मिटरब्याजीले दाजुलाई समेत छाडेनन्- प्रदेश १ - कान्तिपुर समाचार

मिटरब्याजीले दाजुलाई समेत छाडेनन्

२०७३ मा लिएको डेढ लाख पटक–पटक गरी डेढ करोड तिरिसक्दा पनि अझै ४५ लाख तिर्न बाँकी भन्दै धम्की
विनोद भण्डारी

विराटनगर — विराटनगर–१२ कोसी प्रोजेक्टका दीपनारायण यादवले अंशबन्डा बैंकबाट धितो राखेर रकम निकाल्न आफ्नो १२ धुर जमिनको लालपुर्जा कान्छो भाइ शिवनारायणलाई दिए । ठेक्कापट्टा गर्ने शिवनारायणले २०६७ मा नेपाल बंगलादेश बैंकमा उक्त जमिन धितो राखेर ८ लाख रुपैयाँ ऋण लिए ।

दीपनारायणलाई २०७० मा नगदको आवश्यकता पर्‍यो । उनले भाइसँग डेढ लाख मागे । तर भाइले तमसुक नगरी उनलाई रकम दिएनन् । नोट चाहिएको भए आमा विन्दादेवीलाई लिएर आउन शिवनारायणले दाजुलाई भने । दीपनारायणले आमालाई साथमा लिएर भाइकोमा पुगे । आमालाई साक्षी राखेर २०७७ कात्तिक ७ मा डेढ लाख दिँदै वैशाखसम्ममा तिर्ने भाखा राखेर भाइले १२ लाखको तमसुक बनाए । त्यसबेला शिवनारायणले पैसा फिर्ता पाएपछि तमसुक च्यात्ने सर्त राखेका थिए ।

दीपनारायणले २०७१ वैशाख १२ मा ब्याजसहित १ लाख ६९ हजार ५० रुपैयाँ फिर्ता गरे । त्यसपछि उनले भाइलाई जग्गा फिर्ता गर्न आग्रह गरे । भाइले जग्गा फिर्ता गरे तर तमसुक च्यातेनन् । मिटर ब्याजसम्बन्धी अपराध नियन्त्रण कार्यदलका संयोजक भीष्म भुसालसहितको टोलीसमक्ष दीपनारायणले भने, ‘भाइले २१ लाख ९९ हजार ३ सय ३३ रुपैयाँ नतिरेसम्म तमसुक नच्यात्ने अडान राख्यो ।’ उनका अनुसार उल्टै जिल्ला अदालतमा शिवनारायणले उक्त रकमको माग दाबी गर्दै मुद्दा हाले । दीपनारायणले भने, ‘म अहिले अदालतको तारिख खेप्दै छु ।’

मोरङको रंगेली नगरपालिकाकी बिहरीदेवी पासवानले छोरीको विवाह गर्न स्थानीय मन्तोस साहसँग १८ धुर जमिन धितो राखेर ३ लाख रुपैयाँ ऋण लिइन् । उनले पटकपटक गरेर साहुलाई ऋण तिरिन् । तर साहुले उनको जमिन फिर्ता गरेनन् । बिहरीले पैसा तिर्दा साहुले त्यसको भर्पाइ दिँदैन्थे । उनले भर्पाइ माग्दा ‘म फटाहा छु र ? तेरो जग्गा दिइहाल्छु नि’ भन्थे । उनले पनि कार्यदलसमक्ष आँसु झार्दै भनिन्, ‘एक दिन साहु घरमा आए, जग्गा फिर्ता गरिदिन्छु भनेर मलाई गाडीमा हालेर मालपोत लगे ।’ ऋण चुक्ता भएर जग्गा फिर्ता आउने आशामा मख्ख पर्दै हतारहतार ल्याप्चे लगाएपछिको घटना सम्झँदै उनले भनिन्, ‘एकछिन पछि मेरै अगाडि उक्त जग्गा ६ लाख रुपैयाँमा साहुले बेचिदिए ।’

