कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

४०० वर्ष पुरानो गुम्बा पुनर्निर्माण सुरु

आनन्द गौतम

ताप्लेजुङ — चार सय वर्ष पुरानो मानिएको ओलाङचुङगोलाको दिकीछ्योलिङ गुम्बा पुनर्निर्माण सुरु भएको छ । पटकपटकको भूकम्पले क्षतिग्रस्त गुम्बाको दक्षिण भाग भत्काएर बनाउन थालिएको छ । यो पूरै गुम्बाको करिब ३५ प्रतिशत भाग हो । निर्माणको जिम्मा पुरातत्व विभागले लिएको छ ।

४०० वर्ष पुरानो गुम्बा पुनर्निर्माण सुरु

फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन लामा शेर्पाका अनुसार जति बेला पनि भत्कन सक्ने र पुरातात्त्विक महत्त्वका सामानहरू नाश हुने जोखिम बढेको थियो । शेर्पाका अनुसार गुम्बाको अहिलेको निर्माण लागत करिब १ करोड ८० लाख रुपैयाँ हो ।

३१ सय मिटर उचाइमा अवस्थित यहाँ हिउँदयाममा काम गर्न सकिँदैन । निवर्तमान वडाध्यक्ष छेतेन शेर्पा भोटेका अनुसार आर्थिक वर्ष सकिएपछि विकासका काम पनि नहुने र लेलेपलगायत छिमेकी गाउँबाट दक्ष जनशक्ति ल्याउन सकिने भएकाले यतिखेर कामको गति बढाउन सकिन्छ ।

यो गुम्बाको मुख्य विशेषता ‘ॐ माने पद्मे हुँ’ लेखिएको च्याउ रहेको छ । बस्तीको पारिको दाङजे पाखामा गोठालाले फेला पारेको यो च्याउ गुम्बामा चाँदीको फ्रेमभित्र राखि संरक्षण गरिएको छ । वर्षौंदेखि रहेर पनि नाश नभएकोले स्थानीय लामाले यसलाई अवलोकेश्वरको प्रतिरूपको संज्ञा दिएका छन ।

यहाँ कहिल्यै ननिभ्ने गरी दीप प्रज्वलन गरिएको छ । ५७ घर परिवारको बसोबास रहेको ओलाङचुङगोला बस्तीको एक सय मिटरमाथि गुम्बा छ ।

प्रकाशित : भाद्र १४, २०७९ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?