कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रअद्वारा आर्थिक अनियमितता

विद्यालयले दुई आर्थिक वर्षको खर्च विवरण सार्वजनिक गरेको छैन 
अर्जुन राजवंशी

बिर्तामोड — विद्यालयको भौतिक एवं शैक्षिक विकासमा आएको बजेट विराट आधारभूत विद्यालयका प्रधानाध्यापकले अनियमितता गरेको पुष्टि भएको छ । 

बिर्तामोड नगरपालिका–१० विराटपोखरस्थित उक्त विद्यालयका प्रअ बद्रीप्रसाद बाँस्कोटाले १९ लाख ८५ हजार ३ सय ८० रुपैयाँ हिनामिना गरेको नगरपालिकाद्वारा गठित आर्थिक हरहिसाब छानबिन समितिले पुष्टि गरेको हो । यसबारे छानबिन गर्न नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा जेठ ३० मा पाँच सदस्यीय समिति गठन गरिएको थियो ।

नगरपालिकाले विद्यालय तथा शैक्षिक व्यवस्थापनका लागि विभिन्न शीर्षकमा लाखौं रुपैयाँ निकासा दिएको छ । तर, प्राप्त रकम कहाँ, कसरी खर्च हुँदै छ भनेर विद्यालय व्यवस्थापन समितिका पदाधिकारी समेतलाई जानकारी नदिई प्रअ बाँस्कोटाले अनियमितता गरेको खुलेको हो । विद्यालयले आव २०७६/७७ र २०७७/७८ गरी दुई वर्षको खर्च विवरण सार्वजनिक गरेको छैन । छानबिन प्रतिवेदनबाट उनको नाममा देखिएको रकम दाखिला गर्न नगरपालिकाले पटकपटक मौखिक एवं लिखित जानकारी गराएको थियो ।

नगरको शिक्षा शाखा तथा प्रमुख प्रशासकीय अधिकृतले पत्र काटेरै रकम दाखिला गर्न निर्देशन दिए पनि प्रअ बाँस्कोटाले अटेर गर्दै आएका छन् । नगरपालिकाले साउन २९ मा लिखित पत्र काटेर १५ दिनभित्र छानबिन समितिले पुष्टि गरेको रकम दाखिला गर्न वा दाखिला गर्नु नपर्ने कारण भए पुस्ट्याइँ सहित नगरपालिकामा उपस्थित हुन उनलाई पत्राचार गरेको थियो । तर तय अवधिमा उपस्थित नभएपछि नगरपालिकाले उनलाई कारबाहीको माग गर्दै जिल्ला शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गरेको छ । शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले भदौ १६ मा बाँस्कोटालाई कारबाही गर्नुपर्ने कारण खुलाई छानबिन समितिको प्रतिवेदनसमेत संलग्न राखी शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गरेका हुन् ।

नगर उपप्रमुख संग्रौला नेतृत्वको छानबिन समितिले विद्यालयको दुई वर्षको आम्दानी तथा खर्च विवरणको अध्ययन गरेको थियो । बाँस्कोटाले उपलब्ध गराएको आम्दानी र खर्च विवरण, बैंक स्टेटमेन्ट, आव २०७५/७६ को लेखा परीक्षण प्रतिवेदन, विद्यालयको अभिलेखसमेतको अध्ययनबाट उक्त रकम हिनामिना भएको प्रतिवेदनमा उल्लेख छ । उक्त प्रतिवेदनअनुसार आव २०७६/७७ मा विद्यालयको कुल आम्दानी एक करोड २६ लाख ८५ हजार ८ सय ५२ रुपैयाँ देखिन्छ ।