२०७४ मंसिरमा विराटनगरका जगदीश साहले एक साताभित्र फिर्ता गर्ने गरी विराटनगरकै ताजब्बर सिद्धिकीसँग २ लाख रुपैयाँ सापटी लिए । साताभित्र रकमको बन्दोबस्ती गरेर सिद्धिकीलाई सम्पर्क गर्दा उनी भारतमा थिए । २०७४ मंसिर २२ मा सिद्धिकीको फोन आयो । उनले साहलाई ८ लाख रुपैयाँ तिर्न दबाब दिए । दिन नसक्ने बताए पछि सोही दिन आफ्ना दलबलका किरण लामा, अमिस बराल र आकाश यादवसहित सिद्धिकी उनको घर पुगे । साहलाई गाडीमा हालेर लगे ।

विराटनगरका मिटर ब्याजीहरूले रकम असुल्न गुन्डासमेत परिचालन गर्दै आएका छन् । एक रेस्टुरेन्टमा पुर्‍याएर हातखुट्टा बाँधेर राति १ बजे कागजमा औंठा छाप गर्न लगाए । ज्यान जोगाउनका लागि औंठा छाप गरेर मुक्त भए । उनले पनि भावुक हुँदै सुनाए, ‘त्यो कागजमा आफूले सुनिल गुजरातीसँग १५ लाख ऋण लिएको उल्लेख गरिएको रहेछ ।’ त्यसैलाई आधार बनाएर मिटर ब्याजीको समूह जिल्ला अदालत मोरङ गयो । २०७५ माघ १७ मा अदालतले मिटरब्याजीको पक्षमा फैसला गर्‍यो । फैसला कार्यान्वयनका लागि साह २०७६ माघ ७ मा पक्राउ परे । कागजअनुसारको साँवाब्याज गरेर १८ लाख ९४ हजार तिरेपछि उनी ०७६ माघ १२ मा कारागार मुक्त भएका थिए ।

मोरङको धनपालथान गाउँपालिका–७ का अवधेशकुमार मण्डलले सुधान्सु ठाकुरसँग मिलेर २०७३ मा साझेदारीमा कुखुरा फर्म सञ्चालन गरे । त्यही वर्ष मण्डलका आफन्तसमेत रहेका फर्मका कामदारले चलाएको मोटर साइकलको ठक्करबाट एक जना घाइते भए । घाइते आफन्तको उपचारका लागि मण्डलले साझेदार सुधान्सुसँगै दैनिक २ हजार रुपैयाँ ब्याजमा १ लाख ५० हजार रुपैयाँ ऋण लिए । उपचारका लागि लिएको ऋण समयमा तिर्न सकेनन् । ब्याजको मिटर बढ्दै गयो ।

२०७३ मा लिएको ऋणको पटकपटक गरी उनले १ करोड ५० लाख रुपैयाँ तिरिसके । मण्डलले पनि कार्यदलसमक्ष भने, ‘अझै ४५ लाख रुपैयाँ तिर्न बाँकी छ भन्दै धम्क्याइरहेका छन् ।’

यी केही मिटरब्याज पीडितका उदाहरण हुन् । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरदकुमार पोखरेलका अनुसार मिटर ब्याजीबाट पीडित ४२ जनाले आइतबारसम्ममा मोरङ प्रशासनसमक्ष किटानी उजुरी दिएका छन् । अहिलेसम्म सबैभन्दा बढी विराटनगर महानगरपालिकाबाट १७ उजुरी परेका छन् । बाँकी २५ उजुरी मोरङको रंगेली, धनपालथान, पथरीशनिश्चरे, जहदा, कटहरी र सुनवर्षीका पीडितले दिएका हुन् । तर जानकारका अनुसार पीडित संख्याको तुलनामा उजुरी निकै कम हो ।

मिटरब्याजीद्वारा पालित गुन्डाको डर र धम्कीले धेरै पीडित खुलेर बाहिर आउन नसकेको उनीहरूको भनाइ छ । यी सुदखोरका कारण जायजेथा गुमाएर अर्काको घर एवं होटलमा भाडा माझ्ने अवस्थामा पुगेकाहरूको महानगर विराटनगरमा कमी नरहेको जानकार बताउँछन् ।

यता सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार प्राप्त उजुरी कार्यदललाई बुझाइएको छ । हरेक जिल्लामा मिटरब्याजीको सञ्जाल रहेको र तराईका जिल्लामा ठाउँअनुसार फरकफरक मिटरब्याजीका मुद्दा रहेको उल्लेख गर्दै कार्यदलका संयोजक भुसालले भने, ‘प्रभावित जिल्लाको स्थलगत अध्ययन गरेर कार्यदलले चाँडै निष्कर्ष निकाल्नेछ ।’ केही जिल्लामा बैंक तथा वित्तीय संस्था पनि मिटरब्याजी झैं रहेको पाइएको भुसालको भनाइ थियो । आफ्नो कार्यक्षेत्रभित्रको यस्ता मुद्दाको निर्क्योल गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको उनले बताए ।

