इलाममा मेडिकल कलेज खोल्न पहल- कोशी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इलाममा मेडिकल कलेज खोल्न पहल

विप्लव भट्टराईं

इलाम — पूर्वी पहाडी जिल्लावासीलाई सहज उपचारका लागि इलाममा मेडिकल कलेज सञ्चालनका लागि पहल थालिएको छ । इलाम नगरपालिकाको अगुवाइमा मेडिकल कलेज स्थापनाका लागि नगर प्रमुख केदार थापा नेतृत्वको टोली राजधानी पुगेर प्रधानमन्त्रीसहित चिकित्सा शिक्षा आयोगलगायत सम्बन्धित संस्थामा कार्यान्वयनका लागि आग्रह गरेको हो ।

डा. गोविन्द केसी २०७५ पुस २५ मा १६ औं पटक इलाममा अनसन बस्दा इलाम या पाँचथरमा मेडिकल कलेज खोल्ने सहमति भएको थियो । इलाम–९ घट्टिटारमा जग्गा व्यवस्थापन सुरु गरिएको छ । सदरमुकाममा रहेको अस्पताललाई ५० शय्याको बनाइए पनि त्यो अनुसारको सेवा सुविधा नहुँदा उपचारका लागि महँगो रकम खर्च गरेर अन्यत्र जानुपर्ने परिस्थिति छ । आवश्यक जनशक्तिको अभावमा अस्पतालले क्षमताअनुसारको सेवा दिन सकेको छैन ।

प्रस्तावित मेडिकल कलेजका लागि नगरपालिकाको स्वामित्वमा रहेको हालको अस्पताल क्षेत्रमा ३२ रोपनी जमिन, सोही परिसरको जिल्ला समन्व समितिको २ तले पक्की भवनसहित ८ रोपनी कलेजका लागि उपयोग गर्न सकिने नगरपालिकाको भनाइ छ । घट्टिटारस्थित ८ सय २० रोपनी खाली जग्गासहित विभिन्न व्यक्तिलाई मुआब्जा दिएर लिन सकिने नगरपालिकाको भनाइ छ । आवश्यक कूल जमिन १ हजार ४ सय ३० रोपनीको व्यवस्था गर्न सकिने भन्दै जग्गा व्यवस्थापन र अर्थ संकलनका लागि समिति नै बनाएर काम अघि बढाइएको छ ।

समितिले जग्गा व्ववस्थापनका लागि २५ लाख रुपैयाँ संकलन गरिसकेको छ । त्यस्तै राजधानीमा पहल गर्न पनि समिति गठन गरिएको छ । विस्तृत परियोजना प्रस्ताव तयार गर्नका लागि केन्द्र र प्रदेशको सम्बन्धित मन्त्रालयमा नगरपालिकाले अनुरोध गरेको छ । ‘सबै क्षेत्रको साथ र सहयोगको अपेक्षामा छौं,’ वडा ७ का वडाध्यक्ष नरेश श्रेष्ठले भने । इलामको हावापानी राम्रो भएकाले हिमालदेखि तराईसम्मबाट यहाँ आएर अध्ययन र सेवा गर्न सहज हुने तर्क डा. केसीको पनि छ । यहाँ अस्पताल सञ्चालन भए पूर्वी पहाडी जिल्लाका बासिन्दालाई प्रत्यक्ष फाइदा पुग्नेछ । त्यस्तै यहाँको सन्तुलित हावापानीका कारण टाढाबाट पनि उपचारका लागि आउनेलाई सहज हुनेछ । मेडिकल कलेज सञ्चालनका लागि कम्तीमा ३ सय शय्या आवश्यक हुन्छ ।

प्रकाशित : भाद्र १७, २०७९ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्

फस्टाउँदै सुपारी खेती

विप्लव भट्टराईं

इलाम — मेची राजमार्गको किटेनी खण्डबाट करिब ५ किलोमिटर पश्चिम छिरेपछि हराभरा कालीटार पुगिन्छ । अन्य क्षेत्रबाट खासै नदेखिने रोङ गाउँपालिका–४ को कालीटार क्षेत्रलाई हराभरा बनाउने मुख्य खेती हो सुपारी ।


