दिवा खाजा खाँदा काँकडभिट्टा माविका ३२ जना विद्यार्थी बिरामी

पर्वत पाेर्तेल

काँकडभिट्टा — अखाद्य दिवा खाजा खाएका कारण स्थानीय काँकडभिट्टा माविका ३२ बालबालिकालाई बिहीबार दिउँसो ‘फुड पोइजन’ भएको छ । सरकारले सामुदायिक विद्यालयका शिशुदेखि कक्षा ६ सम्ममा अध्ययनरतलाई प्रति विद्यार्थी १५ रुपैयाँका दरले दिवा खाजा उपलब्ध गराउँदै आएको छ ।

माविकै चमेनागृहमा खाजा खाइसकेपछि विद्यार्थीलाई झाडाबान्ता र पेट दुख्ने समस्या भएको थियो । विद्यार्थी भकाभक बिरामी पर्न थालेपछि विद्यालय प्रशासनले तत्काल उनीहरूलाई उपचारका लागि करिब ३० किलो मिटर टाढाको मेची अञ्चल अस्पताल पुर्‍याएको थियो । उनीहरू सबै खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जनाए । ‘स्थिति सामान्य छ, घर पठाउँछौं’, ती चिकित्सकले भने ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी ज्ञानकुमार महतोले खाजाका रूपमा अखाद्य वस्तु दिइएकाले विद्यार्थी अस्वस्थ भएका हुन् । उनले भने, ‘सडेगलेका तरकारी खाजाको रूपमा प्रयोग गरिएको छ, पानीमा पनि फोहोर देखियो ।’ सरकारले विद्यालयलाई दिवा खाजाको मेन्यु नै बनाएर पठाएको छ । तर उक्त मेन्युको बेवास्ता गर्दै जे पायो त्यही ख्वाउँदै आएका छन् । पौष्टिक तत्त्वयुक्त वस्तु मात्रै खाजाको रूपमा बालबालिकालाई दिनुपर्ने भए पनि अधिकांश विद्यालयले अखाद्य वस्तु नै बढी दिइरहेको पाइएको छ ।

चाउचाउ, बिस्कुट, दालमोठलगायतका पत्रु खानाखाजाको रूपमा दिइएको पाइएको छ । ‘यहाँ पनि सरकारी मेन्युअनुसारको खाजा दिइएको पाइएन’, डीएसपी महतोले भने, ‘अखाद्य वस्तु खाएकै कारण विद्यार्थी बिरामी परेको पाइयो ।’ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको एक टोलीले पनि चमेनागृहको अनुगमन गर्नुका साथै विद्यार्थीलाई ख्वाइएको खाजाको नमुना जाँचका लागि लगेको छ ।

चमेना गृहका सञ्चालक विद्यालयकै चौकीदार नारायण विष्टलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ । बिहीबार उनी आफैंले खाजाको रूपमा मटर छोला पकाएका थिए । केही विद्यार्थीले चना–चटपटे पनि खाएका थिए । खाएलगत्तै बालबालिकालाई सन्चो भएन । ‘अरू बेला पनि यस्तै खाजा दिइन्थ्यो, केही हुन्न थियो’, बिष्टले सफाइ दिँदै भने, ‘आज के कारणले बिरामी भए छक्क परेको छु ।’

विद्यालयका एक शिक्षकले बालबालिकाको स्वास्थ्यमाथि खेलबाड गर्ने अधिकार कसैलाई नभएको भन्दै विद्यालय प्रशासनले जिम्मेवारी लिनुपर्ने जनाए । स्थानीय फणीन्द्र घिमिरेले चमेनागृहले नानीबाबुलाई खाजासँगै फोहोर पानी दिएको दाबी गरे । केही दिनदेखि बाल्टीमा भरेर राखेको पानीमा लार्भाहरू पौडिरहेको देखिन्थ्यो । ‘खाजा त अखाद्य थियो नै, पानी पनि पिउनै नमिल्ने थियो’, घिमिरेले भने, ‘क्यान्टिनको चरम लापरबाहीका कारण विद्यार्थी अस्वस्थ भएका हुन् ।’

बालअधिकारकर्मी मणिकुमार लिम्बूले बालबालिकालाई खाजा ख्वाउने कुरामा अधिकांश विद्यालयमा लापर्बाह भएको दाबी गर्छन् । ‘बच्चाबच्चीलाई पौष्टिक खाना ख्वाउँदा उसको मानसिक र शारिरीक विकासमा सघाउ पुग्छ’, उनी भन्छन्, ‘जसले सिकाइ प्रक्रियामा पनि मद्दत पुग्छ ।’ उनका अनुसार बालबालिकाले खाने, पढ्ने र उनीहरूको सिकाइ प्रक्रिया प्रतिअभिभावक एवं शिक्षकहरू खासै संवेदनशील छैनन् । ‘परिणामस्वरूप यस्ता घटनाहरू दोहोरिरहन्छन्,’ लिम्बूले भने ।

