कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिरामी जाँच्न भ्याइनभ्याई

आनन्द गौतम

ताप्लेजुङ — फुङलिङ नगरपालिका–९ हाङदेवाकी ज्येष्ठ नागरिक रत्नमाया लिम्बू लडेर अनुहारमा चोट लागेपछि सोमबार जिल्ला अस्पताल पुगिन् । ज्येष्ठ नागरिक भएकाले उनलाई पालो पर्खिनु परेन । त्यही पनि टोकन लिएपछि ओपीडी डाक्टरसम्म पुग्न उनलाई झन्डै एक घण्टा लाग्यो ।

बिरामी जाँच्न भ्याइनभ्याई

उनी जस्तै वृद्धवृद्धा एवं अशक्त सेवाग्राहीको संख्या ठूलै थियो । एक्सरेलगायतका विभिन्न जाँच गराएर औषधि लिँदा साँझ ५ बजेको थियो ।

दुई साताअघि डा. दीपेन्द्र बोखिम खाजा खाने समयमा बाहिर निस्किए । डाक्टरले नहेरेको र आराम गरेर बसेको भन्दै जिल्ला प्रशासन कार्यालयमा मौखिम उजुरी पर्‍यो । प्रमुख जिल्ला अधिकारीले डाक्टरलाई फोन गरेर उजुरीका विषयमा जानकारी गराए । डा. बोखिमका अनुसार उनले बिहान साढे १० बजेदेखि २ बजेसम्म ४५ जना जाँचेका थिए । त्योभन्दा अगाडि वार्डमा राखिएकालाई हेरेका थिए । दिउँसो थकित भएपछि केही समय खाजा खान निस्किए । तर उपचारका लागि गाउँ–गाउँबाट आएकाले रोश प्रकट गरे ।

ओपीडीमा झाडापखाला, निमोनिया, टाइफाइड, श्वासप्रश्वासलगायत समस्याका बिरामी अहिले दैनिक १ सयदेखि १ सय ३१ सम्म आउने गरेको अस्पतालले जनाएको छ । आइतबार र बुधबार यो संख्या अझै बढ्छ । साप्ताहिक रूपमा सोमबार गर्भवतीको पनि जाँच गर्नुपर्छ । सरकारद्वारा १५ बेड घोषणा भए पनि अस्पतालको वार्डमा २५ बेड राखिएको छ । कहिलेकाहीँबाहेक वार्ड बिरामीविहीन हुँदैन । इमर्जेन्सीमा पनि सेवाग्राही आइरहन्छन् ।

यी सबै बिरामी हेर्न डा. बोखिम र डा. पुजा सैंजु मात्र छन् । ती पनि अस्पतालका स्थायी डाक्टर होइनन् । डा. बोखिम छात्रवृत्ति कोटाअन्तर्गत दुई वर्षका लागि आएका हुन् । सैंजुलाई गैरसरकारी संस्थाले करारमा पठाएको हो । करारमै आएका डा. सुरेन्द्र लिम्बू साढे तीन महिने तालिमका लागि काठमाडौं गएका छन् । ‘दिनमा १५ देखि २० जनासम्मलाई राम्ररी जाँच्न सकिन्छ,’ डा. बोखिमले भने, ‘यति धेरैलाई त हेरेजस्तो गर्नुपरेको छ ।’ डाक्टर सैंजु र आफूले इमर्जेन्सी, वार्ड र ओटीमा समय मिलाएर हेर्नुपरेको उनले बताए ।

बेलुकाको नियमन पनि उनीहरूले नै गर्नुपर्छ । ‘यो भनेको एउटा मान्छेलाई एक दिनमा एक सय रोपनी राम्ररी जोत्नु भनेजस्तो छ,’ डा. बोखिमले भने, ‘भन्नु न कसरी सकिन्छ होला ?’ प्रदेश १ सरकारले यो अस्पताललाई ५० बेडको घोषणा गरेको छ ।

तत्कालीन सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले हतारमा उद्घाटन गरे । तर चिकित्सकको व्यवस्था गराउन सकेनन् । अस्पताल विकास समितिका अध्यक्ष छिरिङ लामा यसअघि बिग्रेको अस्पतालको वातावरणलाई सुधार्ने क्रममा रहेको बताउँछन् । ‘चिकित्सक ल्याउन र टिकाउने माहोल र आम्दानी हुनुपर्ने रहेछ,’ उनले थपे, ‘वातावरण बनाएका छौं ।’ विकास समितिको अध्यक्ष भएपछि लामा डाक्टर खोज्न संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराउन पटक–पटक राजधानी कुदेका थिए । जिल्ला समन्वय समिति प्रमुख अस्पताल विकास समितिको अध्यक्ष हुने प्रावधान छ । जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक लक्ष्मण ढकाल ओपीडी सुरु भएपछि केही कर्मचारी सेवाग्राहीलाई बुझाउन लाइनमा बस्नुपर्ने बताउँछन् । ‘उहाँहरू उपचारको अपेक्षामा आउनुभएको हुन्छ,’ उनले भने, ‘डाक्टरले कुनै बिरामीलाई लामो समय दिएर जाँच्नुपर्छ, त्यो बेला पनि होहल्ला भइहाल्छ ।’

प्रकाशित : भाद्र १, २०७९ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?