उक्त वर्ष एक करोड २१ लाख ७५ हजार ७ सय २२ रुपैयाँ खर्च भएको देखिन्छ । बाँकी ५ लाख १० हजार एक सय २९ मध्ये २८ हजार ६ सय २३ रुपैयाँ मात्र विद्यालयको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खातामा देखिएको तथा अन्य ४ लाख ८१ हजार ५ सय ५ रुपैयाँ बाँस्कोटाको नाममा देखिएको छानबिन प्रतिवेदनमा उल्लेख छ । आव २०७७/७८ मा विद्यालयको नाममा कुल आम्दानी एक करोड ६४ लाख ५० हजार २ सय ७१ रुपैयाँ थियो । त्यसमध्ये एक करोड ४० लाख ३ हजार ७ सय ४३ रुपैयाँ खर्च विवरण छ । दुवै वर्षको आम्दानी र खर्च विवरणअनुसार विद्यालयको नाममा अन्तिम मौज्दात २४ लाख ४६ हजार ५ सय २८ रुपैयाँ रहनुपर्ने हो ।

तर, राष्ट्रिय वाणिज्य बैंकको खातामा २ लाख २३ हजार एक सय ४७ र स्थानीय विराट बहुउद्देश्य सहकारी संस्थाको खातामा २ लाख ३८ हजार गरी ४ लाख ६१ हजार एक सय ४७ रुपैयाँ मात्र मौज्दात देखिएको प्रतिवेदनमा औंल्याइएको छ । ‘हामीले गरेको अध्ययनबाट प्रधानाध्यापक बाँस्कोटाले १९ लाख ८५ हजार रुपैयाँको खर्च पुष्टि गर्न सक्नुभएन,’ छानबिन समिति संयोजक एवं नगर उपप्रमुख संग्रौलाले भने, ‘उहाँले अधिकांश भौतिक निर्माण शीर्षकमा आएको बजेटमा अनियमितता गरेको देखिन्छ, केही मसलन्दको पैसा पनि हिनामिना भएको छ ।’

बाँस्कोटाका कारण विद्यालयमा समस्याको चाङ बनेको विद्यालय व्यवस्थापन समिति सदस्य पुनम प्रसाईंले बताए । उनका अनुसार प्रधानाध्यापक नियमित विद्यालय आउँदैनन् । व्यवस्थापन समितिको बैठक नियमित नडाकेको, विद्यालयका शिक्षकमाथि कुटपिट गरेको, विद्यालयमा प्राप्त इन्टरनेट समयमा जडान नगरेको, स्मार्ट बोर्ड, एलईडी सञ्चालन नगरेको, विद्यार्थीलाई शुद्ध खानेपानीका लागि नगरपालिकाबाट प्राप्त फिल्टर समयमा जडान नगरेको व्यवस्थापन समितिका अर्का सदस्य खेमराज चुडालले आरोप लगाए ।

कारबाही सिफारिस गर्दै नगरपालिकाले वैशाखदेखि बाँस्कोटाको तलब भत्ता निकासा रोक्का गरेको छ । आर्थिक अनियमितताको आरोप लागेका प्रअ बाँस्कोटाले भने नगर उपप्रमुख संयोजकत्वको छानबिन समितिले पूर्वाग्रही ढंगले प्रतिवेदन तयार गरेको आरोप लगाए । उनले आफूले कुनै अनियमितता नगरेको दाबी गर्दै उल्टै नगरपालिकाले आफूमाथि अन्याय गरेको बताए । ‘कुनै अनियमितता गरेको छैन, विद्यालयमा भएको आम्दानी र खर्चको फेहरिस्त मसँग सुरक्षित छ, यी प्रमाणहरू सम्बद्ध निकायमा बुझाउन तयार छु,’ उनले भने, ‘नगरपालिकाले मेरो नाममा १९ लाख ८५ हजार देखाएको छ तर त्यो पैसा कहाँबाट आयो, खुलाएको छैन, छानबिनका क्रममा आम्दानी र खर्चको शीर्षक खुलाइएको छैन ।’ उनले आफू बिरामी भएकाले नगरपालिकाले भनेको १५ दिनभित्र उपस्थित हुन नसकेको बताए ।

प्रकाशित : भाद्र २२, २०७९ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?