कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४७

प्रसारण लाइन निर्माणमा ढिलाइ

संखुवासभा — अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा विवादपछि संखुवासभामा ४ सय केभीए क्षमताको काम अघि बढ्न सकेको छैन । प्रसारण लाइन विस्तार हुने सातमध्ये ६ जिल्लामा मुआब्जा वितरण गरेर काम सुरु भइसकेको छ । संखुवासभामा ५९ वटा टावर रहने अरुण तेस्रोले जनाएको छ ।

प्रसारण लाइन निर्माणमा ढिलाइ

जनगुनासो बढ्दै गएपछि जिल्ला समन्वय समिति (जिसस) ले केही दिन अघि डाकेको सर्वपक्षीय भेलामा समेत चरम असन्तुष्टि पोखिएको छ । जिससले आयोजना विकासकर्ताका प्रतिनिधि, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि र प्रभावित क्षेत्रवासीको उपस्थितिमा भएको छलफलमा उक्त परियोजनाबारे स्थानीयले आक्रोश प्रकट गरेका छन् । प्रसारण मार्ग निर्धारण गर्दा पूर्वजानकारी नगराई आफूखुसी मार्ग तोकेकाले विस्थापित हुने अवस्था आएको स्थानीयको गुनासो छ ।

पावर हाउस निर्माण स्थल पुखुवा दोभानबाट तार घुमाएर गाउँको बीचबाट प्रसारण लाइन निर्माण गरिँदा खेतीयोग्य जमिन मासिएको चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले बताए । ‘कतिपय ठाउँमा पहिले निर्धारण गरिएको रेखांकन परिवर्तन गरिएको छ,’ उनले भने । शेर्पाका अनुसार चिचिलाको पुखुवामा निर्माण भइरहेको पावर हाउसबाट खाँदबारी–१० आङ्ला गाउँ हुँदै भोजपुर लैजान सकिन्थ्यो, नजिकको मार्ग हुँदाहुँदै गाउँबस्तीमा प्रसारण लाइन घुमाइएको छ ।

गाउँबाट नै प्रसारण लाइन राखिए पनि ४ घर मात्र विस्थापित हुने सतलज जलविद्युत् निगमका इन्जिनियर नवराज थापाले बताए । संखुवासभामा ५९ वटा टावर राखिने र १८.९३ किलोमिटर तार बिच्छ्याइने उनले बताए ।

प्रकाशित : भाद्र २५, २०७९ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?