एक सय १० किमि सडकलाई ११ प्याकेजमा सडक विस्तार एवं उन्नत गर्न ठेक्का गर्ने काम भैरहेको छ । बेनी–घाँसा खण्ड सडकको कारण मात्र नभई भौगोलिक रूपमा पनि पहिरोग्रस्त क्षेत्र हो ।

प्रकाशित : आश्विन ३, २०७९ ११:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×