कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

दुई वर्षपछि राधाकृष्ण रथयात्रा

मोरङ — कोरोनाका कारण विगत दुई वर्षदेखि रोकिएको राधाकृष्ण रथयात्रा यसवर्ष निकालिएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकाल्ने प्रचलन अनुसार शनिबार विराटनगरमा निकालिएको हो ।

दुई वर्षपछि राधाकृष्ण रथयात्रा

राधाकृष्ण आरूढ खटलाई नगर परिक्रमा गराउने चलन १९८८ सालदेखि सुरु भएको हो । खटयात्राबाट सुरु भएको भगवान राधाकृष्णलाई नगर परिक्रममा गराउने चलन २०२५ देखि रथयात्रामा परिणत भएको थियो ।

विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट अपराह्न ३ बजे रथयात्रा नगर परिक्रमापछि पुनः उमन्दिरमा पुगेर टुंगिने परम्परा छ । रथको डोरी तानेर मनोकांक्षा पूर्ण हुनुका साथै पुण्य प्राप्त हुने जनविश्वास छ । रथयात्राले पूर्वकै सांस्कृतिक महत्त्व बोकेको हो । रथयात्राको डोरी तान्न यसअघि प्रदेश १, मधेस प्रदेश र भारतका भक्तजनहरूसमेत आउने गरेका थिए । तर यस वर्ष कोरोना महामारीले रथयात्राको प्रचारप्रसार नगर्नुका साथै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने भनिएकाले भक्तजनको उपस्थिति घटेको हो ।

१८ फिट चार इन्च उचाइ, ११ फिट २ इन्च चौडाइ र १४ फिट लम्बाइको रथमा राधाकृष्ण भगवान्लाई राखेर महानगर विराटनगरको तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा प्रारम्भ गरिएको थियो । रथयात्रा शनिहाट चोक, गोल्छा चोक, जलजला मोड, बुधहाट चोक, ट्राफिक चोक, रोडशेष, महेन्द चोक, शनिमन्दिर चोक, भृकुटी चोक, बरगाछी हुँदै पुनः राधाकृष्ण मन्दिरमा गएर समापन भएको थियो । रथलाई तान्नका लागि एक सय प्रहरी जवान परिचालन गरिएको थियो । यस वर्ष रथसँगै ऐतिहासिक खटयात्रा समेत निकालिएको थियो । रथलाई डोरीले तानिएको र खटलाई गाडीमा राखेर सर्वसाधारणका लागि प्रदर्शन गरिएको आयोजक समितिका कृष्ण कार्कीले बताए । रथलाई विभिन्न २२ स्थानमा रोकेर श्रद्धालुलाई रथ यात्राको दर्शन गराउने व्यवस्था मिलाइएको उनले बताए । रथयात्रामा युवायुवतीको उल्लासमय सहभागिता थियो ।

प्रकाशित : भाद्र ५, २०७९ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?