कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५३

कर्मचारी आन्दोलन सामुदायिक विद्यालय केन्द्रित

ताप्लेजुङ — सरकारले तलब वृद्धिमा विभेद गरेको भन्दै विद्यालय कर्मचारीको आन्दोलन सामुदायिक विद्यालय केन्द्रित भएको छ । कर्मचारीले १२ देखि १८ भदौसम्म पठनपाठन बन्द गरेर सहयोग गरिदिन विद्यालय प्रशासनलाई आग्रह गरेका छन् । तर विद्यालय भने त्यसका लागि तयार देखिएका छैनन् । विद्यालयको रणनीति आन्दोलनप्रति नैतिक समर्थन जनाउने तर बन्द नगर्ने छ ।

कर्मचारी आन्दोलन सामुदायिक विद्यालय केन्द्रित

सदरमुकाम फुङलिङस्थित भानुजन माविका प्रधानाध्यापक किशोरकुमार राई आइतबार दिउँसो साढे १२ बजेदेखि बन्द गरेर सहयोग गरेको तर सोमबारदेखि यसो गर्न नसकिने बताउँछन् । ‘विद्यालय लागिरहेको थियो, कर्मचारी साथीहरू आन्दोलन छ भनेर आउनुभयो,’ उनले भने, ‘विद्यार्थीलाई अनुरोध गरेर एक दिन बिदा गरिदियौं, भोलिदेखि नियमित लाग्छ ।’ आन्दोलनप्रति ऐक्यबद्धता भए पनि यति लामो समय बन्द गर्न नसकिने राईले प्रस्ट्याए ।

सिनाम नमुना माविका प्रधानाध्यापक एवं शिक्षक महासंघका अध्यक्ष महेन्द्र प्रकाश गौतमले सामाजिक सञ्जालमा लामो स्टाटस् लेखेर चक डस्टर बोकेरै आन्दोलित हुने बताएका छन् । संघ र स्थानीय सरकारले विभेदकारी नीति लिएकोमा आपत्ति जनाउँदै उनले आन्दोलित पक्षलाई काजको व्यवस्था गरेर आन्दोलन अवधिमा बिदा दिने तर पठनपाठन बन्द नगर्ने उल्लेख गरेका छन् । ‘राज्य र स्थानीय सरकार गैरजिम्मेवार भए पनि हजारौं विद्यार्थीको भविष्यको दायित्वबाट पन्छिने छुट छैन,’ गौतमले स्टाटस्मा लेखेका छन्, ‘कर्मचारी साथीहरूको आन्दोलनलाई सहयोग पुग्ने गरी चकडस्टरसहितको क्रियाकलाप गरेर हाजिरीलगायत कुनै पनि कार्य नगरी अनौपचारिक र कालोपट्टीसहितको शैक्षिक गतिविधि गर्दै चौतर्फी दबाब सिर्जना गरी माग पूरा गराउनुको विकल्प छैन ।’

विद्यालय कर्मचारी संघका जिल्ला अध्यक्ष अञ्चल नाल्वोले सरकारलाई दबाब दिन बन्दका लागि अनुरोध गरिएको र सकारात्मक प्रतिक्रिया आएको बताउँछन् । ‘आइतबार विद्यालयहरू बन्द भए,’ उनले भने, ‘सबैले आन्दोलनमा सहयोग गर्छौं भन्नुभएको छ ।’ सिंवा माविका प्रधानाध्यापक ओमनाथ गौतमले विद्यालय व्यवस्थापन र अभिभावकले कुनै पनि खाले बन्द नगर्ने निर्णय गरेकाले कर्मचारीको अनुरोध मान्न नसकिने बताउँछन् ।

‘विद्यालय बन्द भन्ने सुनेपछि अभिभावक विद्यालयमा आएर सोधपुछ गरिरहनुभएको छ,’ उनले भने, ‘यसअघिका दलका बन्द पनि मानेनौं, कर्मचारी साथीहरूको बन्द पनि मान्न सकिने अवस्था रहेन ।’ तर आन्दोलनप्रति आफूहरूको ऐक्यबद्धता रहेको गौतम बताउँछन् । आफ्नै विद्यालयका कर्मचारीको न्यायको पक्षमा रहेको विद्यालय प्रशासन पठनपाठन नै बन्द गरेर बस्ने मनस्थितिमा नदेखिएको हो । बन्दको आह्वान र विद्यालय सञ्चालनको विषयले सामुदायिक विद्यालयका छात्रछात्रा अन्योलमा परेका छन् । स्थानीय तहअन्तर्गत विद्यालय रहेको र स्थानीय तहले किन बन्द भन्ने प्रश्न गरे जवाफ दिने ठाउँ पनि नभएकाले पछि हट्नुपरेको एक प्रधानाध्यापकले बताए ।

‘विद्यालय बन्द भयो भनेर प्रश्न उठ्यो भने स्थानीय तहका प्रमुख, उपप्रमुख त्यतैतिर लाग्छन्,’ ती प्रधानाध्यापकले भने, ‘अहिलेका नेतालाई न्याय/अन्यायभन्दा पनि पपुलर हुनुछ, त्यसैले पनि पठनपाठन बन्द गर्न सक्ने अवस्थामा रहेन ।’ संघीय राजधानी केन्द्रित आन्दोलन गरिरहेका कर्मचारी भने विद्यालय केही दिनमात्रै बन्द भइदिए माग सम्बोधन हुने अपेक्षामा छन् ।

प्रकाशित : भाद्र १३, २०७९ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×