कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस नेता आचार्यलाई युवाको चुनौती

विनोद भण्डारी

विराटनगर — २०५६ देखि २०७४ सम्मको प्रतिनिधिसभाको निर्वाचनमा मोरङको क्षेत्र नं ४ बाट चुनाव लड्दै आएका कांग्रेस नेता महेश आचार्यलाई आसन्न निर्वाचनमा उम्मेदवार बन्न सकस छ । उनलाई करिब अढाई दशकमा यो क्षेत्रबाट तयार भएका ४० माथिका युवा पुस्ताले उम्मेदवारीमा चुनौती दिएका छन । ती आकांक्षीलाई व्यवस्थापन गर्न उनलाई कठिन भएको छ ।

एउटै निर्वाचन क्षेत्रबाट चुनाव लडेका आचार्य २०५६ र २०७० मा विजयी तथा २०६४ र २०७४ मा हार बेहोरेका थिए । यस अवधिमा उनी पाँच पटक मन्त्री र एक पटक राष्ट्रिय सभाको सदस्य बने । आचार्य २०५६ मा पहिलो पटक उम्मेदवार बन्दा विराटनगर महानगरपालिकाका निवर्तमान प्रमुख भीम पराजुली महेन्द्र मोरङ क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनका सदस्य थिए । नेपाल विद्यार्थी संघका पूर्वसभापति गुरुराज घिमिरे संघको केन्द्रीय सदस्य थिए । पूर्वराज्यमन्त्री दिलीप गच्छदार तत्कालीन क्षेत्र नं ३ का क्षेत्रीय सभापति थिए ।

अहिले यी तीनै जना आचार्यको उम्मेदवारीमा तगारो बनेका छन् । यीबाहेक संविधान सभाका पूर्वसदस्य अमृत अर्यालले पनि क्षेत्र नं ४ बाट आचार्यलाई यस पटक चुनौती दिएका छन् । अर्यालको निर्वाचन क्षेत्र ५ हो । अघिल्लो निर्वाचनमा उक्त क्षेत्रबाट माओवादीका शिवकुमार मण्डलसँग पराजित भएका अर्याल यसपाली उक्त क्षेत्र गठबन्धनमा माओवादी केन्द्रलाई पर्ने पक्काझैं देखिएपछि उनले यो क्षेत्र ताकेका हुन् । आचार्यको उम्मेदवारीमा चुनौती दिनेमध्ये केन्द्रीय सदस्यद्वय अर्याल र पराजुलीसहित गच्छदार संस्थापन पक्षका र घिमिरे संस्थापन इतरका हुन् । आचार्य पार्टीको १४ औं महाधिवेशनयता कुनै गुट–उपगुटमा देखिएका छैनन् । स्वतन्त्र रूपमा उपसभापति पदको उम्मेदवार बन्दा उनी ठुलो मतान्तरले पराजित भएका थिए ।

क्षेत्र नं ४ मा पनि अघिल्लो निर्वाचनमा माओवादी केन्द्रका अमनलाल मोदीसँग आचार्य ७ हजारभन्दा बढी मतान्तरले हारेका थिए । उनले आफ्ना सम्धी विश्वनाथ रिजाललाई प्रदेशसभाको प्रत्यक्ष उम्मेदवार बनाउँदा उनीमाथि पार्टीभित्रै ठूलो अन्तर्घात भएको कांग्रेसजनको ठहर थियो । गठबन्धनमा क्षेत्र नं ४ कांग्रेसको भागमा पर्‍यो भने अन्तिम पटक चुनावी मैदानमा उत्रिने इच्छा भएको उल्लेख गर्दै आचार्यले भने, ‘त्यसका लागि आकांक्षी युवापुस्ताको व्यवस्थापनको पक्षमा लागि परेको छु ।’ यो क्षेत्रमा आकांक्षी पाँचै जनाको आ–आफ्नो संगठन छ ।

‘युवा पुस्तामा आकांक्षा बढ्नु स्वाभाविक हो,’ आचार्यले भने, ‘त्यसका लागि पार्टीको केन्द्रीय र जिल्ला तहको नेतृत्वले पनि भूमिका खेल्नुपर्छ ।’ उनी अहिले पार्टीको कुनै पनि भूमिकामा छैनन् । नेतृत्वले उनीहरूको भूमिका व्यवस्थापन गरेर आफूलाई अन्तिम पटक मौका दिन्छ भन्नेमा विश्वस्त रहेको उनको भनाइ छ । तर युवा आकांक्षीले आचार्यलाई विश्राम गर्न आग्रह गरेका छन् । पराजुलीले महेश दाइ समानुपातिकमा गएर युवालाई अवसर दिनुपर्ने बताए । ‘क्षेत्र नं ४ मा उहाँको क्रेज घट्दो छ, अघिल्लो निर्वाचनले पनि यसलाई पुष्टि गरेको छ,’ उनले भने, ‘महेश दाइले यो क्षेत्रबाट राजनीति सुरु गर्दा जन्मिएका बच्चा अहिले मतदाता भएका छन्, युवा मतदाताको लहरमा उहाँ अहिले हुनुहुन्न ।’

अर्का आकांक्षी घिमिरेले भने, ‘यो क्षेत्रका अन्य सबै आकांक्षीले पटकपटक अवसर पाइसकेका छन्, म अहिलेसम्म वडा अध्यक्ष पनि भएको छैन ।’ आचार्यले यसअघि अवसर नै नपाएका युवालाई सहयोग गर्नुपर्ने घिमिरेले धारणा राखे । उनी पार्टीको हालै सम्पन्न १४ औं महाधिवेशनमा संस्थापन इतरपक्षबाट प्रदेश सभापतिमा २ मतले पराजित भएका थिए । अर्याल र गच्छदारले पनि आचार्यलाई समानुपातिकमा बसेर आफूलाई सहयोग गर्न सुझाव दिँदै टिकटका लागि सभापति शेरबहादुर देउवाकोमा पुगेका छन् । मोरङमा अर्याल र गच्छदार देउवाका विश्वास पात्र हुन् । गठबन्धनमा यो क्षेत्र कांग्रेसको भागमा परे यिनै दुईमध्ये एकले टिकट पाउने सम्भावना बढी रहेको पार्टी निकटहरू बताउँछन् ।

प्रकाशित : आश्विन ३, २०७९ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?