कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दूधकुण्डमा १० गुना बढी पर्यटक

भानुभक्त निरौला

सोलुखुम्बु — ६ जनाको समूहमा श्रीधर गौतम ५ दिन लगाएर दर्शन र स्नान गर्न पाल्पादेखि सोलुखुम्बुको विकट स्थानमा रहेको दूधकुण्ड पोखरी आइपुगे । ‘शिवजीले समेत तपश्या गरेको र उक्त कुण्डमा नुहाउँदा धर्म हुने भन्ने विश्वासले यहाँ आएका हौँ’ उनले कान्तिपुरसँग भने । पहिलो पटक दूधकुण्डमा स्नान गर्न आएका सिन्धुलीका पोष्टराज पौडेल र उनको समुह पनि दर्शनपछि उत्साही भेटिए । 

दूधकुण्डमा १० गुना बढी पर्यटक

‘सोचेभन्दा पनि धेरै स्वर्ग भूमि रहेछ,’ पौडेलले भने,‘धर्म र पर्यटनका लागि अति महत्वपूर्ण लाग्यो ।’ सुनसरी इटहरीका राजेन्द्र ढुंगाना, सप्तरीकी सरिता चौधरी र जुम्लाका भगवत बुढा पनि पहिलो पटक यहाँ आइ पुगेका छन् । समुद्री सतहबाट ४ हजार ६ सय मिटर उचाइँमा रहेको प्रसिद्ध धार्मिक स्थल उक्त पोखरी सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–१ मा स्थित छ । नुम्बुर र कार्यालुङ हिमालको काखमा अवस्थित दूधकुण्ड पोखरी हिन्दु र बौद्ध धर्मालम्बीहरूको आस्थाको केन्द्र हो ।

सत्य युगमा शिवजी तपस्या गरेको र समुन्द्र मन्थन समेत भएको स्थानको रुपमा रहेको दूधकुण्डको दर्शन गर्न यो पटक १ हजार ५ सय पर्यटन आएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । गत वर्षको तुलनामा यो दस गुणा बढी हो । कोरोनाको प्रभाव केही मत्थर भएसँगै यो पटक पर्यटकको संख्या वृद्धि भएको उक्त कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार कोरोना कहरले दुई बर्ष ठप्प भएको र अघिल्लो वर्ष डेढ–दुई सयको हाराहारीमा मात्रै पर्यटक आएको थियो । प्रदेश १ का सबै जिल्ला, मधेस प्रदेश, वाग्मती, सुदूरपश्चिम प्रदेश र भारतको विहारबाट समेत दर्शनका लागि पर्यटक पुगेका छन् । सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट २ दिनको पैदलमा पुग्न सकिने यस ठाउँको प्राकृतिक सौन्दर्य अदभुत छ । यहाँ हिमालबाट बग्ने पानीबाट बनेको मनोरम ताल, त्यही तालबाट बग्ने सोलुखोलाको सुस्केरा, अनि ठाउँठाउँमा जमेका हिमाली तालहरूले जो कोहीको पनि मन लोभ्याउँछ । यो क्षेत्रमा दूधकुण्ड ताल, भूतपोखरी, गंगा जमुना ताल, आँखेपोखरी र महाकुण्डको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । यी तालहरू बाहेक अन्य कैयौं तालहरू समेत यो स्थान वरपर छन् ।

पितृभक्ति (श्राद्ध), मनोकामना पूरा होस भनि भाकल गर्न तथा भाकल पूरा भएकाहरू कुण्ड आउँछन् । ओखलढुंगाका ७६ वर्षीय वृद्ध सागर गौतम पनि ५ दिन पैदल यात्रा गरेर दूधकुण्डको दर्शन गर्न पुगे । ‘जवानीदेखि नै यहाँ आउने ठूलो अभिलासा थियो, बुढेसकालमा आएर पुरा भएको छ,’ उनले भने, ‘यहाँ पितृहरूको मोक्ष र आफ्नो जीवनमा गरेका पापहरू हटुन् भनेर प्रार्थना गरेँ ।’ एकपटक दूधकुण्ड आएकाहरू कम्तिमा ३ पटक पुग्नुपर्छ भन्ने जनविश्वास छ । ‘म दोस्रो पटक दूधकुण्ड आएँ, यो पटक मौसमले राम्रो साथ दिएको छ,’ सोलुखुम्बुका टेकबहादुर बस्नेतले भने ।

पर्यटक तथा तीर्थ यात्रीहरूलाई दूधकुण्ड पुग्न भने निकै मुस्किल छ । सदरमुकाम सल्लेरीबाट ९ किलोमिटर (टाक्सिन्दु) सम्म मात्रै मोटरबाटो छ । त्यहाँबाट भने २ दिन उकालो यात्रा तय गर्नु पर्छ । शुरुमा घना जंगलको यात्रा अनि त्यस पछि नाँगी डाँडाहरूको उकाले हिड्न त्यति सहज भने छैन । उच्च हिमाली क्षेत्रमा बोटविरुवा नहुने भएकाले अधिकांशलाई लेक लाग्ने समस्या हुन्छ ।

प्रकाशित : श्रावण ३१, २०७९ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?