प्रकाशित : भाद्र १४, २०७९ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्

भारतले गहुँ निकासी गर्ने मुलुकको सूचीबाट नेपाल बाहिरियो

विनोद भण्डारी

विराटनगर — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समयमा आवश्यक परिमाण माग नगर्दा भारतले गहुँ निकासी गर्ने मुलुकको सूचीबाट नेपाल बाहिरिएको छ । रुस र युक्रेनबीचको युद्धका कारण भारतले गहुँको संकट पर्ने भन्दै वैशाख अन्तिममा यसको निकासीमा रोक लगाएको थियो । परिस्थितिअनुकूल भएसँगै निकासीलाई पुनः निरन्तरता दिन भारतले गहुँ आवश्यक पर्ने मुलुकसँग आवश्यक परिमाण मागेको थियो । तर मन्त्रालयले समयमा समन्वय नगर्दा भारतले गहुँ निकासी गर्ने मुलुकको सूचीबाट नेपाल बाहिरिएको सम्बद्ध उद्योगीको भनाइ छ ।

मागकर्ता मुलुक बंगलादेश, इन्डोनेसिया, यमन, यूएई र ओमानका लागि भारतले कोटा तोकेर गत सोमबार गहुँ निकासी खुला गरेको छ । नेपाल सरकारको लापरबाहीले भारतको गहुँ निकासी सूचीमा नपर्दा स्थानीय उद्योग प्रभावित भएको नेपाल फोलोर मिल एसोसिएसनका सचिव विकास बेगवानीले जनाए । मुलुकका ३७ वटा मैदा मिललाई वार्षिक १० लाख टन गहुँको आवश्यकता पर्छ । स्थानीय उत्पादन करिब ३ लाख टन मात्र छ ।

‘मैदा मिल आयातित गहुँमै निर्भर छन्,’ उनले भने । मन्त्रालयलाई आवश्यक गहुँको परिमाणबारे जानकारी गराएको एसोसिएसनका कार्यालय प्रमुख अजय पराजुलीले बताए । मन्त्रालयका सचिव गणेश पाण्डेले आयात खुलाउन पहल भइरहेको आश्वासन दिएको पराजुलीको भनाइ छ । एसोसिएसनका पदाधिकारीसँग सचिव पाण्डेले आवश्यक कागजपत्र मगाई परराष्ट्र मन्त्रालय पठाएर भारतीय राजदूतसँग पनि छलफल भइरहेको बताएको पराजुलीले जानकारी दिए ।

भारतले गहुँ निकासीमा रोक लगाएपछि मुलुकमा मैदा र पिठोको मूल्य हवात्तै बढेको छ । प्रतिकिलो ३४ रुपैयाँमा पाइने गहुँको मूल्य ४८ रुपैयाँ पुगेको छ । सचिव बेगवानीका अनुसार गहुँ ३४ रुपैयाँ प्रतिकिलोमा उपलब्ध हुँदा मैदाको भाउ प्रतिकिलो ४६ रुपैयाँ थियो । अहिले बढेर ६१ रुपैयाँ पुगेको छ । त्यसैगरी प्रतिकिलो ४८ रुपैयाँमा पाइने पिठोको मूल्य अहिले ६४ रुपैयाँ पुगेको बेगवानीले जनाए । गहुँ आयात नखुले मैदा र पिठोको मूल्य दोब्बर हुने परिस्थिति बनेको उनको दाबी छ ।

नेपालमा गत वर्ष भारतबाट ६ अर्ब ९० करोड ७२ लाख ९० हजार मूल्य बराबरको ३ लाख ३५ हजार ९ सय ३२ टन गहुँ आयात भएको भन्सार विभागको तथ्यांक छ । त्यसमध्ये जोगबनी नाकाबाट गत वर्ष २ अर्ब १९ करोड ९० लाख मूल्यको ६ हजार ८ सय टन गहुँ आयात भएको थियो ।

प्रकाशित : भाद्र १२, २०७९ ०७:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×