आसपासको बाक्लो सखुवाघारी छिचोलेर कालीटार पुग्दा आँखाले भ्याएसम्मको क्षेत्र सुपारी बगानले भरिएको छ । बगानभित्रकै घरमा भेटिएकी विष्णुमाया तामाङ सिंगो गाउँ नै सुपारीको उत्पादनले धानेको बताउँछिन् ।

रोङ–२ बदामटारका सन्तबहादुर तामाङको मुख्य आम्दानीको स्रोत सुपारी हो । एक पटक रोपेपछि सामान्य गोडमेल मात्र गर्नुपर्ने र बजारको पनि चिन्ता नभएकाले उनले सुपारी खेती गरेका छन् । वार्षिक ५ लाख रुपैयाँसम्मको सुपारी बिक्री गर्ने उनी झापाको सुपारी खेती देखेर प्रभावित भएका थिए । झापा सीमावर्ती क्षेत्रमा सुपारीबाट वार्षिक लाखौं रुपैयाँ आम्दानी गर्ने उल्लेख्य छन् । अहिले घरघरै सुपारी रोपेर आम्दानी लिने क्रम बढेको छ । रोङ–२ बरफल्याङका रघुनाथ ढुंगेलको आर्थिक भरोसा पनि सुपारी नै रहेको छ । बोट हुर्किएपछि कम मिहिनेत र लगानीमा निरन्तर आम्दानी हुने भएकै कारण उनको रोजाइमा पनि सुपारी खेती परेको हो ।

इलामको रोड, चुलाचुली, र माङसेवुङ गाउँपालिकाको तल्लो क्षेत्र तथा माई नगरपालिकाका किसानले सुपारी खेती विस्तार गरी आम्दानी बढाएका छन् । समतल टारवारी र पाखा भित्तामा पनि सुपारी बगान विस्तार हुने क्रममा छ । सम्बन्धित पालिकाले खेती प्रवर्द्धनका लागि बिरुवासमेत सहुलियतमा दिन थालेपछि कृषकको उत्साह थप बढेको हो । बहुवर्षे बालीका रूपमा सुपारी खेती गरेर एकै बोटबाट ५० केजीसम्म उत्पादन गर्न सकिने किसानको अनुभव छ । सुपारी खेतीले तरकारी र अन्य बालीलाई क्षति नपुर्‍याउने र छहारीको काम गर्ने भएपछि पनि गतिलो आम्दानीको स्रोतका रूपमा सुपारी खेतीमा कृषकको रुचि बढेको हो ।

सुपारी बिक्रीका लागि बजार चाहर्नुपर्ने झन्झट छैन । झापाबाट व्यापारीहरू बगानमा नै आइपुग्छन् । ‘सुपारीको आन्तरिक बजार नै पर्याप्त छ,’ व्यवसायी रामप्यारा गुप्ताले भने । बोटबाटै काँचो सुपारी बिक्री हुने भएकाले यसको प्रशोधन गरेर थप मूल्य लिन सकिने सम्भावना प्रशस्तै छ । तर कृषकले प्रशोधन उद्योग भने खोल्न सकेका छैनन् । सुपारीको खपटाबाट टपारा निर्माण हुन्छ । झापामा खोलिएका यस्ता उद्योगमा उत्पादित टपराको माग बढ्दो छ । सुपारीको बगान बर्सेनि बढ्दै गएकाले रोङ गाउँपालिकाले खपटा बनाउने उद्योग सञ्चालनको तयारी गरेको अध्यक्ष मणिकुमार (सुवास) श्याङवोले बताए । वैदेशिक रोजगारप्रतिको आकर्षणलगायत कारणले हरेक क्षेत्रमा श्रमिक पाउन समस्या छ । धान मकैलगायत खेतीमा श्रमिक धेरै लाग्ने र खर्चिलो पनि बन्दै गएको अवस्थामा जिल्लाको दक्षिणी क्षेत्रका कृषकले विकल्पका रूपमा सुपारीलाई लिएका हुन् ।

प्रकाशित : श्रावण १, २०७९ ०७:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×