टिप्ताला नाका खोल्न प्रशासनलाई पत्राचार- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टिप्ताला नाका खोल्न प्रशासनलाई पत्राचार

आर्थिक संकट उत्पन्न भई जिविकोपार्जनमा समस्या भएको र बस्ती स्थानान्तरणको अवस्था सिर्जना भएको दाबी
आनन्द गौतम

ताप्लेजुङ — चार वर्षदेखि बन्द रहेको नेपाल–चीन सिमाना ओलाङचुङगोला (टिप्ताला भञ्ज्याङ) नाका खुलाउन माग गर्दै गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । गाउँपालिका अध्यक्ष राजन लिम्बूले पत्र लेखेर प्रशासन कार्यालयलाई सहजीकरणका लागि अनुरोध गरेका हुन् ।

नाका बन्द भएपछि स्थानीय आर्थिक संकटमा परी जिविकोपार्जनमा समस्या भएको, बस्ती स्थानान्तरणको स्थिति सिर्जना भएको, महँगी चरम रुपमा बढेको पत्रमा उल्लेख छ । गाउँपालिका अध्यक्ष लिम्बूूले ओलाङचुङगोला, याङमा, घुन्सा र फलेका बासिन्दाको मुख्य आम्दानीको स्रोत जडिबुटी, गलैंचा र पशुचौपाया निर्यात गर्न नपाउँदा समस्या भएको दाबी गरेका छन् ।

पत्रमा लेखिएको छ– ‘सिमावर्ती क्षेत्र ओलाङचुङगोला, याङमा, फले र घुन्सावासिको मुख्य पेसाको रुपमा पशुपालन, जडिबुटी संकलन, गलैंचा उत्पादन रहेको र तिब्बततर्फमात्र निर्यात हुँदै आएकोमा नाका बन्द भएपछि स्थानीयहरु आर्थिक संकटमा परी जिविकोपार्जन गर्न समेत कठिनाई भई बस्ती स्थानान्तरणको अवस्था सिर्जना भएको छ ।’

खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुहरु तिब्बत माथि नै आत्मनिर्भर रहेको उल्लेख गर्दै पत्रमा नाका बन्द भएका कारण सडक सञ्जाल समेत जोडिन नसकेको अवस्थामा सदरमुकाम फुङलिङबाट दैनिक उपभोग्य वस्तु ढुवानी गर्दा तीन दोब्बर बढी मूल्य परेको दाबी गरिएको छ । बिरामी तथा आपत्कालीन अवस्थामा तीन दिन पैदलयात्रा गर्नु परेकाले समस्या जटिल रहेको लिम्बूूले जनाएका छन् । नाका खुलाउन तत्काल पहल एवं सहजीकरणका लागि पत्रमा अनुरोध गरिएको छ ।

यस्तो छ गाउँपालिकाले प्रशासनलाई लेखेको पत्र :

प्रकाशित : श्रावण ३१, २०७९ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्

बागलुङले जोगाएको बास्सा नाच

प्रकाश बराल

बागलुङ — केही वर्षअघि हुने अधिकांश नेवारी परम्परा अहिले लोप भएर जाने क्रममा छन् । कतिपय परम्परा कलाकार अभावका कारण संरक्षण हुन सकेका छैनन् । सामान्यजस्तो लाग्ने लाखे नाचका लागि समेत कलाकार पाइन छाडेको नेपाल भाषा मंकाखल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए ।

ती बाहेक बागलुङमा मनाइने दर्जनभन्दा बढी नेवारी संस्कृतिलाई जोगाएर राखिएको छ । हनुमान नाच, जोगी नाच र बास्सा नाच यहाँका लोपोन्मुख संस्कृति हुन् ।

राजा प्रताप मल्लले छोराको शोकमा डुबेकी पत्नीलाई खुसी पार्न गाईजात्राको चलन चलाएकै बेला आफ्ना मान्यजनको निधन भएमा बास्सा नाच देखाउने पुरानो चलन हो । उपत्यकाबाट बसाइँ सरेर आएका बागलुङका नेवार समुदायले अझै यो नाचलाई बचाएर राखेका छन् । बसाइँ सरेर बागलुङ आएका नेवारहरूले यो नाच पनि आफूसँगै सारेर ल्याएको मंकाखलका पूर्वअध्यक्ष काजी गाउँले श्रेष्ठले बताए ।