प्रकाशित : भाद्र ९, २०७९ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्

रेल चलाउन अर्थ मन्त्रालयले सहयोग गरेन : महाप्रबन्धक झा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले रेल सञ्चालनको लागि अर्थ मन्त्रालयले असहयोग गरेको गुनासो गरेका छन् । महाप्रबन्धक झाले मन्त्रिपरिषद्ले भारतीय केआरसीएल कम्पनीसँगको सम्झौतामा लाग्ने रकम अर्थ मन्त्रालयले दिने निर्णय गरे पनि मन्त्रालयले सम्झौताबमोजिमको रकम नदिएको गुनासो गरेका हुन् ।

बिहीबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महाप्रबन्धक झाले २०७७ साल फागुन ४ गते मन्त्रिपरिषद्ले गरेको निर्णयमा रकम दिनलाई मन्त्रालयले बेवास्ता गरेको बताए । महाप्रबन्धक झाले कम्पनीमा महाप्रबन्धक भएको एक वर्ष पुग्न लाग्दासमेत रेल सञ्चालनका लागि मन्त्रालयले रकम नदिएको बताए । मन्त्रालयले पूर्वमहाप्रबन्धकलाई पैसा दिने तर आफू आएपश्चात पूर्वाग्रह राखेर रकम निकासा नगरेको आरोप लगाए ।

यात्रुहरूको चाप अत्यधिक रहेको तर अर्को रेल खरिद गर्ने कम्पनीसँग पैसा नभएको महाप्रबन्धक झाले बताए । अब एक थान यात्रुवाहक र एक थान सामग्री बोक्ने रेल सञ्चालन गर्नसके रेल्वे कम्पनीलाई नाफामा लगेर देखाउने दाबी गरे । झाले पैसा नभएपछि योजना बनाएर मात्रै रेल नचल्ने बताए । उनले रेल सञ्चालनका लागि अर्थ मन्त्रालयले बजेट नदिँदा कम्पनीका नियमित काममा असर परिरहेको बताए ।

'रेल्वे सञ्चालनको लागि अन्य समस्या भन्दा पनि बजेट व्यवस्थापन मुख्य कुरा हो । २०७७ साल फागुन ४ गते मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । भारतीय केआरसीएल कम्पनीसँग सम्झौता गर्न लाग्ने सम्पूर्ण रकम अर्थ मन्त्रालयले निकासा दिने भन्ने थियो । म महाप्रबन्धक भएर आएको एक वर्ष भएको छ । अर्थ मन्त्रालयबाट हामीले एक रुपैयाँ पनि पाएका छैनौं । अब यो पूर्वाग्रहपूर्ण कुरा हो वा अरु के हो बुझ्न गाह्रो छ । म आएदेखि अर्थ मन्त्रालय धाइरहेको छु । अर्थ मन्त्रालयले निकासा गर्नुपर्छ भनेर मन्त्रिपरिषद्ले निर्णय गरेको छ । म भन्दा पहिलाका प्रबन्धकले सम्झौता गर्नुभएको थियो । मैले गरेको होइन । उहाँले गरेको सम्झौतालाई निरन्तरता दिएँ । सम्झौता भएको र सरकारले निर्णय गरेको रकम म आएसँगै नआउनु त्यो भन्दा अगाडि आइरहेको कुराले संशय छाएको छ । हामीले सरकारसँग थप बजेट मागेका छैनौं । सम्झौता र मन्त्रिपरिषद्ले गरेको पैसा माग गरेका हौं,' उनले भने ।

महाप्रबन्धक झाले जनकपुर जयनगर रेल सञ्चालनमा आएसँगै जनकपुरमा आन्तरिक पर्यटकमा समेत वृद्धि भएको बताए । उनले भारतबाट सिधै रेलमार्फत जनकपुर आउने जनकपुरबाट हवाई उडानबाट पोखरा,काठमाडौं गर्न सकिने भएकाले भारतीय पर्यटकमा वृद्धि भएको बताए । झाले रेल्वे सञ्चालनले बहुआयामिक क्षेत्रमा प्रभाव पारेको बताए ।

प्रकाशित : भाद्र ९, २०७९ १५:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×