बास्सा नाच देखाउँदा मृतकको सामाजिक योगदानमा आधारित स्तुतिगान गाइन्छ । उनीहरूको जीवनीबारे गीत बनाएर गाउने; राम, सीता, लक्ष्मण र हनुमान बनाएर नचाउने चलन छ । यस्तो चलनले शोकमा डुबेका परिवारलाई सन्तोष मिल्ने, मृतकको आत्माले पनि शान्ति प्राप्त गर्ने विश्वास रहेको श्रेष्ठले बताए ।

बागलुङमा बास्सा नाँच हरेक वर्ष गाईजात्राकै दिन निकालिन्थ्यो । तर‚ यो नृत्य धेरै खर्चिलो छ । कोरियोग्राफर र कलाकार चाहिने, गीत गाउनेहरूदेखि नाच्ने समेत गर्दा कलाकारिता गर्ने मात्रै २० जनाभन्दा धेरै चाहिने भएपछि बास्सा नाच लोपोन्मुख छ । ‘यो नाचका लागि कलाकार र अन्य सामग्री जुटाउन नसक्दा ९ वर्षमा पहिलो पटक निकालियो’ नेपाल भाषा मंकाखलका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले भने, ‘यो धेरै खर्चिलो पनि छ; जोहो गर्न समस्या हुन्छ ।’ बागलुङ बजारका चर्चित शिक्षक सूर्यप्रसाद श्रेष्ठ ‘मिलन गुरु’ को निधन भएको वर्ष उनका छोरा सिद्धार्थमिलन श्रेष्ठसहितले यो वर्ष बास्सा नाच निकालेका हुन् । ९ वर्ष पहिला निस्केपछि हरेक वर्ष मृत्यु भएका परिवारले यो नाच देखाउन सकेका थिएनन् ।

यो नाँचसँगै मृतकको इतिहास, योगदान र व्यक्तित्वबारे धेरै लेखिनुपर्छ । गीत पनि उनको स्मृतिमा लेखिएपछि समूहमा गाउँदै बजार परिक्रमा गर्नुपर्छ । आएका सबै पाहुनालाई खुवाउने, स्वागत सत्कार गर्नुपर्ने हुँदा महँगो परेको उनले बताए । त्यसैले यहाँको राधाकृष्ण मन्दिरमा हरेक वर्ष निधन भएका परिवारको सम्झना हुने गरी नाम र फोटोसहितको ब्यानर टाँगेर बास्साको सम्झना गरिन्छ ।

‘बास्सा नाच देखाउन नसक्नेका लागि यो स्मृति हो‚’ राजभण्डारीले भने, ‘खर्चकै कारण पुराना विषय जोगाउन पनि गाह्रो छ ।’ पछिल्लो समय कलाकार समेत नभएर यस्ता नृत्य र संस्कृति लोप हुन लागेको उनले बताए ।

कलाकार अभावमा बास्सा नाच मात्र होइन; लाखे जात्रा, रोपाइँ जात्रा, जोगी नाच र हनुमान नाचसमेत संरक्षण गर्नुपर्ने अवस्था आएको श्रेष्ठले बताए । ‘होली पर्वमा गाइने होली राग र कात्तिके राग गाउने कलाकार त अझै लोपजस्तै भैसके‚’ उनले भने, ‘अहिले त धेरै संस्कृति जोगाउनुपर्ने अवस्था आइसकेको छ ।’ गत वर्ष २५ वर्षमा बाटो नाप्ने पर्व र बसन्त राग गाइएको उनले बताए । त्यसका लागि सहर पसेका र विदेश गएका पुराना कलाकार फर्केको समय पार्नु परेको थियो ।

४० जना कलाकार चाहिने हनुमान नाच, कम्तीमा २० देखि २५ जना चाहिने जोगी नाच र लाखेजस्ता जात्रा लगाउनु परेमा बसाइँ सरेका पुराना कलाकार समेत फर्केको मौका कुर्नु परेको स्थानीयले बताए । ती संस्कृति संरक्षण गर्न चाहिने पोशाक र अन्य खर्च पनि महँगो छ ।

प्रकाशित : श्रावण ३१, २०७९ १२:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×